आजै वा भोलिसम्म देशका बाँकी स्थानमा पनि मनसुन पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आज (सोमबार) बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार मनसुन पुग्न बाँकी रहेका गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण स्थानमा पनि मनसुनी वायु सोमबार वा मंगलबारसम्म विस्तार हुने सम्भावना देखिएको हो।
हाल कोसी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भाग, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी भागका थोरै स्थानसम्म मात्र मनसुनी वायुको प्रभाव छ। देशका बाँकी स्थानमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ।
मौसम महाशाखाका अनुसार देशभर साधारणतया बादल बादल लागेको छ। लुम्बिनी प्रदेशका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका केही स्थान, कोसी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।
आज यस्तो छ वर्षाको सम्भावना
२०८३ असार १५ गते (सोमबार)
दिउँसोः देशभर साधारणतया बादल लाग्नेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भूभागका धेरै स्थानमा,कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थान मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको तथा देशका तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
रातिः देशभर साधारणतया बादल लाग्नेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णाली, सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थान, मधेस प्रदेश तथा बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।कोसी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।
यस क्रममा आज काठमाडौँ उपत्यकामा पनि हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम महाशाखाका मौसमविद् बिनु महर्जनले नेपालखबरलाई जानकारी दिएकी छन्।
आज बिहान पनि काठमाडौँ उपत्यकामा फाटफुट वर्षा भएको थियो।
काठमाडौँ उपत्यकामा आज केही समय बादल घटेर घाम लागे पनि फेरि मौसम बदली हुने सम्भावना छ।
‘फेरि साँझपख वा रातितिर हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ’, मौसमविद् महर्जनले भनिन्।
यो पनि : असार १६ र १७ गते यी प्रदेशमा भीषण वर्षाको सम्भावना
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

Shares

प्रतिक्रिया