ad ad

सुदूरपश्चिम


दार्चुला बाढीपहिरो : अझै भेटिएनन् १० जना, पानीको बहावले खोज्न समस्या

दार्चुला बाढीपहिरो : अझै भेटिएनन् १० जना, पानीको बहावले खोज्न समस्या

बाढीले प्रभावित दार्चुलाको बांगाबगर क्षेत्र।


नेपालखबर
भदौ २६, २०७९ आइतबार ९:२६, कञ्चनपुर

शुक्रबार रातिदेखिको अविरल वर्षा र बाढीपहिरोका कारण दार्चुलाको महाकाली नगरपालिका र नौगाडा गाउँपालिकामा ठूलो मात्रामा जनधन क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय (दार्चुला) का अनुसार बाढीपहिरोमा परेर अहिलेसम्म ५ जनाको मृत्यु भएको छ भने १० जना हराइरहेका छन्। 

महाकाली नदीमा पानीको बहाव नघट्दा बेपत्ताहरूको खोजीमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय (दार्चुला) का डीएसपी प्रतीक विष्टले बताए।

‘खोजीमा टोली खटिएको छ तर महाकाली नदीमा पानीको बहाव बढी हुनाले समस्या भएको छ’, उनले भने, ‘अहिले नदी किनारतिर बेपत्ताहरूको खोजी भइरहेको छ।’

बेपत्ताको खोजीसँगै बाढीपहिरो प्रभावितहरूलाई राहत वितरण, तटबन्ध निर्माण गर्ने काम भइरहेको उनले बताए। बाढीपहिरोमा परेर महाकाली नगरपालिका–२ मुल्ला मोडका ७७ वर्षीय नन्दराम बोहरा, नौगाडा गाउँपालिका–२ दल्लेखका मोहन पार्की, महाकाली नगरपालिका–३ डुङ्ग्रीकी मानमती कार्की, नौगाड–१ सल्लाकी जानकी ठगुन्ना र सोही ठाउँकी धनुली ठगुन्नाको मृत्यु भएको हो। 

यस्तै महाकाली–३ का धनसिंह कार्की, दिनेश कार्की, दीपक कार्की, महाकाली–२ की मानमती साहु, महाकाली–१ लास्कुकी मञ्जु लुहार, सोही ठाउँका दिनेश लुहार, डल्ली लुहार र साजन लुहार गरी १० जना बेपत्ता छन्। बाढीपहिरोमा परेर घाइते भएका ८ जनामध्ये ३ जना डिस्चार्ज भएका छन् भने बाँकीको दार्चुला अस्पतालमा उपचार भइरहेको छ।

बाढीपहिरोले महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका ४२ घरमा पूर्ण र ९ वटामा आंशिक क्षति भएको छ। 

प्रहरीका अनुसार ४० घर जोखिममा छन्। यस्तै एउटा विद्यालय, विद्युत पावर हाउस, दुईवटा झोलुङ्गे पुल, मोटरेबल पुल, पार्किङ गरेर राखिएका ६ जिप, १/१ कार र ट्याक्टर, जेसीबी पनि बाढीले बगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .