तीव्र गतिका बलर कमल सिंह ऐरीले तीन देश सम्मिलित टि–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमार्फत टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन्।
कमलले अविनास बोहोराको स्थान लिएका हुन्। अविनासले गएको ३ खेलमा १ विकेट मात्र लिएका छन्।
नेदरल्याण्ड्ससँगको पहिलो खेलमा ४ ओभर बलिङ गरेका अविनासले २६ रन खर्चेका थिए। मलेसियासँगको खेलमा १ ओभरमात्र बलिङ गर्ने मौका पाएका उनले नेदरल्याण्ड्ससँगको खेलमा ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिएका थिए।
कमलले २०७६ को माघ २६ गते घरेलु मैदानमै भएको आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्ध डेब्यू गरेका हुन्। त्यो बेला कमललाई नेपालको २३ औं ओडीआई क्याप कप्तान ज्ञानेन्द्र मल्लले दिएका थिए।
सन् २०१६ मा श्रीलंकामा भएको यू–१९ एसिया कपबाट यात्रा अघि बढाएका कमलले गत सेप्टेम्बरमा श्रीलंकामा नै भएको यू–१९ एसिया कप बाट उमेर समुहको यात्रा सकाएका थिए।
उमेर समूह र घरेलु क्रिकेट खेल्दै आएका कमलले तल्लोक्रममा ब्याटिङ सम्हाल्ने क्षमता समेत राख्छन्। श्रीलंकासँग यू१९ टोलीसँग डेब्यू गर्दै ३ विकेट लिनुको साथै ९ रन बनाएका थिए।
कमलले एभरेष्ट प्रिमियर लिगमा चितवन टाइगर्स, धनगढी प्रिमियर लिगमा च्याम्पियन सिवाईसी अत्तरिया र पोखरा प्रिमियर लिगमा धनगढी ब्लुजबाट खेलेका थिए। फ्रेन्चाइज बाहेकका अन्य घरेलु प्रतियोगितामा भने कमलले सशस्त्र प्रहरी बल एपिएफको जर्सीमा देखिन्छन्।
कमल चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी बनेका थिए।
जारी सिरिजबाट कुशल भुर्तेल, आसिफ शेख, शाहब आलमले पहिलो खेलमा नै डेब्यु गरेका थिए।

प्रतिक्रिया