बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का मन्त्रीहरूले मंगलबार (आज) मुख्यमन्त्री समक्ष राजीनामा बुझाउने भएका छन्।
सोमबार काठमाडौँमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको थियो। तर आज केन्द्रको निर्देशन बमोजिम नै राजीनामा दिन लागिएको स्वास्थ्यमन्त्री किरण थापाले बताए।
उनका अनुसा आजै एमालेका ६ जना मन्त्रीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई राजीनामा बुझाउनेछन्। साथै, प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइने उनले बताए।
‘अबको केहीबेरमा राजीनामा दिँदैछौँ,’ मन्त्री थापाले भने, ‘मुख्यमन्त्रीज्यूलाई भेटेर राजीनामा दिने की? इमेलमार्फत पठाउने भन्ने विषयको तयारी संसदीय दलका नेताज्यूले गरिरहनु भएको छ।’
बागमती प्रदेशमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारमा एमालेका ६ जना मन्त्री सहभागी छन्। नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै प्रदेश सरकारले साउन १ गतेदेखि १४ मन्त्रालयलाई घटाएर ८ मन्त्रालय कायम गरेको थियो। मन्त्रालय पुनर्संरचनापछि कार्यविभाजन फेरबदल गरिए पनि सत्ता गठबन्धन भने लामो समय टिक्न सकेन।
बानियाँ नेतृत्वको सरकारमा एमालेबाट डा। दिनेशचन्द्र देवकोटा, भरत केसी, जयराम थापा, मधुसूदन पौडेल, किरण थापा र बिन्दु श्रेष्ठ सहभागी छन्। उनीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिने तयारी गरेका हुन्। यस सँगै बागमती प्रदेशको सत्ता समीकरणमा नयाँ मोड आउने भएको छ।
Shares

प्रतिक्रिया