दिल्ली क्यापिटलका भेट्रान लेग स्पिनर अमित मिश्राले औंलामा चोट लागेका आइपीएलका बाँकी खेल गुमाउने भएपछि नेपाली लेग स्पिनर सन्दीप लामिछानेको खेल्ने सम्भावना बढेको छ।
अक्टोबर ३ मा कोलकाता नाइट राइडर्ससँगको खेलमा बल क्याच गर्ने क्रममा मिश्राको औंलामा गम्भीर चोट लागेको थियो।
मिश्रा दिल्ली क्यापिटल्सका तेस्रो सर्वाधिक विकेट लिने खेलाडी हुन। यस सिजनका पछिल्ला तीन खेलमा उनी लगातार खेल्दै समेत आएका छन। तीन खेलमा तीन विकेट लिएपनि ७.२० को औषतमा उनले बलिङ गरेका छन। जुन ट्वान्टी ट्वान्टीमा औषत मानिन्छ।
मिश्राले लिएका तीनवटै विकेट माथिल्लोक्रमका ब्याट्सम्यानका छन। जसमा हैदरावादका डेविड वार्नर तथा मनिष पाण्डेको विकेटसहित कोलकत्ताका शुभम गिलको विकेट समेत समावेश छ।
कोलकत्ता नाइट राइडर्सविरुद्धको अन्तिम खेलमा उनले चोटका कारण दुई ओभरमात्रै बलिङ गरेका थिए। त्यसपछि उनले चोटका कारण मैदान छाड्नुपरेको थियो।
आइपीएलमा लेग स्पिनरहरुले राम्रो प्रदर्शन गर्दै आएका कारण मिश्राको स्थानमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले मौका पाउने सम्भावना बढेको हो।
यसअघिका चार खेलमै दिल्लीले सन्दीपलाई बेन्चमा राखेको छ।

प्रतिक्रिया