लिभरपुल, इङलिस प्रिमियर लिगको उपाधि उचाल्नबाट १ खेल मात्र टाढा छ। उसले ३० वर्षपछि प्रिमियर लिगको उपाधि उचाल्न लागेको हो।
अंकतालिकामा लिगको शीर्षस्थानमा रहेको लिभरपुलले बुधबार राति घरेलु मैदान एनफिल्डमा क्रिस्टल प्यालेसलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्यो।
लिभरपुलले अब दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग इत्तिहाद रंगशालामा खेल्नेछ। त्यसअघि दोस्रो स्थानको म्यानचेष्टर सिटीले चेल्सीसँग खेल्नेछ।
सो खेलमा चेल्सीले सिटीलाई पराजित गरे लिभरपुल च्याम्पियन बन्नेछ। सिटीले चेल्सीलाई हराउनसके लिभरपुलको उपाधि यात्रा अर्को खेलसम्म धकेलिनेछ।
लिभरपुलले ३१ खेलबाट ८६ अंक जोड्दै अंकतालिकाको शीर्षस्थानमा छ। दोस्रो स्थानको म्यान्चेस्टर सिटीको ३० खेलमा ६३ अंक छ। क्रिष्टल प्यालेस भने ३१ खेलमा ४२ अंकसहित नवौं स्थानमा यथावत् छ।
गएराति भएको खेलमा लिभरपुलले दुवै हाफमा समान २ गोल गर्यो। खेलको २३ औं मिनेटमा ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले फ्रिकिकमा सिधै गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।
४४औं मिनेटमा फरवार्ड मोहमद सलाहले अग्रता दोब्बर पारे। सलाहले घरेलु मैदानमा १५ औं गोल गरेका हुन्।
खेलको ५५औं मिनेटमा फाबिन्होले गोल गर्दै जित निश्चित गरे। ६९औं मिनेटमा सलाहको पासमा सडियो मानेले गोल थप्दै अग्रता फराकिलो पारे।
गएराति नै भएको खेलमा एन्थोनी मार्सियलको ह्याट्रिक मद्दतमा म्यानेचष्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३–० गोलले पराजित गर्यो। खेलको ७ औं मिनेटमा नै अग्रता बनाएको युनाइटेडका लागि मार्सियलले ४४ र ७४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। जितपछि ३१ खेलबाट ४९ अंक बनाएको युनाइटेड अंक तालिकाको पाँचौँ स्थानमा छ।
गएराति नै एभर्टनले नर्विच सिटीलाई तथा वुल्भ्सले वर्नमाउथलाई १–० ले पराजित गरे। न्युकासल युनाइटेड र एष्टोन भिल्लाले भने १–१ गोलको बराबरी गर्दै अंक बाँडे।

प्रतिक्रिया