बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का ६ जना मन्त्रीले बुधबार (आज) मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाउने भएका छन्।
यससँगै एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी गरेको छ।
मंगलबार (हिजो) राजीनामा बुझाउने तयारीमा रहेको एमालेका मन्त्रीहरूले मुख्यमन्त्री बानियाँ नभेटेपछि आज राजीनामा बुझाउन लागेका हुन्।
बागमती प्रदेशका कृषि पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेलले आजै ६ जना मन्त्रीले राजीनामा बुझाउने जानकारी दिए।
उनका अनुसार मुख्यमन्त्री कार्यालयमा आज सामूहिक राजीनामा बुझाउने तयारी छ।
‘हिजै काठमाडौँमा मुख्यमन्त्रीलाई राजीनामा दिने भन्ने तयारीमा थियौँ। उहाँ हेटौंडा हिँड्नुभएछ। हाम्रा अन्य मन्त्रीज्यूहरू पनि हेटौँडामै रहनुभएका कारण आज मुख्यमन्त्री कार्यालयमै पुगेर राजीनामा दिन्छौँ,’ मन्त्री पौडेलले नेपालखबरसँग भने।
उनका अनुसार मुख्यमन्त्री बानियाँ हाल एक कार्यक्रमका लागि चितवनमा रहेका कारण एमालेका मन्त्रीहरूले राजीनामा दिन कुरिरहेका हुन्।
सोमबार काठमाडौँमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले पार्टीको औपचारिक निर्देशन नआएसम्म सरकारबाट नबाहिरिने निष्कर्ष निकालेको थियो।
तर मंगलबार केन्द्रको निर्देशन आएपछि एमालेका मन्त्रीहरूले आज सामूहिक रूपमा पदबाट राजीनामा दिने निर्णय गरेका हुन्।
बागमती प्रदेशमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारमा एमालेबाट डा. दिनेशचन्द्र देवकोटा, भरत केसी, जयराम थापा, मधुसूदन पौडेल, किरण थापा र बिन्दु श्रेष्ठ मन्त्री छन्।
एमालेका मन्त्रीहरूको राजीनामासँगै बागमती प्रदेश सरकार अल्पमतमा पर्ने भएको छ।
समर्थन फिर्तापछि प्रदेशको सत्ता समीकरण परिवर्तन हुने र नयाँ राजनीतिक समीकरण निर्माणको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
Shares

प्रतिक्रिया