खेल


फिफाको निलम्बनमा एन्फा: प्रतिनिधिसभा बैठकमा उठ्यो प्रश्न

फिफाको निलम्बनमा एन्फा: प्रतिनिधिसभा बैठकमा उठ्यो प्रश्न

नेपालखबर
असार १४, २०८३ आइतबार १३:२७, काठमाडौँ

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले गरेको निलम्बनको विषयप्रति प्रतिनिधिसभा बैठकमा प्रश्न गरेका छन्। 

आइतबार संसद् बैठकमा उनले एन्फालाई निलम्बन गर्ने फिफाको निर्णय फिर्ताका लागि तत्काल आवश्यक कदम चाल्न पनि सरकारसँग माग गरे।

‘युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र एन्फाबीच तत्काल उच्चस्तरीय वार्ता गरी फिफाले तेस्रो पक्षको हस्तक्षेप सम्बन्धी विषय यथाशीघ्र समाधान गरियोस्,’ बैठकमा राईले भने, ‘फिफाको विधान र अन्तर्राष्ट्रिय खेलकुद कानुन अनुसार एन्फालाई विधान संशोधन, निर्वाचन प्रक्रिया तथा आन्तरिक व्यवस्थापन स्वतन्त्र रूपमा सञ्चालन गर्न सक्ने वातावरण सरकारले तुरुन्त सुनिश्चित गरोस्।

उनले खेलकुद ऐन र फिफाको नियमबीच रहेका कानुनी अस्पष्टता तत्काल हटाउन पनि माग गरे। 

बैठकमा सत्तारुढ दल रास्वपाकी सांसद श्रद्धा कुँवरले पनि एन्फालाई फिफाले गरेको निलम्बनले सम्पूर्ण नेपाली मर्माहत बनेको बताइन्। 

‘आज विश्व समुदाय फुटबलको महोत्सव फिफा वल्र्डकपको रौनकमा रमाइरहँदा आफ्नै देशको फुटबलको अवस्था सम्झँदा हाम्रो शिर गर्वले होइन, चिन्ताले झुकेको छ,’ उनले भनिन्, ‘एन्फा अनिश्चितकालका लागि निलम्बनमा पर्दा सम्पूर्ण नेपाली खेलप्रेमी, खेलाडी र राष्ट्रकै प्रतिष्ठामा गम्भीर धक्का पुगेको छ।’ 

उनले नेपालमा प्रतिभाको अभाव नभएको तर, सुशासन, पारदर्शिता र सक्षम व्यवस्थापनको भने अभाव रहेको बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad