खेल


नेपाल आइपुगे कर्णाली याक्समा आबद्ध जाद्रन, कोल्सावाल र ओ डावड

नेपाल आइपुगे कर्णाली याक्समा आबद्ध जाद्रन, कोल्सावाल र ओ डावड

नेपालखबर
कात्तिक २९, २०८२ शनिबार ९:५५, काठमाडौँ

कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न अफगानिस्तानका स्टार नाजिबुल्लाह जाद्रन, नेदरल्यान्ड्सका म्याक्स ओ डावड र भारतका जयकिसन कोल्सावाला नेपाल आइपुगेका छन्। 

उनीहरू शुक्रबार राति काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। 

उनीहरूलाई कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र अन्य प्रतिनिधिले स्वागत गरे।

कोल्सावाल लगातार दोस्रोपटक एनपीएल खेल्दै छन् भने जाद्रन र डावडले पहिलोपटक खेल्न लागेका हुन्।

यसअघि शुक्रबारै बिहान कर्णाली याक्समै आबद्ध भारतका प्रियाङ पन्चाल नेपाल आइसकेका छन्। 

अब कर्णाली याक्समा आबद्ध ६ विदेशी खेलाडीमध्ये अस्ट्रेलियाका विलियम बासिस्टो र स्कटल्यान्डका मार्क वाट आउन बाँकी छ।

कर्णाली याक्सले छैटौँ विदेशी खेलाडीमा कोल्सावालालाई अनुबन्ध गरेको हो।

३६ वर्षीय भारतीय आक्रामक ब्याटरले दोस्रोपटक कर्णाली याक्सबाट खेल्न लागेका हुन्। विकेट किपरसमेत रहेका कोल्सावालले पहिलो संस्करणमा दुई खेल खेल्दा चितवनविरुद्ध अर्धशतक बनाएका थिए। उनी नेपाली क्रिकेटका लागि परिचित खेलाडी हुन्।

यसअघि उनले धनगढी प्रिमियर लिग पनि खेलेका थिए। अफगानिस्तानका जाद्रन कर्णालीमा पाँचौँ विदेशी खेलाडीका रूपमा अनुबन्ध भएका हुन्। ३२ वर्षीय बायाँहाते ब्याटरले अफगानिस्तानबाट १०७ खेल खेल्दा १ हजार ८ सय ३० रन बनाएका छन्। १३७.८० को औसतमा रन बनाउँदा ८ अर्धशतक बनाए। एकदिवसीयमा भने उनले ९२ खेलमा २ हजार ६२ रन बनाएका छन्।

यता पहिलोपटक एनपीएल खेल्न लागेका म्याक्स ओ डावड भने तेस्रो विदेशी खेलाडीका रूपमा कर्णालीमा अनुबन्ध भएका हुन्। ३१ वर्षीय म्यान्स ओ डावडले नेदरल्यान्ड्सबाट ८७ टी–२० खेल खेलिसकेका छन्।

जसमा उनले २ हजार तीन सय ९ रन बनाएका छन्। उनले एक शतक र १६ अर्धशतक बनाएका छन्।

यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा काठमाडौँको होटल याक एन्ड यति, सहप्रायोजकमा एसियन पेन्ट्स, नेबिको तथा प्लम्बर पाइप्ससँग सम्झौता गरिसकेको छ।

२०८१ मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म भएको एनपीएल पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो।

अहिले दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ।

टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन्।

कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ। अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad