समाज


‘ट्राभल हिस्ट्री’ नभएकाहरुमा पनि धमाधम देखिँदै कोरोना

‘ट्राभल हिस्ट्री’ नभएकाहरुमा पनि धमाधम देखिँदै कोरोना

नेपालखबर
असार ११, २०७७ बिहिबार ६:५७,

सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतबार कोरोना संक्रमण पुष्टि भयो। आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखियो।

पीसीआर परीक्षणबाट तीमध्ये पाँच जनामा संक्रमण पुष्टि भयो । दैलेखका दुई तथा सुर्खेतका एक गरी तीन जना बिरामी भारतबाट आएका पनि होइनन् । कुनै ‘ट्राभल हिस्ट्री’ नभएका अन्य रोगका बिरामीमा कोरोना पोजेटिभ देखिनु र उपचारमा संलग्न स्वास्थ्यकर्मीसम्म विस्तार हुनुले कर्णालीमा कोरोना संक्रमण जोखिममा रहेको बताइएको छ।

कर्णालीमा एकैपटक यति धेरै संख्यामा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको यो पहिलोपटक हो। यसअघि ‘ट्राभल हिस्ट्री’ नभएका पश्चिम सुर्खेत घर भएका एक विद्यार्थीमा पनि कोरोना संक्रमण देखियो। उनी दुई साता प्रदेश अस्पतालको आइसोलेसनमा बसेर कोरोना जितेर फर्किसकेका छन्। डोल्पाको जगदुल्ला गाउँपालिकाका ५८ वर्षीय पुरुषको कोरोना भाइरस सङक्रमणका कारण मृत्यु भयो। उनी न भारतबाट आएका थिए, भारतबाट फर्किएका व्यक्तिहरूको प्रत्यक्ष सम्पर्कमा नै गएका थिए। समुदायमै बसिरहेका व्यक्तिहरुमा धमाधम कोरोना सङ्क्रंक्रमण देखिन थालेपछि कर्णालीमा त्रास बढेको छ।

आइतबार प्रदेश अस्पतालमै उपचार गर्न आएका दैलेखका एक बालकमा पनि कोरोना संक्रमण पुष्टि भयो। पेट दुखेपछि ती बालकलाई अस्पताल ल्याइएको थियो। एपेन्डिसाइडको शल्यक्रिया भयो। उनका बुवा भारतबाट आएर क्वारेन्टिनमा बसेको थाहा पाएपछि अस्पतालले छोरासँगै बाबुआमाको पनि कोरोना परीक्षण ग¥यो। परीक्षणबाट तीनै जनामा कोरोना संक्रमण देखियो। भारतबाट फर्किएका ती व्यक्तिकै कारण उनका श्रीमती र छोरा पनि संक्रमित हुन पुगे। हाल उनीहरुको प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ।

चिकित्सकहरु क्वारेन्टिन व्यवस्थित गर्न नसक्दा कोरोना जोखिम बढेको बताउँछन्। भारतबाट आएकालाई सुरक्षित तवरले क्वारेन्टिनमा व्यवस्थापन गर्न नसक्नु, पीसीआर परीक्षण नहुँदै घर पठाइनु, होम क्वारेन्टिनको व्यवहारिक प्रयोग नहुनुजस्ता कारणले संक्रमणको जोखिम बढेको जनाइएको छ। प्रदेश अस्पताल सुर्खेतका विशेषज्ञ चिकित्सक डा. नवराज केसीले कोरोना नियन्त्रणमा ध्यान दिन आग्रह गरे। १४ दिन क्वारेन्टिनमा राखेर पीसीआर परीक्षणबिनै घर पठाउँदा परिवारका सदस्यहरुमा सङ्क्रमणको जोखिम बढेको उनको भनाई छ।

भारत सरकारले बन्दाबन्दी (लकडाउन) कै बीच यही जेठ १ गतेदेखि रेल तथा बस सेवा सञ्चालन ग¥यो। यसले गर्दा रोजगारीका क्रममा ठूलो संख्यामा त्यहाँ रहेका कर्णालीबासीहरु विभिन्न नाका हुँदै फर्किन थाले। प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्यांक अनुसार यस अवधिमा ४१ हजार बढी कर्णालीबासीहरु भारतबाट फर्किसकेका छन्। भारतबाट फर्किनेहरुको संख्या बढेसंगै समुदायस्तरमा पनि संक्रमितको संख्या बढ्दैछ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले प्रदेशमा समुदायका २२ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । सङ्क्रमण दोस्रो चरणमा पुगेपनि लकडाउन खुकुलो भएसँगै सावधानी अपनाउन छाडिएको छ। ‘केही समय अघि क्वारेन्टिनमा सीमित कोरोना संक्रमणका बिरामी अहिले धमाधम समुदायमा पनि भेटिँदैछन्, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत अछुतो रहेनन्,’ प्रदेश अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष नारायण सापकोटाले भने, ‘विशेषगरी प्रदेश सरकार र स्थानीय तहले समयमै कोरोना समुदायमा फैलिन नदिन विभिन्न उपाय अपनाउनुपर्छ, अझैं लापरबाही गर्ने हो भने अवस्था भयावह हुने सम्भावना देखिएको छ।’

प्रदेश अस्पतालका कोभिड १९ फोकल पर्सन चिकित्सक केएन पौडेलले अन्य बिरामीमा पनि कोरोना सङ्क्रमण देखिन थालेपछि उपचारमा समस्या आएको बताए। उनले भने, ‘कोरोना भाइरसको थप जोखिम निम्तिएको छ, अहिले समुदायमा संक्रमण सुरुआती चरणमा छ, कसैलाई पनि लक्षण देखिएको छैन, पहिलेको तुलनामा अझ धेरै सावधानी अपनाउनुपर्ने बेला आएको छ।’ कर्णालीमा हालसम्म आशंकित बाहेक समुदायस्तरमा कोरोना परीक्षण भएको छैन्। संक्रमणमुक्त नहुँदै घर पठाइने र समुदायमा शंकास्पद व्यक्तिको स्वाब परीक्षण नगर्ने हो भने अवस्था थप जटिल बन्दै जाने बताइएको छ।

प्रदेश स्वास्थ्य सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत बिर्खबहादुर शाहीले समुदायमा केसको आधारमा ‘कन्ट्रयाक टे«सिङ’ गर्ने काम भइरहेको बताए। उनका अनुसार हालसम्म समुदायमा संक्रमण देखिनेमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सर्वसाधारण गरी २२ जना छन्। जुम्लामा चार तथा जाजरकोटमा एक जना गरी पाँच प्रहरीमा संक्रमण पुष्टि भइसकेको छ। कर्णालीमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेपछि सर्वसाधारण तथा कार्यक्षेत्रमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूमा जोखिम छाएको छ।

प्रदेशमा बुधबारसम्म एक हजार ३३५ जनामा कोरोना संक्रमण देखिएको छ भने पाँच जनाको मृत्यु भइसकेको छ। त्यस्तै, ५६८ जना संक्रमणमुक्त भई डिस्चार्ज भइसकेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad