कञ्चनपुरमा श्रीमान्को कुटपिटबाट महिलाको मृत्यु भएको छ।
दोधाराचाँदनी नगरपालिका-१० का ४५ वर्षीय रणबहादुर सुनारको कुटपिटबाट उनकी पत्नी ४२ वर्षीया पारु सुनारको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका अनुसार बुधबार दिउँसो श्रीमान्–श्रीमतीबिच विवाद भएको थियो।
त्यस क्रममा पतिको कुटपिटबाट घाइते भएकी पारुको बिहीबार मृत्यु भएको खबर प्राप्त भएको उनले बताए।
‘हिजो आपसमा कुटाकुट भएको रहेछ। दोधाराचाँदनी नगर अस्पतालमा उपचारका लागि पनि लगेका रहेछन्,’ डीएसपी रावतले बिहीबार बिहान नेपालखबरसँग भने, ‘आज मृत्यु भएको खबर आएको छ। घटनास्थलमा प्रहरी पुगेको छ। घटनाको थप विवरण आउन बाँकी छ।’
प्रहरीले कुटपिटमा संलग्न रणबहादुरलाई नियन्त्रणमा लिएको छ।
स्थानीयका अनुसार पारुलाई अस्पताल लगिए पनि उपचार नै नगरी बुधबारै घर ल्याइएको थियो।
सुनार दम्पतीबिच पहिलेदेखि नै पटकपटक झगडा हुने गरेको स्थानीयले बताएका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
Shares

प्रतिक्रिया