नेपाली राष्ट्रिय क्रिकेट टोली एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश गरेको छ।
आइतबार बिहान सिंगापुरको सिंगा ओभल ग्राउन्डमा भएको सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा अलआउट हुँदै ९४ रनमा समेटियो।
नेपालले उक्त लक्ष्य ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै फराकिलो जित हासिल गरेको हो।
नेपालको जितमा लोकेश बमले २६ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४४ रनको अविजित इनिङ खेले।
ओपनर कुशल भुर्तेलले २० रन बनाए भने रोहित पौडेलले २१ रनको अविजित इनिङ खेले।
ओमानका लागि कप्तान सुफ्यन महमुदले ३८ रन बनाउँदा अब्दुलजलिल खानले १६ तथा जुबाइर अली अकबरले २२ रन बनाए।
नेपालका लागि करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिए।
त्यस्तै साहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट आफ्नो नाममा गराए।
नेपाल अब सोमबार हङकङ र मलेसियाबिच हुने खेलको विजेतासँग उपाधिका लागि भिड्नुपर्नेछ।
एसियाली खेलकुदका लागि भने नेपाल यसअघि सेमिफाइनल पुग्दा नै छनोट भइसकेको छ।
नेपालसँगै सेमिफाइनल पुगेका बाँकी तीन टोली पनि एसियाली खेलकुदका लागि छानिएका छन्।
Shares

प्रतिक्रिया