राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवलशम्सेर राणाले आफ्नो राजनीतिक जीवनमा बितेका चार वर्ष निकै पीडादायी भएको बताएका छन्।
बिहीबार काठमाडौँमा आफ्नो पक्षका नेता तथा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै डा. राणाले राप्रपालाई सही दिशा र एजेन्डा प्राप्तिको मार्गमा लैजान आफूले भरपुर प्रयास गरेको भए पनि नेतृत्व नै बाधक बनेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नै आफूहरूलाई पार्टी छोड्न बाध्य बनाएको राणाको आरोप थियो।
‘मैले राप्रपालाई सही र एजेन्डा प्राप्तिको बाटोमा लग्न खाजेको थिएन कि? आन्दोलनको नेतृत्व गरेको थिएन कि? पार्टीलाई सुधारेर राष्ट्रकै पहिलो पार्टी बनाउन खोजेको थिइन कि?,’ उनले थपे, ‘तर ती सबै मेरा प्रयासहरूलाई अगाडि बढ्न दिएनन्।’
चार वर्षअघि राजेन्द्र लिङ्देनलाई अध्यक्ष बनाउँदा खुशी भएको बताउँदै आज राप्रपा छोड्दा दुःख लागेको उनले सुनाए। ‘पाँच वर्ष पहिले राजेन्द्र लिङ्देनलाई अंगालो मारेर अध्यक्ष बनाएका थियौँ। तर दुःखका साथ आज हामीले घर नै छोड्नुपर्ने अवस्था आयो,’ उनले भने, ‘त्यो सुखको दिन होइन, दुःखको दिन हो आज।’
डा.राणाले राप्रपामा रहँदाका पछिल्ला चार वर्ष आफ्नो राजनीतिक जीवनकै दुःखयादी रहेको उनले सुनाए। जति गर्दा पनि राप्रपा सुधार्न नसकेपछि नयाँ यात्रा गर्न खोजेको बताए। ‘यो चार वर्ष मेरो राजनीतिक जीवनको सबैभन्दा दुःखी भयो,’ डा. राणाले भने।
पार्टीभित्र आफूहरूले बोकेको विचार, मूल्य र एजेन्डालाई अगाडि बढाउन नसकिएकै कारण नयाँ राजनीतिक यात्रा सुरु गर्नुपर्ने निष्कर्षमा पुगेको उनले बताए। राप्रपाको वर्तमान अवस्थालाई ‘मक्किएको र चर्किएको घर’सँग तुलना गर्दै पुरानो संरचनाबाट अपेक्षित परिवर्तन सम्भव नभएको निष्कर्ष आफूहरूले निकालेको राणाको भनाइ थियो।
‘जब केही हासिल गर्न आफूले बोकेको मूल्य र मान्यतालाई आफू बसेको घरबाट पार लाग्दैन भन्ने ठानिसकेपछि हिम्मत गर्नुपर्छ र अर्को घर बनाउनुपर्छ। मक्किसकेको, चर्किसकेको त्यो गाडी होस् वा घर होस् हिम्मत गरेर अर्को बनाउने जमर्को गर्नुपर्छ,’ राणाले भने, ‘त्यही जमर्कोमा आज हामीहरू लागेका छौँ।’
बिहीबार डा.राणाको नेतृत्वमा १८३ जना नेताले राप्रपाबाट सामूहिक राजीनामा घोषणा गरेका छन्।उनको नेतृत्वमा नयाँ पार्टी बन्ने भएको छ।
Shares

प्रतिक्रिया