ad ad

सुदूरपश्चिम


लास्कु खोलाको बाढीमा बिलायो परिवार

लास्कु खोलाको बाढीमा बिलायो परिवार

गोकुल जोशी
भदौ २६, २०७९ आइतबार ९:५८, कञ्चनपुर

दार्चुलाको महाकाली नगरपालिका–१ लास्कुका धनसिंह कार्की व्यापारी थिए। महाकाली नगरपालिका–३ डुङ्ग्रीमा उनको खुद्रा पसल थियो। त्यहीँ उनको घर पनि थियो। 

उनको घरमा श्रीमती मानमती र छोराहरू दीपक र दिनेशसँगै बस्थे। उनीहरू शुक्रबार राति खाना खाएर सुते। त्यो रात उनीहरूसँग अकल्पनीय घटना भयो। 

शुक्रबार रातिदेखिको अविरल वर्षापछि लास्कु खोलामा आएको बाढीले उनीहरूको घर बगायो। सँगै धनसिंहको परिवारै बाढीमा बिलाएको छ।

बाढीले धनसिंहको सर्वस्व बगायो। जिल्ला प्रहरी कार्यालय (दार्चुला) का अनुसार मानमतीको शव भेटिएको छ। उनका श्रीमान् धनसिंह र छोराहरू दिनेश र दीपक बेपत्ता छन्। उनीहरूको अवस्था अज्ञात छ।

बेपत्ता रहेका उनीहरू सकुशल मिल्ने आशा स्थानीयले मारेका छन्। ‘खोजीकार्य भइरहेको छ, सकुशल पाइने सम्भावना न्यून छ’, वडा नम्बर ३ का अध्यक्ष पदम सिंह महरले भने, ‘धनसिंहको घर रहेको क्षेत्र बगरमा परिणत भएको छ।’

अविरल वर्षासँगै आएको बाढी र पहिरोले दार्चुला महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो क्षति गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। अझै १० जना बेपत्ता छन्।

बाढीपहिरोले महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका ४२ घरमा पूर्ण र ९ मा आंशिक क्षति पुगेको छ। प्रहरीका अनुसार ४० घर जोखिममा छन्।

यस्तै एउटा विद्यालय, विद्युत पावर हाउस, दुईवटा झोलुङ्गे पुल, मोटरेबल पुल, पार्किङ गरेर राखिएका ६ जिप, १/१ कार, ट्याक्टर, जेसीबी पनि बाढीले बगाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .