वर्षायाम नजिकिँदै गर्दा सङ्खुवासभामा सम्भावित बाढीपहिरो जस्ता प्राकृतिक विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास गरिएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा खाँदबारीस्थित टुँडिखेलमा आज नेपाली सेनाको इन्द्र दल गुल्म, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस र अग्नि नियन्त्रक टोलीले अभ्यास गरेको हो।
अभ्यासमा पहिरो गएको परिप्रेक्ष्यमा उद्धार, घाइतेको प्राथमिक उपचार, विस्थापितको व्यवस्थापन तथा राहत सामग्री वितरण प्रक्रिया समेटिएको थियो।
प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेलले भने, “यसवर्ष देशभर अधिक वर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्रमा बाढीपहिरोको जोखिम उच्च छ । यस्तो जोखिमलाई मध्यनजर गर्दै नागरिकको शीघ्र उद्धार तथा राहतका लागि पूर्वतयारी नमूना अभ्यास गरिएको हो।”
अभ्यासले सुरक्षा निकाय र सम्बन्धित निकायबीच समन्वय, सञ्चार र द्रुत प्रतिकार क्षमतामा सुधार हुने अपेक्षा गरिएको छ।
यद्यपि, विपद् व्यवस्थापन अझै पनि तीनै तहका सरकारको प्राथमिकतामा नपरेकाले स्थानीयस्तरमा आवश्यक स्रोतसाधन अभावका कारण विपद्का बबेला उद्धारमा कठिनाइ हुने जनाइएको छ। रासस
संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा पाँच वटा काठेपुल बाढीले बगाएको छ।
बुधबारको बाढीले भोटखोला वडा नम्बर १, २ र १, ३ जोड्ने धुङगोपा खोलाका दुई वटा काठेपुल बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।
बाढीले भोटखोला १ र ३ जोड्ने घङजुङमा खोलाको काठेपुल पनि बगाएको छ । भोटखोला १ र ३ जोड्ने छोकाङ खोला, भोटखोला १ र ३ जोड्ने माप्च्या खोलाको पुल पनि बगेको छ।
यसैबीच, केही दिन अघिको बाढीले भोटखोला गाउँपालिका–३ मा निर्माण भएका दुई वटा साना जलविद्युत् आयोजना बगाएपछि २५० घर विद्युत्विहीन भएका छन्।
बाढीले कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्डको हटिया र हुङहुङ सडक बगाएको छ। बाढीका कारण खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ। रासस
Shares

प्रतिक्रिया