बागमती


तरकारी खेतीः जति धेरै विविधता, त्यति धेरै आम्दानी

तरकारी खेतीः जति धेरै विविधता, त्यति धेरै आम्दानी

सुनिता विष्ट
जेठ २१, २०८३ बिहिबार १५:११, काठमाडौँ

मकवानपुरको थाहा नगरपालिका बेमौसमी तरकारी खेतीको हबका रूपमा चिनिन्छ। अहिले किसानहरू खेतबारीमा लगाएको आलु खनेर बजार पठाउन व्यस्त छन्। चार महिना दु:ख गरेर फलाएको आलुले भाउ नपाउँदा केही किसान चिन्तित बनिरहेका बेला केही किसान भने नयाँ खेतीबाट मनग्य आम्दानी गरिरहेका छन्।

जिल्लाको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकामा बसोबास गर्ने स्थानीयको प्रमुख आयस्रोत कृषि हो। थाहाको पालुङ, बज्रबाराहीलगायत क्षेत्रका किसानहरू यतिबेला आलु खन्ने चटारोमा छन्। फागुनमा लगाइएको आलु जेठको पहिलो सातादेखि खनेर बजार पठाउन सुरु हुन्छ।

वर्षभरिको आम्दानीको प्रमुख आधार आलु र काउली खेतीलाई बनाएका कृषकहरू यतिबेला आलु बिक्रीमा व्यस्त छन्। तर यस वर्ष आलुको मूल्य घट्दा कृषकहरू निराश छन्। उत्पादन लागत बढ्दै गएको अवस्थामा बजारमा उचित मूल्य नपाउँदा उनीहरूले लगानीसमेत उठाउन कठिन भएको गुनासो गरेका छन्।

केही वर्षअघिसम्म यस क्षेत्रमा रहेको अधिकांश खेतबारीमा आलु र काउलीको मात्रै खेती हुने गर्थ्यो। तर पछिल्लो समय कृषकहरूले बजारको माग र आम्दानीको सम्भावनालाई ध्यानमा राख्दै अन्य तरकारी बालीतर्फ पनि आकर्षित हुन थालेका छन्। हरेक वर्ष आलुको उचित भाउ नपाउने समस्याले निरन्तर चिन्तित बनाउँदै आएपछि कृषकहरू परम्परागत खेती प्रणालीबाट बाहिर निस्केर व्यावसायिक तथा विविधीकृत खेतीतर्फ उन्मुख भएका छन्।

आम्दानीको जोखिम कम गर्न यहाँका कृषकहरूले फरक–फरक जातका तरकारी खेती गर्न थालेका छन्। थाहाका पुराना तथा व्यावसायिक कृषक निरोज प्रधानले परम्परागत तरकारी खेतीसँगै उच्च मूल्य र माग भएका नयाँ प्रजातिका तरकारी उत्पादन गरेर कृषि पेसालाई थप दिगो बनाउने प्रयास गरिरहेका छन्। अन्य जातका आलु १० देखि १५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको समयमा उनले उत्पादन गरेको कालो आलुले प्रतिकिलो एक सय रुपैयाँभन्दा बढी मूल्य पायो।

यतिबेला उनको खेतमा रातो र पहेँलो रंगको भिँडेखुर्सानीका बिरुवा लहलह भएका छन्। हरियो र पहेँलो रंगका फर्सी टिपेर बजार पठाइरहेका छन्। यी उत्पादनको बजारमा राम्रो माग र आकर्षक मूल्य रहेको उनको अनुभव छ।

उनको खेतमा फलेको हरियो फर्सीको मूल्य ३० देखि ४० रुपैँया प्रतिकिलो छ। तर सोही खेतको गह्रामा फलेका पहेँलो फर्सीको मूल्य एक सय रुपैयाँदेखि १३० रुपैयाँ प्रतिकिलोसम्ममा बिक्री हुने गरेको छ। ‘हरियो फर्सी जता पनि फल्ने भयो, त्यो कारण पनि भाउ अलि कम छ,’ प्रधानले भने, ‘पहेँलो फर्सी भने ठूला होटल र मार्टहरूमा जान्छ। यसको मूल्य र माग पनि बढी छ। होटलहरूमा सलादको रूपमा प्रयोग हुने पहेँलो फर्सीको माग पुर्‍याउन मुस्किल छ।’

प्रधानले मात्र होइन, थाहाका अन्य कृषकहरूलाई पनि परम्परागत बालीको सीमित घेराबाट बाहिर निकालेर नयाँ र उन्नत जातका तरकारी खेतीतर्फ आकर्षित गराउने मुख्य भूमिकामा छन् कृषक प्रधान। उनले बिउदेखि बजारसम्मका लागि सहयोग गरिदिएपछि अन्य किसानहरूले पनि फरक जातका तरकारी लगाउन सुरु गरेका छन्।

बजारमा राम्रो मूल्य पाउने भएपछि जोखिम कम गर्न सकिने भन्दै कृषकहरू फरक प्रजातिका तरकारी खेती विस्तारमा उत्साहित भएका हुन्। बजारको मागलाई थाहाकै उत्पादनले धान्ने लक्ष्य लिइएको प्रधान बताउँछन्।

‘मैले मात्रै उत्पादन गरेको सामानले माग धान्न सकिँदैन, त्यसैले यहाँ अन्य किसानहरूलाई पनि बिउ दिएर सिकाइरहेको छु,’ उनले थपे, ‘मेरो सामान उत्पादन भएको दिन मेरो सामान पठाउँछु। नभएको दिन अरू साथीहरूले उत्पादन गरेको सामान पठाउँछु। बाहिरबाट आयात कम होस् भनेर अरू किसानहरुलाई पनि प्रोत्साहन गरिरहेको छु।’

कृषि उत्पादनको पकेट क्षेत्रमा एउटा किसानले अपनाएको नयाँ सोच र फरक प्रजातिका तरकारी खेतीले थाहाका अन्य कृषकलाई पनि आधुनिक तथा बजारमुखी कृषि प्रणालीतर्फ आकर्षित गरेको छ।  उनको पहल र अनुभव आदानप्रदानका कारण थाहामा नयाँ प्रविधि र नवीन बालीको खेती विस्तार हुँदै गएको देखिन्छ, जसले स्थानीय कृषिलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउने आधार तयार गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad