कारोबार


अतिथि न व्यवसाय : जेनजी प्रदर्शनले थलियो होटल क्षेत्र

होटल तथा सेवा उद्योगमा २५ अर्बको क्षति, पर्यटन क्षेत्र पुनरुत्थान योजना आवश्यक
अतिथि न व्यवसाय : जेनजी प्रदर्शनले थलियो होटल क्षेत्र

फाइल तस्बिर


निर्दोष घोरसाइने
मंसिर १, २०८२ सोमबार १४:३, काठमाडौँ

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन हिंसात्मक हुँदा पर्यटन व्यवसायमा ठूलो आर्थिक तथा भौतिक क्षति पुगेको छ।

नेपाल पर्यटन बोर्डले गरेको एक अध्ययन प्रतिवेदनअनुसार प्रदर्शनकारीको निशानामा काठमाडौं उपत्यकासहित देशभरका १५ होटलमा भौतिक क्षति पुगेको छ। यसबाट २५ अर्ब रुपैयाँबराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ।

होटलमध्ये सबैभन्दा ठूलो क्षति काठमाडौं नक्सालस्थित अन्तर्राष्ट्रिय चेन होटल हिल्टनमा परेको छ। हिल्टन होटल पूर्ण रुपमा क्षति हुँदा ७ देखि ८ अर्ब रुपैयाँको नोक्सानी पुगेको रिपोर्टमा उल्लेख छ। ८ अर्ब रुपैयाँमा बनेको हिल्टन २०८१ साउनदेखि मात्र सञ्चालनमा आएको थियो।

मेसिनरी, उपकरण, सञ्चालन सामग्री तथा चलअचल सम्पत्तिसहित सबै प्रमुख संरचना नष्ट हुँदा होटल पूर्ण रुपमा बन्द छ। क्षतिको सटीक वित्तीय मूल्यांकनका लागि बीमा कम्पनी र सर्वेयरले औपचारिक मूल्यांकन प्रक्रिया अघि बढाइरहेका छन्। आन्दोलनअघि होटलको दैनिक औसत आम्दानी करिब २५ लाख रुपैयाँ थियो। तर पूर्ण रूपमा सञ्चालन बन्द भएपछि राजस्व शून्यमा झरेको छ। 

होटल बीमित भएकाले बीमा दाबी प्रक्रिया चलिरहेको र वित्तीय पुनर्स्थापनाको गति बीमा दाबी र संरचना पुनर्निर्माणमा निर्भर रहने प्रतिवेदनमा उल्लेख छ।

सञ्चालन रोकिए पनि हिल्टनले कर्मचारी संरक्षणलाई प्राथमिकता दिँदै एपीएसी क्षेत्रका अन्य हिल्टन होटलहरूमा इच्छुक तथा योग्य कर्मचारीलाई स्थानान्तरण गर्ने प्रक्रिया अघि सारेको जनाएको छ। यसले तत्काल रोजगारीको जोखिम न्यून हुने होटलको विश्वास छ।

पुनःसञ्चालन भन्ने अनिश्चित रहेको होटलले बताएको छ। 

होटल मेची क्राउन
पूर्वी नेपाल झापाको धुलाबारीस्थित पाँचतारे होटल मेची क्राउनले जेनजी प्रर्दशनका क्रममा भौतिक क्षति व्यहोरेको छ।

रेस्टुरेन्ट र स्पा क्षेत्रमा आक्रमण हुँदा टफेन ग्लास फुटाइनुका साथै भित्री भाग तोडफोड गरिएको थियो। यस्तै स्वीमिङ पुल क्षेत्र पनि क्षतिग्रस्त हुँदा पानी निकालेर पुनः भर्नु परेको थियो। विशेषतः भिल्ला क्षेत्रका करिब १४–१५ कोठामा झ्याल फुट्नुका साथै सानातिना संरचनागत क्षति भएको थियो। आवश्यक मर्मत–सुधारका लागि होटललाई दुई–तीन दिन बन्द गरेर सञ्चालन गर्नु परेको थियो। 

काठमाडौं–झापा क्षेत्रमा मुख्यतया क्यासिनो ग्राहक तथा सिलिगुढीबाट आउने व्यक्तिगत लक्षित यो पाँचतारे होटलले आन्दोलनपछि उल्लेख्य आर्थिक क्षति व्यहोर्नु परेको छ। दसैं बुकिङ खासै प्रभावित नभए पनि रेसिडेन्सियल विवाह कार्यक्रम र वीकएन्ड ओकुपेन्सी ठूलो मात्रामा घटेको होटलले जनाएको छ।

नोभेम्बर र डिसेम्बरका लागि तय १२ विवाहमध्ये ६ वटा सुरक्षाका कारण रद्द भएका थिए। सामान्यतया १००–१३२ कोठासम्म भरिने वीकएन्ड ओकुपेन्सी ५०–६० मा झरेको थियो।  पछिल्लो समय १५ देखि २० कोठा मात्र भरिएको होटलले बताएको छ। सुरक्षाको अवस्था र आगामी जनवरीदेखि अप्रिलसम्म तय विवाह कार्यक्रमको सफलताका आधारमा  होटलको पुनःउठान १ देखि ६ महिना लाग्न सक्ने अनुमान गरिएको छ। 

होटलले कुनै कर्मचारी कटौती गरेको छैन। तर ओकुपेन्सी घट्नु र मर्मतकालीन बन्दले नियमित कामको समय अव्यवस्थित बनाएको होटलको भनाइ छ।  इभेन्ट म्यानेजमेन्ट, आतिथ्य सेवा र मर्मतसम्भारका कर्मचारीको कार्यसमय अस्थायी रूपमा घटेको छ। लामो समय अस्थिरता दोहोरिन गए भविष्यमा कर्मचारी कटौती गर्नुपर्ने जोखिम व्यवस्थापनले औँल्याएको छ।

ह्यात रिजेन्सी
काठमाडौंको बौद्धस्थित पाँचतारे हायत रिजेन्सीले पनि तोडफोड, आगलागीबाट भएको क्षति व्यहोर्नु परेको छ। क्षतिको पूर्ण मूल्यांकन भइरहेको छ।

होटल अस्थायी रूपमा बन्द हुँदा सबै बुकिङ रद्द भएका छन्। जसले भौतिक क्षतिसँगै सम्भावित आम्दानी गुमाउने अतिरिक्त वित्तीय क्षति निम्त्याएको छ। क्यासिनो लगायतका संरचनाहरू चोरी, तोडफोड, आगजनी र धुवाँ क्षतिबाट गम्भीर रूपमा प्रभावित भए।

व्यवस्थापनका अनुसार २०२५ सेप्टेम्बर महिनाको अनुमानित आम्दानी करिब १४ करोड रुपैयाँ थियो, जुन अघिल्लो वर्षको सोही महिनामा १२ करोड रुपैयाँ थियो।

हालसम्म भौतिक क्षतिको कुल मूल्य उपलब्ध छैन। सम्भावित आम्दानी गुमाइ मात्र १४ करोड रुपैयाँको रहेको अनुमान भए पनि कुल वित्तीय क्षतिको यकिन परिणाम आउन बाँकी छ। कात्तिक २६ गते होटलले १३३ कर्मचारी हटाउन सूचना जारी गरेको छ। 

भैरहवाका होटल 
भैरहवामा सबैभन्दा धेरै प्रभावित होटल तिलोत्तमास्थित ड्रीमल्यान्ड होटल भएको होटल एसोसिएसन अफ नेपालका प्रतिनिधिले बताएका छन्।

भैरहवाका पाँचवटा प्रदर्शनका कारण क्षतिग्रस्त भएको छन्। तीमध्ये ड्रीमल्यान्डमा मात्र १ करोड रुपैयाँभन्दा बढी क्षति भएको अनुमान छ। तोडफोड, आगलागी र लुटपाट क्षतिको प्रमुख कारणका रुपमा लिइएको छ।

आगमनमा आएको व्यापक गिरावटका कारण यी पाँच होटलका करिब ९० प्रतिशत बुकिङ रद्द भएको जनाएको छ। लुम्बिनी आउने पर्यटक प्रवाह घटेकाले भैरहवाको पर्यटन उद्योग नै प्रभावित भएको छ। पर्यटक आगमनसँग सम्बन्धित ‘स्पिलओभर इफेक्ट’ पनि ठप्पजस्तै भएको छ।

अन्य होटल
सोल्टी होटल, काठमाडौं म्यारियट लगायत अन्य प्रमुख होटलले कुनै भौतिक क्षति नभए पनि बुकिङ रद्द हुँदा प्रभावित भएका छन्।

सोल्टीले दुईदिनको आन्दोलन र त्यसपछिको कफ्र्युका कारण करिब २० करोड रुपैयाँ बराबरको राजस्व गुमाएको अनुमान गरेको छ।

अलफ्ट होटलले छाया सेन्टरमा केही क्षति तथा महत्वपूर्ण दिनहरूमा बुकिङ रद्द भएको बताए पनि हाल होटलको अकुपेन्सी ७० प्रतिशत भन्दा माथि पुगेको छ। सेप्टेम्बर–अक्टोबरमा ९० प्रतिशत ओकुपेन्सी हुने अपेक्षा भए पनि ठूलो क्षति भने भएको छैन।

आगलागी तथा धुवाँका कारण होटलहरू पूर्ण रूपमा बन्द छन्, जसले १०० प्रतिशत बुकिङ रद्द हुनुका साथै १०० प्रतिशत सम्भावित आम्दानी गुमेको छ। वर्णबास म्यूजियम होटल तथा आगलागीबाट क्षतिग्रस्त हुँदै बन्द छ र क्षति ठूलो भएकाले चाँडै सञ्चालनमा आउने सम्भावना न्यून देखिन्छ।

पुनरुत्थानका लागि प्रस्ट योजना आवश्यक
जेनजी प्रदर्शनपछि नेपालको अवस्था सामान्य भए पनि फरार कैदी, सुरक्षा निकायको लुटिएको हतियार फिर्ता नहुनु, ट्राभल एडभाइजरी लगायत कारण नेपाल घुम्न चहाने पर्यटकहरुमा त्रसित रहेको होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाह बताउँछन्। 

राज्यले पर्यटक क्षेत्रको पुनउत्थानका लागि प्रष्ट योजना ल्याउन नसक्दा समस्या भइरहेको शाह बताउँछन्। 

‘पर्यटकीय गतिविधि गर्न नेपाल भित्र कुनै समस्या छैन।  मुलुक स्थिति सामान्यकरण भई दसैंतिहार लगायत ठूला चाड मनाइसकिएको छ’, शाहले भने, ‘विदेशबाट पर्यटक नेपाल आउने वातावरण भने तयार हुन सकेको छैन।’

यसका लागि सरकार तथा राजदूतावासहरुले पर्यटकीय गतिविधि गर्न समस्या नरहेको र मुलुकको अवस्था सामान्य भइसकेको बारेमा सक्रिया रुपमा सूचना प्रवाह गर्नु पर्नेमा उनको जोड छ। 

विभिन्न देशले आफ्नो ट्राभल एडभाइजरी मार्फत सजकता अपनाएर नेपाल घुम्न जान अनुरोध गरेका छन्।

‘कुटनीतिक तबरबाट ट्राभल एडभाइजरी घटाउनु वा हटाउनु पर्छ।  ट्राभल एडभाइजरीले गर्दा पर्यटक बिमा महँगो भएको छ’, शाहले भने, ‘यसले गर्दा पनि पर्यटकहरु नेपाल आउने योजना रद्द गर्न बाध्य भइरहेका छन्।’

अन्य मुलुकमा महिनौंसम्म यस्ता प्रकारका प्रदर्शन हुन्छ। नेपालमा दुई दिनमै प्रदर्शन सकिएर अन्तरिम सरकार गठन भई चुनावको तयारीमा जुटिसकेको अवस्था छ। 

संक्रमणको समयमा बजारमा महँगी बढ्छ। तर नेपालमा त्यस्तो पनि छैन। साथै होटलहरुले सस्तो मूल्यमा बुकिङ पनि लिइरहेका छन्। 

यस अघिका भूकम्प, नाकाबन्दी, कोभिड लगायतका समयमा समयमा पर्यटक पुनरुत्थानका लागि सरकारले एक महिनाभित्रमा ठोस योजना ल्याउने गरेको थियो। अहिले दुई महिनाभन्दा बढी समय बित्दा पनि पुनरुत्थान योजना आउन सकेको छैन। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त नहुँदा पनि पर्यटक क्षेत्र संक्रमणकालीन अवस्थामा रहेको पर्यटक व्यवसायीहरुको बुझाइ छ। 

पयर्टकको संख्यामा उल्लेखनीय गिरावट
जेनजी प्रदर्शन पछि नेपाल आउने बाह्य पयर्टकको संख्यामा उल्लेखनीय गिरावट आएको देखिन्छ। जेनजी प्रदर्शन सुरु हुनु भन्दा अघि सेप्टेम्बरको पहिलो हप्ता २१ हजार ८३९ जना पर्यटक आएका थिए। औसत पर्यटक आगमन ३ हजार १२० थियो।

जेनजी प्रदर्शनको पहिलो दिन सेप्टेम्बर ८ मा ३ हजार ६१२ पर्यटक नेपाल आएका थिए। सेप्टेम्बर ९ पछि यो संख्या घट्दो क्रममा रहेको थियो। सेप्टेम्बर १० मा एयरपोर्ट अधिकांश समय बन्द हुँदा नेपाल आउने पर्यटकको संख्या १०५ मा झरेको थियो। एयरपोर्ट सञ्चालनमा आए पनि पर्यटक आगमन विस्तारै वृद्धि हुन थाले पनि प्रदर्शन अघिको जस्तो बढ्न सकेको छैन।

सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल आएका थियो। २०२४ को सेप्टेम्बरमा नेपाल आउने पयर्टकको संख्या ९६ हजार ३०२ थियो। जेनजी प्रदर्शनका कारण गत वर्षको सोही अवधिको तुलनामा पर्यटक  १८ प्रतिशतले गिरावट आएको छ। 

धुलिखेल माउन्टेन रिसोर्टले जेनजी प्रदर्शनबाट भौतिक क्षति नव्होरे पनि आर्थिक क्षतिको सामना गर्नु परेको व्यवस्थापन प्रमुख बलराम न्यौपाने बताउँछन्। 

सेप्टेम्बर, अक्टोबर र नोभेम्बर पर्यटकीय सिजनको रुपमा रहने गर्छ।  

‘जर्मन, अमेरिकी र फ्रान्सको पयर्टकहरुको धेरै बुकिङ रद्द भएको छ। तीन महिनामा धुलिखेलमा विदेशी पयर्टकले ७० देखि ८० प्रतिशत अकुपेन्सी हुन्छ। स्वदेशी र रेसिडेन्टलबाट होटलहरु भरिभराउ हुन्थे’, न्यौपानेले भने, ‘यो पटक ७० प्रतिशत विदेशी पयर्टक अपेक्षा गरिएकोमा ३० प्रतिशत पनि पुग्न सकेन।’ 

नेपाल घुम्ने योजनामा रहेका पयर्टकहरुलाई बिमा कम्पनीले आफ्नो जोखिम आफै लिनु पर्ने सुझाव दिएकाले पनि पर्यटकहरु नेपाल आउन डराइरहेको विषय पर्यटकले कुराकानीका क्रममा बताएको न्यौपाने जानकारी दिन्छन्। ट्राभल एडभाइजरीका कारण नेपाल आउने योजना बनाएका पर्यटकहरु पनि बुकिङ रद्द गर्ने गरेको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad