ओमानमा जारी पाँच देशीय टि–२० क्रिकेट शृंखला अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले बुधबार आयरल्यान्डविरुद्ध खेलिरहेको छ।
पहिले बलिङ गरेको नेपालले आयरल्यान्डबाट १४६ रनको लक्ष्य पाएको छ।
आयरल्यान्डले पुरा २० ओभर खेल्दा ८ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको हो।
अंक तालिकाको तेस्रो स्थानमा रहेको नेपालका लागि रन रेटका आधारमा दोस्रो स्थानमा रहेको आयरल्यान्डले रनको चुनौती पस्किएको छ।
सुरुवाती १० ओभरमा निकै दबाबमा रहेको नेपाल त्यसपछि खेलमा फर्किएको थियो। नेपालका लागि सन्दिप लामिछानेले दुई, अविनाश बोहराले दुई, ललित राजबंशीले एक, करन केसीले एक विकेट लिए।
आयरल्यान्डका लागि स्टरलिङ र एन्डीले दोस्रो विकेटका लागि ८८ रनको पाटनरसिप गरेका थिए। ओपनिङमा आएका स्टरलिङले ४७ बलमा ५९ रन बनाए। त्यस्तै, एन्डीले २८ बलमा ३८ रन बनाए। थोमसनले अन्तिम ओभरमा दुई छक्काको मद्धतमा १८ रन बनाएर आफ्नो खातामा २१ रन जोडे। अन्य ब्याट्सम्यानले कुनै चमत्कार गर्न सकेनन्।
नेपालले केही बेरमा ब्याटिङ गर्नेछ। नेपालका लागि आजको खेल निकै महत्वपूर्ण छ। आयरल्यान्ड टेस्ट राष्ट्र भएकाले पनि नेपालको जितले अन्तर्राष्ट्रियस्तरमा महत्व राख्नेछ।
यसअघि आइतबार भएको पहिलो खेलमा हङकङलाई पराजित गरेको नेपालले सोमबार नेदरल्याण्डलाई हराएको थियो। उता आयरल्यान्डले हङकङ र नेदरल्याण्डलाई पराजित गरेको थियो भने आयोजक ओमानसँग हार चाखेको थियो।
ओमान क्रिकेटले आयोजना गरेको शृंखलामा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन्।
Shares

प्रतिक्रिया