कोरोना संकटले समग्र खपत कम भइरहेको बेला ग्यास उद्योगहरुमा समस्या देखएको छ। ग्यासको खपत कम भएर बिक्री घटेपछि धान्न नसकेर केही उद्योग बिक्री समेत भएका छन्।
पछिल्लो ६ महिनादेखिको कोरोना संकट र बेलाबेला हुने लकडाउनले ग्यास उद्योगलाई समस्यामा पारेको सम्बन्धित उद्योगी बताउँछन्।
‘कोरोना संकटले समग्र खपत घटेकाले धेरै ग्यास उद्योग घाटामा गएका छन्’, ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले नेपालखबरसँग भने, ‘व्यावसायिक खपत नहुदा उद्योगलाई नोक्सानी भएको हो।’
पछिल्लो ६ महिनादेखि ठूला होटल, रेष्टुरेन्ट, शैक्षिक संस्थाहरु बन्द छन् भने लामो समयसम्म लकडाउनले उद्योगहरु, साना होटल तथा अन्य व्यापारिक प्रतिष्ठान बन्द रहे।
यस क्षेत्रमा ग्यासको खपत उच्च हुने गर्छ। पछिल्लो ६ महिनादेखि व्यावसायिक खपत ठप्प रहेको भण्डारी बताउँछन्।
त्यस्तै, ग्यासको खपत धेरै हुने काठमाडौंमा उपत्यकाबाहिरका मान्छेहरु घटेका छन्। लकडाउन सुरु भएसँगै काठमाडौंबाहिरका धेरै जना गाउँघरमा गइसकेका छन्। यसले घरायसी प्रयोग पनि घटेको छ।
‘समग्रमा ३० देखि ४० प्रतिशतसम्म खपत घटेको छ’, भण्डारीले भने, ‘यसले सोझै व्यवसायलाई असर गरेको छ। सामान्य अवस्थामा मुलुकमा दैनिक एक लाख सिलिन्डर प्रयोग हुने गरेको उनले बताए।
कोरोना संकट लम्बिदै जाँदा साना ग्यास उद्योगहरु बिक्री हुन थालेका छन्। लकडाउनकै अवधिमा व्यवसाय धान्न नसकेर चारवटा यस्ता उद्योग बिक्री भएको भण्डारीले बताए।
पछिल्लो ६ महिनामा एचपी ग्यास, साइपाल ग्यास, त्रिवेणी र आरती ग्यास बिक्री भएका छन्। यी ग्यास उद्योग अन्य ठूला ग्यास कम्पनीले नै खरिद गरेका छन्।
यी उद्योगहरु अर्का ठूला ग्यास उद्यागीले नै किनेका छन्। एकै ठाउँबाट रिफिलिङ गर्दा धरै भार नपर्ने भएपछि ग्यास उद्योगीले नै किनेको उनले बताए।
एकातिर व्यवसाय घटिरहेको बेला ग्यास उद्योगको खर्च बढेको व्यवसायीको भनाइ छ। अत्यावश्यकका रुपमा रहेको उद्योग चलाउनैपर्ने भएकाले सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्दा प्रशासनिक खर्च बढेको भण्डारीको भनाइ छ।
सरकारको कदमले सशंकित उद्योगी
पछिल्लो समय सरकारले चालेको कदमले पनि ग्यास उद्योगी सशंकित बनेको व्यवसायी बताउँछन्।
ग्यास उद्योगमा समस्या आउनुमा सरकारी कदम पनि भएको भण्डारी बताउँछन्। सरकारले नेपाल आयल निगममार्फत सरकारी ग्यास उद्योग सञ्चालन गर्ने बताएको छ।
‘सरकारले आफैँ आयात गरेर आफैँ प्लान्ट खोल्ने भनेर लागेपछि ग्यास उद्योगीहरु सशंकित भएका छन्’, भण्डारीले भने, ‘सरकारले आफैँ उद्योग चलाउने हो भने निजीलाई सशंकित भएका छन्।’
मुलुकमै उपलब्ध बिजुलीलाई उपभोग नगरीकन सरकारले नै ग्यास उद्योग खोल्ने रणनीति राम्रो नभएको व्यवसायी बताउँछन्। नेपालमा सबैभन्दा ठूलो व्यापार घाटा भनको ग्यास र पेट्रोलियम पदार्थमा छ।
‘यस्तो घाटा खाने वस्तुमा राज्यले किन लगानी गरिरहेको छ बुझ्न सकिएको छैन’, उनले भने, ‘राज्यले ग्यास उद्योग चलाउने भएपछि हाम्रो अवस्था के होला भनेर सानातिना उद्योग बिक्री भएका हुन्।’
Shares

प्रतिक्रिया