आउने मंसिर १ देखि सञ्चालन हुने नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण खेल्न लुम्बिनी लायन्सले नामिबियाका जेजे (जोहानेस जोनाथान) स्मिथ र रुबेन ट्रम्पलम्यानलाई आफ्नो क्लबमा भित्र्याएको छ।
यसअघि तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको लुम्बिनी लायन्सले चौथो र पाँचौँ खेलाडीका रूपमा उनीहरूलाई क्लबमा आबद्ध गराएको हो।
लुम्बिनीले यसअघि अस्ट्रेलियका ब्याटर डार्सी सर्ट इटलीका पेस बलर थोमस ड्राका र अफगानिस्तानका अलराउन्डर गुल्बादिन नहबलाई अनुबन्ध गरिसकेको छ।
जेजे स्मिथ
नामिबियाका लागि टी-२० टिमको कप्तानी गरिसकेका जेजे स्मिथलाई अनुबन्ध गर्दै ब्याटिङ र बलिङ दुवै सन्तुलित बनाइएको लुम्बिनीले जनाएको छ। ३० वर्षीय जे जे स्मिथ बलिङ अलराउन्डर हुन्। उनले नामिबियाका लागि ४ टी-२० अन्तर्राष्ट्रिय खेलमा कप्तानी
गरिसकेका छन्।
सन् २०२४ मार्चमा नामिबियाले नेपाल भ्रमण गर्दा जेजे स्मिथले नै नामिबियाको टी-२० टिमको कप्तानी गरेका थिए।
बाँयाँहाते ब्याटर र बायाँहाते मिडियम पेसर बलर जेजे स्मिथ सन् २०१८ मा नामिबियाका लागि डेब्यु गरेपछि महत्त्वपूर्ण सदस्यका रूपमा छन्। उनले विशेषगरी अयाकिङ ब्याटिङ र धारिलो पेस बलिङले आफूलाई चाँडै नै स्थापित गरेका थिए।
डेब्युको ६ वर्षपछि जेजे स्मिथ नामिबियाका लागि टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने र विकेट लिनेमा दोस्रो स्थानमा छन्।
जेजे स्मिथले नामिबियाका लागि ५२ एकदिवसीय अन्तर्राष्ट्रिय र ६७ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले एकदिवसीय अन्तर्राष्ट्रिय ५६ र टी-२० अन्तर्राष्ट्रियमा ६४ विकेट लिएका छन्।
उनले सन् २०२२ मा युगान्डा विरुद्ध एकै खेलमा ६ विकेट लिएका थिए, जुन उनको व्यक्तिगत उत्कृष्ट बलिङ हो। त्यस क्रममा उनले ४ ओभरमा १ मेडन राख्दै १० रन मात्र खर्चेका थिए। सोही क्रममा स्मिथले हृयाट्रिक विकेटसमेत लिएका थिए। उनी टी-२० अन्तर्राष्ट्रियमा नामिबियाका लागि हयाट्रिक विकेट लिने पहिलो खेलाडीसमेत हुन्।
यस्तै टी-२० अन्तर्राष्ट्रियमा ब्याटिङमा पनि उनको प्रदर्शन उत्कृष्ट छ। उनले एक शतक र एक अर्धशतकसहित १ हजार १८८ रन बनाएका छन्। सन् २०२४ सेप्टेम्बरमा आईसीसी टी-२० विश्वकप अफ्रिका रिजन फाइनलमा केन्याविरुद्ध उनले छैटौँ नम्बरमा ब्याटिङ गर्दै टी-२० अन्तर्राष्ट्रियमा शतक प्रहार गरेका थिए। उनले ३८ बलमा १२ चौका र ७ छक्का प्रहार गर्दै अविजित १११ रन बनाएका थिए। उनले सबैखाले टी-२० मा १०४ खेल खेल्दै १३ विकेट लिएका छन् भने १ हजार ५०८ रन बनाएका छन्।
जेजे स्मिथले तीनपटक टी-२० विश्वकप खेलेका छन्। सन् २०२१ र २०२४ को टी-२० विश्वकपमा जेजे स्मिथ टिमको उपकप्तानसमेत थिए।
यस्तै उनीसँग नेपालमा आएर खेलेको अनुभव पनि छ। लिग टु क्रिकेटमा उनले कीर्तिपुरमा आएर खेलिसकेका छन्। यस्तै उनले नेपालमा नामिबियाका तर्फबाट टी-२० अन्तर्राष्ट्रिय खेलसमेत खेलिसेकाक छन्।
रुबेन ट्रम्पलम्यान
लुम्बिनी लायन्समा आबद्ध नामिबियाकै रुबेन ट्रम्पलम्यान स्ट्राइक पेस बलर हुन्। २७ वर्षीय ट्रम्पलम्यानले नामिबियाका लागि ४८ एकदिवसीय अन्तर्राष्ट्रिय र ४४ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले एकदिवसी अन्तर्राष्ट्रियमा ७३ र टी-२० अन्तर्राष्ट्रियमा ४८ विकेट लिएका छन्। टी-२० विश्वकप २०२४ अन्तर्गत बार्बाडोसमा भएको ओमानविरुद्धको खेलमा उनले टी-२० करियरका बेस्ट बलिङ गरेका थिए। जसमा उनले २१ रन खर्चेर ४ विकेट लिएका थिए।
यस्तै ट्रम्पलम्यानले टी-२० अन्तर्राष्ट्रियमा उनले २६७ रनसमेत बनाएका छन्। जसमा ४६ रन उनको व्यक्तिगत उच्च स्कोर हो। एकदिवसीय अन्तर्राष्ट्रियमा उनले दुई अर्धशतक प्रहार गरेका छन्। २०२५ अक्टोबरमा दक्षिण अफ्रिकाविरुद्ध टी-२० मा ऐतिहासिक जित हासिल गर्दा ट्रम्पलम्यानले महत्त्वपूर्ण ३ विकेट लिनाका साथै अविजित ११ रन बनाएका थिए।
दक्षिण अफ्रिकाको डर्बानमा जन्मिएका ट्रम्पलम्यानले दक्षिण अफ्रिकाको डोमेस्टिक सिस्टमबाट आएका हुन्। तर आफ्नो बुबा जन्मेको देश नामिबियाका लागि खेल्ने थालेपछि उनी चर्चामा आए। उनले सन् २०२१ मा टि२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। त्यसयता उनी नामिबियाका मुख्य पेस बलर छन्। बायाँहाते बलर उनीसँग धेरै भ्यारिएसन छ।
उनी १४० किमि प्रतिघण्टाको गतिमा बलिङ गर्न सक्छन्।
रुबेनले तीन पटक टी-२० विश्वकप खेलेका छन्। उनीसँग नेपालमा आएर खेलेको अनुभव छ। लिग टु क्रिकेटमा उनले कीर्तिपुरमा आएर खेलिसकेका छन्। यस्तै उनले नेपाल भ्रमणमा नामिबियाले टी-२० अन्तर्राष्ट्रिय खेलसमेत खेलेको छ।
लुम्बिनी लायन्स टिम : रोहितकुमार पौडेल, सन्दीप जोरा, दिनेश अधिकारी, अभिशेष गौतम, तिलक भण्डारी, सुमित महर्जन, दुर्गेश गुप्ता, दिलीप नाथ, शेर मल्ल, आदिल खान, विशाल पटेल
विदेशी खेलाडी : डार्सी सर्ट, थोमस ड्राका, गुल्बादिन नहब, रुबेन ट्रम्पलम्यान, जेजे स्मिथ
ट्यालेन्ट हन्ट : समिर अली
मेन्टर : रोबिन सिंह
मुख्य प्रशिक्षक : टिनु योहान्नान
कन्सलट्यान्ट प्रशिक्षक : शक्ति गौचन
सहायक प्रशिक्षक : सुवास खकुरेल
Shares

प्रतिक्रिया