बागमती


बागमतीमा एमाले- नेकपाले मात्रै पुग्दैन बहुमत, तीनै दल अन्योलमा

कस्तो बन्ला बागमतीको सत्ता समीकरण?
बागमतीमा एमाले- नेकपाले मात्रै पुग्दैन बहुमत, तीनै दल अन्योलमा

सुनिता विष्ट
साउन ७, २०८३ बिहिबार २०:२५, हेटौँडा

बागमती प्रदेश सरकारमा रहेको नेकपा एमालेका मन्त्रीहरूले बुधबार राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिए। केन्द्रको निर्देशन बमोजिम राजीनामा दिएको बताएका उनीहरूले एमाले पुनः सरकारमा सहभागी हुने अपेक्षा राख्दै बाहिरिएका थिए।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र एमालेको वाम गठबन्धनको प्रदेश सरकार बन्ने चर्चाकै भरमा बागमती सरकारबाट एमाले बाहिरियो। तर केन्द्रीय नेताहरूले कुन दलसँग सत्ता सहकार्य गर्ने? भन्ने निर्क्यौल निकाल्न नसक्दा अन्य प्रदेश सहित बागमतीमा पनि अन्यौलता छ।

एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले यसअघि विभागविहीन रहेका मन्त्रीहरूलाई जिम्मेवारी तोकिदिए। मन्त्रालयको संख्या घटाएर १४ बाट ८ मा ल्याएका बानियाँले कांग्रेसका सबै मन्त्रीहरूलाई सेटल गराए।

प्रदेश सरकारबारे शीर्षतहबाट कस्तो निर्देशन आउँछ? भन्ने जानकारी नपाएका कारण पदमा रहुनञ्जेल आफ्नो जिम्मेवारी पूरा गरेको मुख्यमन्त्री बानियाँ बताउँछन्। 

‘हुन त हामी अहिले अन्योलकै परिस्थतीमा छौँ। तर पदमा रहुञ्जेल त जिम्मेवारी पूरा गर्नै पर्‍यो नि,’ मुख्यमन्त्री बानियाँले भने, ‘प्रदेश सभामा रहेका दुई वा सो भन्दा बढी दलहरूले बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा दाबी गर्नुभएछ भने म मार्ग प्रशस्त गरिदिन्छु। यदी त्यसो हुन सकेन, केन्द्रीय नेताले विश्वासको मत पुर्‍याउन जुट्नु भन्ने आदेश दिनुभयो भने विश्वासको मतकै लागि तयारी गर्छु।’

मुख्यमन्त्री बानियाँका अनुसार हालसम्म केन्द्रबाट प्रदेश सरकारका विषयमा कुनै निर्देशन प्राप्त भएको छैन। हल्लाकै भरमा प्रदेश सरकारप्रति अन्योलता सिर्जना गरिएको उनी बताउँछन्।

‘अहिलेसम्म कुन कुन दल मिल्ने भन्ने आधिकारिक कुरा बाहिर आएको छैन। बाहिरी हल्ला हल्लामै सीमित हुन पनि सक्छ,’ उनले थपे।

यता, सरकारबाट बाहिरिएको एमाले नेताहरू भने केन्द्रका नेताहरूले नयाँ सत्ता समीकरणको अभ्यास गरिरहेका कारण सरकारबाट बाहिरिएको बताउँछन्। प्रदेशको कृषि पशुपन्छी, वन तथा वातावरण मन्त्रालयका निर्वतमान मन्त्री मधुसूदन पौडेललका अनुसार नेकपा र एमाले मिलेर सरकार बनाउने सहमती अनुसार नै राजीनामा दिन लगाइएको हो। 

‘नयाँ सत्ता समीकरण बन्ने सहमती भैसकेको छ। तपाईंहरूले राजीनामा दिएर बाहिरिनोस् भन्ने निर्देशन पार्टी अध्यक्षज्यूबाटै आएका कारण राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको हुँ, पौडेलले भने, ‘अब नयाँ बन्ने सरकारको विषयमा पनि केन्द्रबाट आएकै निर्देशनलाई पालना गर्ने हो। अहिले नै यो गर्ने भन्ने केही प्राप्त भएको छैन। केन्द्रमा छलफल हुँदैछ। सम्भवतः नेकपा सँगै नै हाम्रो समीकरण बन्छ।’

त्यसोत, बागमती सरकारमा सहभागी हुने विषयमा नेकपाका नेताहरू अझै अन्यौलमै छन्। कुन दलसँग सत्ता सहकार्य गर्ने? त्यसमा नेकपाको भूमिका के हुन्छ? भन्ने कुनै जानकारी प्राप्त नभएको नेकपा बागमती प्रदेश संसदीय दलका सचेतक रत्न प्रसाद ढकाल बताउँछन्। 

‘शीर्ष तहमा छलफल जारी नै छ। गठबन्धन हुने सम्भावना एमाले र नेकपाकै हो,’ ढकालले भने, ‘तर पनि आधिकारिक रुपमा निर्णय आएको छैन। अध्यक्ष ज्युहरू छलफलमै हुनुहुन्छ।’ 

एमाले र नेकपाले मात्रै पुग्दैन बहुमत 
शीर्ष तहका नेताहरूले नेकपा र एमालेको गठबन्धनमा सरकार गठन गर्ने तयारी गरे पनि बागमतीमा यी दुई दलले मात्रै बहुमत पुग्दैन। ११० सदस्यीय बागमती प्रदेश सभामा हाल १०४ सिट छ। गत फागुनको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन नेकपाका युवराज दुलाल र वसन्त मानन्धर, एमालेका प्रकाश श्रेष्ठ र अमन कुमार मास्के, कांग्रेसका कुन्दनराज काफ्ले र राप्रपाका सुनिल केसी गरी ६ सांसदले राजीनामा दिए। यो सँगै बागमतीमा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक हुन्छ। 

यदी नेकपा र एमालेको गठबन्धनमा सरकार गठन हुँदा दुई दलले मात्रै बहुमत पुग्ने स्थिती छैन। नेकपाको २६ र एमालेको २५ सिट मात्रै छ। त्यसमा पनि एमालेबाट निर्वाचित अप्सरा चापागाईँ (उपसभामुख) ले सभामुखको भूमिका निर्वाह गरिरहेकी छिन्। यसो हुँदा समर्थनमा हस्ताक्षर गर्न पाए पनि मुख्यमन्त्रीले विश्वासको मत लिनेबेला उनले मत जाहेर गर्न पाउँदिनन्। यसो हुँदा दुई दलको अंक ५० मात्रै हुन आउँछ। 

दुई दलले सरकार गठन नहुने देखेपछि प्रदेश सभामा दुई सिट रहेको हाम्रो नेपाली पार्टी (हानेपा) लाई सरकारमा ल्याउने रणनीतिमा नेकपा र एमाले जुटिरहेका छन्। तर हानेपाको दुई सिटले पनि बहुमत पुग्दैन। यसो हुँदा प्रदेश सभामा १२ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितको सरकार गठन हुने देखिन्छ। नेकपा, एमाले र राप्रपाको तीन दलीय सत्ता समीकरणले स्पष्ट बहुमत पुग्छ। 

कांग्रेस सभापति गगन थापाले भनेजस्तै कांग्रेस (प्रमुख) प्रतिपक्षमा बसे प्रतिपक्षमा नेपाल मजदुर किसान पार्टी (नेककिपा) र हानेपा पनि रहने छन्। बागमतीमा ६ दलको प्रतिनिधित्व छ। 

कांग्रेससँग मिले ढुक्कले पुग्छ बहुमत 
त्यसोत, बागमती प्रदेश सभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेस हो। ३६ सिट रहेको कांग्रेससँग दोस्रो ठुलो दल नेकपा वा तेस्रो स्थानमा रहेको एमाले जुन दल मिले पनि सहज रुपमा सरकारलाई बहुमत पुग्छ। कांग्रेस र नेकपा मिले ६२ सिट हुन्छ। यदी कांग्रेस र एमाले मिले भने ६१ सिट हुन्छ। दुई दलले नै सरकार गठन गर्नका लागि बागमतीमा कांग्रेसलाई साथ लिए सहज हुने देखिन्छ। 

केन्द्रीय तहमा सत्ता समीकरणबारे विभिन्न कोणबाट छलफल भइरहेका बेला बागमती प्रदेशमा पनि सम्भावित नयाँ गठबन्धनका विकल्पहरूबारे चर्चा सुरु भएको छ। बागमती प्रदेशका नेकपाका एक सांसदका अनुसार, सरकार गठनका लागि अंकगणित हेर्दा कांग्रेससँग सहकार्य गर्ने जुनसुकै दललाई सहज बहुमत प्राप्त हुन्छ। ‘सहज त जुन दल मिले पनि कांग्रेससँगै सरकार बनाउन सकिन्छ। यही कोणबाट पनि छलफल भइरहेकै छ,’ उनले भने।

ती सांसदका अनुसार केन्द्रमा दुई ठूला दलबीच सहमति बनेमा प्रदेश अनुसार फरक–फरक गठबन्धन बनाएर अघि बढ्ने विकल्प पनि छलफलमा छ। ‘सबै प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैन। आवश्यकता र राजनीतिक सहमतिअनुसार फरक प्रदेशमा फरक दलको नेतृत्वमा सरकार बन्न सक्छ,’ उनले भने।

उनका अनुसार यस्तो अवस्थामा कुनै प्रदेशमा कांग्रेस नेतृत्वको सरकार, कतै एमाले नेतृत्वको सरकार र कतै नेकपा नेतृत्वको सरकार बन्ने सम्भावना रहन्छ। त्यसक्रममा कुनै प्रदेशमा नेकपा प्रतिपक्षमा बस्न सक्छ भने अर्को प्रदेशमा कांग्रेस वा एमाले प्रतिपक्षी बन्ने अवस्था पनि आउन सक्छ। यद्यपि, यस विषयमा अन्तिम निर्णय भने शीर्ष तहको राजनीतिक सहमतिपछि मात्र हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad