समाज


डिभोर्स र वैवाहिक बलात्कारको मुद्दा अदालतले मेलमिलापमा पठायो, २ दिनपछि नेपाली ब्रोले गरे ईश्वरीको हत्या

डिभोर्स र वैवाहिक बलात्कारको मुद्दा अदालतले मेलमिलापमा पठायो, २ दिनपछि नेपाली ब्रोले गरे ईश्वरीको हत्या

उजिर कार्की
जेठ २५, २०८३ सोमबार २१:३, काठमाडौँ

काठमाडौँको तारकेश्वर नगरपालिका ६ पैँयुटारकी ईश्वरी भुजेलले पतिसँग सम्बन्धविच्छेदका लागि २०८२ मंसिर १४ गते नै जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरिसकेकी थिइन्। आफूलाई यातना दिने पति कुमार थापामगरसँग अलग हुन उनी दुई वटा मुद्दाको छिटो फैसला चाहन्थिन्। 

२०८३ जेठ २० गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश डा दिवाकर भट्टको इजलासमा दुवै मुद्दा एकसाथ पेसी तोकिएको थियो। २०८२ भदौ १० गते दर्ता भएको वैवाहिक जबर्जस्ती करणीको मुद्दा र ०८२ मंसिर १४ गते दर्ता भएको सम्बन्धविच्छेदको मुद्दा न्यायाधीश भट्टको इजलासमा पेसी थियो। 

वैवाहिक जबर्जस्ती करणीको मुद्दामा न्यायाधीश भट्टको इजलासले मेलमिलापमा पठाउने आदेश गर्‍यो। यस्तो आदेश भइसकेपछि सम्बन्धविच्छेदको मुद्दा पनि मेलमिलापमै गयो। 

तर अदालतको मेलमिलाप केन्द्रमा दुवै पक्ष बसेर छलफल गर्नु पहिल्यै कुमारले पत्नी ईश्वरीको हत्या गरे। पटक–पटक प्रहरी कार्यालय हुँदै दुई वटा मुद्दा अदालतमा पुगिसकेपछि ईश्वरीको हत्या भयो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार  शुक्रबार बेलुकी (जेठ २२) साढे ९ बजेतिर तारकेश्वर नगरपालिका ६ पैँयुटारमा कुमारले पत्नी ईश्वरीलाई धारिलो हतियार प्रहार गरे। 

कुमारले बाटो ढुकेर चक्कु प्रहार गर्दा गम्भीर घाइते भएकी ईश्वरीलाई सुरुमा तारकेश्वरकै सिटी अस्पताल शेषमती लगिएको थियो। त्यहाँबाट त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगियो। 

राति ११ बजे चिकित्सकले ईश्वरीलाई मृत घोषणा गरे। त्यसलगत्तै कुमारलाई प्रहरीले पक्राउ गर्‍यो।

ईश्वरीका माइती पक्षले दिएको जाहेरीका आधारमा अरु तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। शनिबार पक्राउ परेका कुमारका भाइ विक्रम थापा मगर, काठमाडौँको बालाजुका पुजन थापा क्षेत्री र जुम्लाको हिमा गाउँपालिका १ की प्रतीक्षा आचार्य हिरासतमै छन्। 

प्रहरी वृत्त बालाजुले पहिलो पटक ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति पाएको छ। उनीहरूमाथि ईश्वरीको हत्या अभियोगमा अनुसन्धान अगाडि बढाएको एसपी भट्टराईले बताए। 

कुमार पक्राउ परेको पहिलो पटक होइन। यसअघि २०८२ साउन २० गते पनि बालाजु वृत्तले नै कुमारलाई पक्राउ गरेको थियो। 

साउन २० गते पक्राउ परेका कुमार २०८२ भदौ ११ गते रिहा भएका थिए। वैवाहिक जबर्जस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौँका न्यायाधीश श्यामविहारी मौरेको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। 

त्यसपछि माघ २७ यो मुद्दा पेसी चढे पनि सुनुवाइ भएन। त्यतिबेला प्रतिवादी कुमारका पक्षले र फागुन १९ गतेको पेसी जिल्ला सरकारी वकिल कार्यालयको तर्फबाट स्थगित भयो। 

चैत १ गते हेर्न नभ्याइएको मुद्दा चैत ८ गते लगाउको मुद्दा साखै राख्ने आदेश भयो। त्यसपछि वैवाहिक बलात्कार र सम्बन्ध विच्छेदको मुद्दा साथै राखिएको हो। साथै राखिएपछिको पेसीमा भने जेठ २० गते मेलमिलापमा पठाउने आदेश भएको थियो।

मेलमिलापका लागि हरेक अदालतमा मेलमिलाप केन्द्र हुन्छन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार सरकारवादी फौजदारी मुद्दा मेलमिलापमा पठाइँदैन, देवानी प्रकृतिका सबै मुद्दाहरूमा मेलमिलाप हुनसक्छन्। मेलमिलाप हुने प्रकृतिका मुद्दाहरूलाई इजलासले मेलमिलाप केन्द्रमा पठाइदिन सक्छ। 

‘त्यस्ता मुद्दाहरू जुनै चरणमा रहेका भए पनि, फैसला भइसकेको अवस्थामा पनि कार्यान्वयनको अवस्थामा पनि मेलमिलापमा पठाउन सकिने भन्ने ऐनको व्यवस्था छ। त्यही अनुसार देवानी प्रकृतिका मुद्दाहरू मेलमिलापमा पठाइन्छ,’ प्रवक्ता कोइरालाले नेपालखबरसँग भने, ‘केही फौजदारी मुद्दाहरू पनि पठाउने गरिएको छ।’

यसरी मेलमिलापमा पठाउँदा न्यायाधीशलाई मेलमिलाप हुने खालको हो भन्ने लागेमा न्यायाधीश आफैँले र वादी÷प्रतिवादीले माग गरे पनि मेलमिलापमा पठाउने आदेश हुन्छ। 

त्यसपछि मेलमिलाप केन्द्रमा जान्छन् त्यस्ता मुद्दा। मेलमिलाप केन्द्रमा मेलमिलापकर्ताहरूको सूची हुन्छ। को मेलमिलापकर्ता छान्ने भन्ने पक्ष विपक्षले नै निर्णय गर्न पनि सक्छन्। त्यसपछि दुवै पक्षसँग छलफल हुन्छ। दुवै पक्षको सहमति भएमा सहमतिको खाका तयार गरेर इजलासमा पेस गरिन्छ। र न्यायाधीशले दुवै पक्षलाई सोध्छन् र हो भन्ने भएमा न्यायाधीशले मिलापत्रको कागजातमा हस्ताक्षर गर्छन्। अनि मिलापत्रमा मुद्दा टुंगिन्छ। 

तर ईश्वरी र कुमारको विवाद भने टुंगिनेतर्फ गइरहेको थिएन। उनीहरूको विवाद झनझन् बढ्दै गएको थियो। 

सेनामा झाँगिएको प्रेम अदालत हुँदै हत्यामा टुंगियो 
ईश्वरी भुजेल र कुमार थापा मगरको चिनजान नेपाली सेनामा जागिरे हुँदा झण्डै २० वर्ष पहिले भएको हो। २० वर्ष पहिले उनीहरू सैन्य पदमा जागिरे थिए। 

जागिरको सिलसिलामा उनीहरूको चिनजान भयो, एकअर्कालाई मन पराए र २ वर्षपछि (१८ वर्ष पहिले) प्रेम विवाह गरे। सेनामा जागिर खाँदै गरेका कुमारले ५ वर्ष नपुग्दै छाडे। कुमारले जागिर छाड्ने कुरामा पनि ईश्वरीको सहमति थिएन। 

ईश्वरी कुमारले जागिर छाड्नु हुन्न भन्नेमा थिइन्। कुमारले भने दुबई सिग्नल कन्ट्रोलमा नाम निस्किएको भन्दै सेनाको जागिर छाडे। त्यसपछि कुमार दुबई गए। तर उनी दुबईमा एक वर्ष पनि काम नगरी नेपाल फर्किए। 

नेपाल फर्किएपछि उनी रेस्लिङ खेल्न थाले। कुमारको कमाइ थिएन। ईश्वरीकै कमाइले घरखर्च धान्न थाले। ईश्वरी खेल्न भन्दा पनि काम गर्न भन्थिन् कुमारलाई। कुमारले विदेशबाट फर्किएपछि काम गरेनन्। त्यतिबेलैबाट उनीहरूको घर झगडा सुरु भएको थियो। 

ईश्वरीले यसअघि प्रहरी कार्यालयमा दिएको जाहेरीमा भनेकी थिइन्, ‘सधैँभरि मलाई नै वचन लगाउने, जो सँग बोले पनि शंका गरी बात लगाउने, अफिसबाट अलिकति ढिलो घरमा पुगे पनि अनावश्यक निहुँ खोजेर मानसिक, शारीरिक र आर्थिक यातना दिइरहन्छन्।’

छोराछोरीको भविष्यको लागि यातना सहे पनि अब यसरी बस्न नसक्ने भन्दै उनले वैवाहिक जबर्जस्ती करणीको जाहेरी दिएकी थिइन्। 

‘निजले मलाई कहिल्यै आफ्नो जस्तो व्यवहार नगरी जतिखेर पनि उसको यौन इच्छा पुरा गर्न पर्ने। आफूलाई सन्चो नभएको, जुनसुकै बेला यौन सम्पर्क राख्न दबाब दिने, उसले भनेको नमाने मलाई निर्घात कुटपिट गरेर भए पनि जबरजस्ती मसँग यौन सम्पर्क राखेर मलाई यौनजन्य हिंसा समेत गर्दै आएका छन्,’ ईश्वरीले गएको साउनमा बालाजु वृत्तमा दिएको जाहेरीमा भनिएको थियो। 

उनले त्यतिबेलै कुमारले आफूलाई कुटपिट गरेको, मार्छु भनेको जस्ता आरोप लगाएर जाहेरी दिएकी थिइन्। उनले उक्त जाहेरीमा कुमारलाई वैवाहिक बलात्कार सम्बन्धी कसुरमा हदैसम्मको सजाय माग गरेकी थिइन्। 

कुमारले भने प्रहरीलाई बयान दिँदा ईश्वरीले पनि आफूलाई अन्य स्त्रीसँग शंका गरेको आरोप लगाएका थिए। 

यो मुद्दा अगाडि बढेपछि भने उनीहरूको विवाद थप बढेको थियो। त्यसपछि ईश्वरीले कुमारसँग सम्बन्धविच्छेदको अर्को मुद्दा अदालतमा दायर गरेकी थिइन्। ईश्वरीको नेपाली सेनामा पेन्सन भइसकेको छ। उनको पोस्टिङ नारायणहिटी दरबार संग्रहालयमा थियो। 

नुवाकोटको तारकेश्वर गाउँपालिका ४ घर भएका उनीहरूले सेनाको जागिरबाटै काठमाडौँको तारकेश्वर नगरपालिका ६ पैँयुटारमा तीन तले घर समेत बनाएका थिए। घर ईश्वरीको नाममा थियो। उनीहरूका दुई छोरा छन्। तर बाबुआमाको झगडाले उनीहरू पनि शुक्रबारदेखि सहाराविहीन भए। 

पतिसँग अलग हुन अदालतको फैसला कुरिरहेकी ईश्वरीको सोमबार पशुपतिमा दाह संस्कार गरिएको छ। अन्तिम संस्कारका क्रममा नेपाली सेनाले सलामी दिएको थियो जेठा छोराले दागबत्ती दिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad