खेल


पहिलोपटक ‘क्लिन एन्ड ग्रिन स्पोर्ट्स’का लागि विभिन्न खेल संघहरूको ऐक्यबद्धता

पहिलोपटक ‘क्लिन एन्ड ग्रिन स्पोर्ट्स’का लागि विभिन्न खेल संघहरूको ऐक्यबद्धता

नेपालखबर
जेठ २४, २०८३ आइतबार १४:४७, काठमाडौँ

विश्व वातावरण दिवस (जुन ५) को अवसर पारेर नेपालका विभिन्न राष्ट्रिय खेलकुद संघहरूले पर्यावरण संरक्षण र दिगो खेलकुद विकासका लागि ऐतिहासिक ऐक्यवद्धता जनाएका छन्।

सातदोबाटोस्थित अल्पाइन स्पोर्ट्स नेपालको कार्यालयमा शुक्रबार आयोजित एक विशेष छलफलमार्फत सहभागी संघहरूले एकजुट भएर 'क्लिन एण्ड ग्रीन स्पोर्ट्स' अभियानलाई अगाडि बढाउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन्। नेपालको खेलकुद इतिहासमै वातावरण र खेलकुदलाई एकीकृत गरी यसरी सामूहिक पहल भएको यो पहिलोपटक हो।

छलफल कार्यक्रममा अल्पाइन स्पोर्ट्स फेडेरेसन नेपाल, नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसन, नेपाल स्केटिङ एण्ड स्केटबोर्डिङ एसोसिएसन, नेपाल बेसबल एण्ड सफ्टबल संघ, नेपाल हक्की संघ, इ-स्पोर्टस एसोसिएसन नेपाल र नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष, महासचिव तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

यसका साथै, नेपाल एड्भेन्चर रनिङ फेडेरेसन, नेपाल र्‍याफ्टिङ एण्ड कनोइङ एसोसिएसन, नेपाल ह्यान्डबल संघ र नेपाल कुस्ती संघले पनि यस पर्यावरणमैत्री अभियानमा आफ्नो पूर्ण ऐक्यवद्धता जनाएका छन्। विश्व खेलकुद महासंघहरूमा आबद्ध रहेका नेपाली खेल संघहरूले नेपाली खेल क्षेत्रलाई वातावरणमैत्री बनाउन र दिगो विकासमा योगदान दिन उच्च उत्साह देखाएका छन्।

आगामी कार्ययोजना के छन्?
बैठकले नेपाली खेलकुदलाई स्वच्छ, हरियाली र जिम्मेवार बनाउन ९ बुँदे महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ, जसको सचिवालयको जिम्मेवारी अल्पाइन स्पोर्ट्स फेडेरेसन नेपाललाई दिइएको छ:

राष्ट्रिय अभियानको सुरुवात: नेपालभर 'क्लिन, ग्रीन तथा सस्टेनेबल (दिगो) स्पोर्ट्स'का लागि वृहत् राष्ट्रिय अभियान सञ्चालन गरिनेछ।

अन्तर्राष्ट्रिय मापदण्डको पालना: राष्ट्रिय खेल संघ/महासंघहरूले आ-आफ्नो अन्तर्राष्ट्रिय महासंघको 'क्लिन ग्रीन अभियान' तथा 'क्लाइमेट एक्सन' (जलवायु कार्य) सम्बन्धी गाइडलाइन र कार्यविधिलाई पछ्याउनेछन्।

संयुक्त सहकार्य: नेपाल सरकार, गैरसरकारी संस्था तथा विभिन्न विकास नियोगहरूसँग वातावरण र खेलकुदको मुद्दामा सहकार्य गरिनेछ।

कार्ययोजना र जिम्मेवारी: सम्बन्धित संघ/महासंघहरूले आ-आफ्नो खेल विधा र क्षेत्रमा स्पष्ट कार्ययोजना बनाउनेछन् र जिम्मेवारी तोक्नेछन्।

सार्वजनिक प्रतिबद्धता: सहभागी सबै संघ/महासंघहरूले आ-आफ्नो वातावरणमैत्री गाइडलाइन तथा प्रतिबद्धता पत्र छिट्टै सार्वजनिक गर्नेछन्।

नीतिगत कार्य र अनुसन्धान: स्वच्छ, हरित र जिम्मेवार खेलकुदका लागि नेपाल ओलम्पिक कमिटी (NOC), राष्ट्रिय खेलकुद परिषद (NSC) तथा सम्बन्धित निकायहरूसँग तालिम, अध्ययन अनुसन्धान र नीति (पोलिसी) निर्माणका लागि कार्य गरिनेछ।

जनचेतना अभिवृद्धि: सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूको अधिकतम प्रयोग गरी खेलकुद र वातावरणबारे चेतनामूलक कार्यक्रमहरू अगाडि बढाइनेछ।

वृहत् एकता: नेपालका सम्पूर्ण साना-ठूला खेलकुद संघ/महासंघहरूलाई यस हरित अभियानमा जोडिनका लागि खुल्ला आह्वान गरिनेछ।

सचिवालयको जिम्मेवारी: यस अभियानको सम्पूर्ण समन्वय र कार्य सञ्चालनका लागि अल्पाइन स्पोर्ट्स फेडेरेसन नेपाललाई सचिवालयको जिम्मेवारी दिने निर्णय गरिएको छ।

छलफलका क्रममा विश्वभरका खेलकुद महासंघहरूले वातावरणीय मुद्दामा खेलिरहेको भूमिका, नेपाली समाजमा खेलकुदको प्रभाव र 'क्लिन ग्रीन स्पोर्ट्स' मार्फत समृद्ध राष्ट्र निर्माणमा खेल क्षेत्रले पुर्‍याउन सक्ने योगदानबारे गहन विमर्श गरिएको थियो। खेलकुद क्षेत्र केवल प्रतिस्पर्धा र पदकमा मात्र सीमित नभई पृथ्वीको संरक्षण र आगामी पुस्ताको भविष्यप्रति पनि उत्तिकै जिम्मेवार हुनुपर्छ भन्ने सन्देश यस ऐतिहासिक भेलाले दिएको छ।

दिगो विकास, दिगो पर्यटन र उत्तरदायी समाज निर्माणका लागि यो कार्यक्राले सहयोग पुग्ने विश्वास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad