राजनीति


व्यवसायीको दानमा पार्टी भवन बनाउने निर्णयको एमालेभित्रै विरोध, साढे ५ लाख सदस्यको अपमान भएको टिप्पणी

व्यवसायीको दानमा पार्टी भवन बनाउने निर्णयको एमालेभित्रै विरोध, साढे ५ लाख सदस्यको अपमान भएको टिप्पणी

एमाले मुख्यालय भवन शिलान्यासका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै जग्गादाता भाटभटेनी प्रमुख मीनबहादुर गुरुङ


नेपालखबर
असोज २८, २०८१ सोमबार १३:३५, काठमाडौँ

भाटभटेनी स्टोरका सञ्चालक मीनबहादुर गुरुङले दिएको जग्गामा पार्टीको केन्द्रीय कार्यालय बनाउन लागेकोमा नेकपा एमालेभित्रै विरोध सुरू भएको छ।

एमाले स्थायी कमिटी सदस्य डा विन्दा पाण्डेले व्यवसायीबाट दान लिनुलाई साढे पाँच लाख पार्टी सदस्यको शिर झुकाउने कदम भनेकी छन्। साथै उनले २८ लाख मतदाताको अपमान हुने तर्क पनि गरेकी छन्।

राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत भएको भन्दै उनले निर्णय सच्याउनुपर्ने भनेकी छन्।

उनले लेखेकी छन्, ‘साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो। व्यापार व्यवसाय गर्नेले पारदर्शीरूपमा कम्पनीको सामाजिक दायित्वअन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो। तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयेाग लिनु र व्यापारीले दिनु दुवै गलत हो। दिनेले किन र कसरी दिए, उनैलाई थाहा होला। तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा, जानकारीसमेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती सावित हुनेछ।’

पार्टीको यस निर्णयले मनमोहन अधिकारी र मदन भण्डारीले उँचो बनाएको इतिहास र पार्टी पंक्तिको स्वाभिमान बचाउन यो निर्णय सच्याउनुपर्ने आग्रह गरेकी छन्। उनको टिप्पणी छ, ‘समय घर्किसकेकेा छैन। मनमेाहन र मदनहरूले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेको स्वाभिमानी पार्टीपंक्ति र भावी सन्ततिका लागि एमालेको गौरव जेागाउने हो भने यो गलत निर्णय सच्याउनैपर्छ। समयमै सोचौँ।’

२५ वर्ष पहिला एक दिनको पारिश्रमिक योगदान गरी एमालेको मजदुर संगठन जिफन्टले बनाएको मनमोहन मजदुर भवनको दृष्टान्त दिँदै उनले प्रश्न गरेकी छन्, ‘अभियानमा सहभागी हरेकले आज पनि जिफन्टको कार्यालय पुग्दा गर्व गर्छन् तर आज साढे पाँच लाख पार्टी सदस्य र मतका आधारमा सबैभन्दा ठूलो दलको कार्यालय निर्माणस्थल दानमा लिएर नेतृत्व गर्व गर्ने ठाउँमा पुगेकै हो?’

असोज २५ गते प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरमा एमाले केन्द्रीय कार्यालयको भवन शिल्यानास गरेका थिए।

भाटभटेनी स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले दान गरेको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन निर्माण गर्ने भनिएको छ। व्यवसायी गुरुङले स्वघोषणा नै गरेर जग्गासहित भवन पनि आफैले बनाइदिने भएपछि कार्यालयको शिलान्यासमा प्रधानमन्त्री ओली आफै पुगेका थिए।

सो अवसरमा एक वर्षभित्र अत्याधुनिक भवन निर्माण गरेर पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad