सुदूरपश्चिम


शुक्लाफाँटा निकुञ्जमा २६ घण्टा- बाँच्ने आशा थिएन, जनावरको त्रासमा रुखमुनि रात काट्यौँ

शुक्लाफाँटा निकुञ्जमा २६ घण्टा- बाँच्ने आशा थिएन, जनावरको त्रासमा रुखमुनि रात काट्यौँ

गोकुल जोशी
साउन ४, २०८३ सोमबार १८:४८, कञ्चनपुर

भीमदत्त नगरपालिका–१९ बागफाँटास्थित दशरथचन्द टोलकी सुकनीदेवी चौधरी र उनकी बुहारी लक्ष्मी आइतबार बिहान च्याउ टिप्न जंगल गए। 

साथमा उनीहरूकै परिवारका अन्य सदस्यसहित सोही टोलका १२ जना अरु पनि थिए। बेलुका फर्किने योजना बनाएका उनीहरूलाई यो यात्राले जीवनकै त्रासदीपूर्ण अनुभव दिलाएको छ। 

उनीहरूको घर नजिकै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छ। चोरीछुपी कहिले काहीँ उनीहरू निकुञ्जमा च्याउ टिप्न गइरहन्थे। आइतबार बिहान ११ बजेतिर पनि खाना खाएर ९ जना चौधरी समुदाय र ५ जना सुनार समुदायका महिलाहरू निकुञ्जतर्फ हानिए।

तर नजिकमा उनीहरूले च्याउ भेट्टाएनन्। विस्तारै निकुञ्जको भित्र भित्र पसेका उनीहरू फर्किंदा बाटो बिर्सिए। बाटो पहिल्याउन नसकेर निकुञ्जभित्रै राति भयो। घर परिवारमा सम्पर्क गर्न मोबाइल पनि कसैले बोकेका थिएनन्। 

‘बाटो खोज्दा खोज्दै रात पर्‍यो। जंगली जनावर हात्ती पनि भेटिए, त्यतिबेलासम्म रातको ८ बजिसकेको थियो,’ लक्ष्मी भन्छिन्, ‘रुखको ओत लागेर सबै त्यहीँ बस्यौँ।’ 

आइतबार रातभर पानी परिरहेको थियो। १४ जनाको समूहमा रहेका ती महिलाहरूसँग समय हेर्नलाई मोबाइल थियो। तर सम्पर्क गर्नलाई त्यसमा ‘सीम कार्ड’ थिएन।

‘भोक भोकै रुखको मुनि जंगलमा रात बितायौँ। जनावरको त्रास थियो। पानी पनि परिरहेको थियो,’ लक्ष्मी सुनाउँछिन्, ‘रातभर सुत्न सकेनौँ।’

उनका अनुसार सोमबार बिहान ६ बजेतिर घर फर्किने बाटो खोजी गर्दा हात्ती देखेर आक्रमणको त्रासले यताउता घुमिरहे। त्यसपछि थोरै सूर्य उदाएको देखेर उनीहरू सबै जना त्यसैतर्फ लागे। बाटो भेटिएपछि सोमबार दिउँसो १ बजे उनीहरू सकुसल घर फर्किएका हुन्। 

आइतबार बेलुकीसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो। नेपाली सेना, नेपाल प्रहरीले रातिदेखि नै उनीहरूको खोजी तीव्र पारेको थियो। बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेर खोजी तीव्र पारेपनि सोमबारसम्म पनि सम्पर्कमा नआएपछि ‘ड्रोन’ तथा हेलिकप्टरमार्फत नै खोजी गर्ने तयारी गरिएको थियो। 

सम्पर्कविहीन भएका ती महिला करिब २६ घण्टापछि आफैं सकुसल घर फर्किएका छन्। बाटो बिर्सिएर निकुञ्जमा हिँड्दा हिँड्दै थाकेको सुकनीदेवी चौधरी बताउँछिन्। उनका खुट्टा सुनिएका छन्। 

‘च्याउ खोज्न कहिलेकाँही जान्थ्यौँ। धेरै भित्र पसेकोले बाटो नै बिर्सिइयो। रात पर्दा फर्किने बाटो नै पहिल्याउन सकिएन,’ उनी भन्छिन्, ‘खाना, लत्ताकपडा पनि केही बोकेका थिएनौँ। रातभर लामखट्टेले टोक्यो। जनावरले तर्सायो।’

दशरथचन्द टोलकै ५६ वर्षीया सविता चौधरी पनि च्याउ टिप्न उनीहरूसँगै निकुञ्ज गएकी थिइन्। गाउँ नजिकैको गोबरैया खोला तरेर उनीहरू निकुञ्ज पसेका थिए। 

‘घाम लागेको थिएन। बादल लागेको थियो। बाटो खोज्दा बाहिरै निस्किन नसकेरै त्यहीँ बस्यौँ,’ उनी भन्छिन्, ‘रात निकुञ्जमै बिताउँदा जनावरको डरले बाँच्ने आश नै थिएन।’

घर नफर्किएकोले आफूहरूको खोजी गरिरहेको हुनसक्ने अनुमान थियो। कतैबाट मान्छेको आवाज आउँछ कि भनेर सुन्दै बाटो पहिल्याउन भौतारिरहेका थिए। 

सोमबार बिहानतिर गाडी चलेको जस्तो आवाज पनि सुनेको सविता बताउँछिन्। ‘त्यो आवाज पछ्याउँदै हिड्यौँ। खोज्ने टीम होला भनेर त्यता जाँदै गर्दा बाटो भेट्टायौँ,’ उनले भनिन्, ‘च्याउ पनि एक केजी मात्रै पायौँ। घर पुगेपछि मन ढुक्क भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad