एएफसी एसियन कपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज हङकङसँग मैत्रीपूर्ण खेल खेल्दैछ। हङकङ स्टेडियममा हुने खेल साँझ पौने ६ बजे सुरु हुनेछ।
हङकङसँगको मैत्रीपूर्ण खेलअघि नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले घरेलु टोलीविरुद्ध जितका लागि मैदान उत्रने बताएका छन्। खेलअघिको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक रसले हङकङ टोलीलवाई आफुले राम्रो अध्ययन गरेको बताए।
करिब एक महिनाको कडा मेहनतबाट नेपाली टोली तयार रहेको प्रशिक्षक रसले बताए। उनले भने, ‘एसियन च्याम्पियन्सीप छनोटका लागि लाओसविरुद्धको खेल अघिको मैत्रीपूर्ण यो खेलले सकारात्मक उर्जा दिएको छ। मैत्रीपूर्ण खेलमा देखिएको कमजोरीलाई लाओसविरुद्धको खेलमा सुधार गर्नेछौँ।’
हाइ अल्टिच्युडमा केही समय अभ्यास गरेको नेपाली टोली हङकङ र लाओसविरुद्धको खेलका लागि तयार रहेको बताए। टोलीका कप्तान किरण चेम्जोङले हङकङसँगको मैत्रीपूर्ण खेल मात्र नभएर लाओसविरुद्धको उत्कृष्ट तयारी रहेको समेत बताए।
हङकङसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली एसियन छनोट खेल्न उतैबाट लाओस जानेछ।
Shares

प्रतिक्रिया