ad ad

खेल


ओलम्पिक छनोटः नेपाल र भियतनाम भिड्दै

ओलम्पिक छनोटः नेपाल र भियतनाम भिड्दै

नेपालखबर
चैत २२, २०७९ बुधबार ९:४८, काठमाडौँ

पेरिस ओलम्पिक २०२४ को एशियाली छनोटको पहिलो चरण खेलमा नेपाल आज लियो टोली भियतनामसँग खेल्दैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ बजेदेखि सुरु हुनेछ। 

घरेलु मैदानमा हुने खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली उच्च मनोबलमा मैदान उत्रिनेछन्। 

समुह सी मा नेपाल र भियतनामसँगै अफगानिस्तान र प्यालेस्टाइन रहेपनि दुई टोलीले नाम फिर्ता लिएपछि यी दुई टोली मात्र भिड्न लागेका हुन्। 

राउण्ड रोविनमा हुने खेलको शीर्ष स्थानमा रहने टोलीले दोस्रो चरणमा स्थान पक्का गर्नेछ। 

फिफा वरीयताको १००औँ स्थानमा रहेको नेपाल विश्वकप खेल्ने तयारीमा रहेको भियतानमलाई हराउँदै अघिल्लो चरण पुग्ने योजनामा छ। भियतनामले आगामी जुलाइदेखि अष्ट्रेलिया र न्युजिल्याण्डमा हुने विश्वकप खेल्दैछ। महिला विश्वकप २० जुलाइदेखि २० अगष्टसम्म हुनेछ। भियतनाम अमेरिका, नेदरल्याण्ड र पोर्चुगल रहेको समुह ई मा छ। 

यता भारतसँगको दुई मैत्रीपूर्ण खेलपछि बन्द प्रशिक्षणमा रहेको नेपाली टोली उच्च मनोबलमा छ। 

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले भियतनामसँगको खेल आफूहरूका लागि ठूलो अवसर भएको बताएका छन्। उनले भने, 'हामी विश्वकप खेल्ने टोलीसँग खेल्दैछौँ। हाम्रो टोलीले मैदानमा राम्रो खेल्ने र सुखद नतिजाको अपेक्षा गरेको छु। गीता र प्रितीको अभाव टोलीमा हुने भएपनि उनीहरूको ठाउँ लिने अर्को राम्रो खेलाडी तयार गरेको छु।'

टोलीमा अन्य देश आएको भएपनि मुख्य प्रतिस्पर्धा भियतनामसँग नै हुने थियो र दुवै खेल जित्ने भएको उनले बताए। दोस्रो चरण पुग्ने रणनीतिअनुसार खेल्न लागेको उनले बताए।

टोलीकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाले भनिन्, 'हामी भियतनामसँग पहिलो पटक खेल्दैछौँ, मैदानमा गएपछि हार्ने भनेर खेलिदैन। हामी जित्नेछौँ। '

टोलीका नियमीत सदस्य डिफेन्डर गीता राना र मिडफिल्डर प्रिती राना चोटका कारण मैदानबाहिर छन्। आजको खेलमा उनीहरूको अभाव मैदानमा खड्कन सक्नेछ। टोलीकै अर्की भरपर्दी डिफेन्डर पुनम जर्गामगरले सन्यास लिएपछि उनको अभाव पनि टोलीमा पर्न सक्नेछ। 

यद्यपि चोटका लागि लामो समय मैदानबाहिर रहेकी पूजा रानाको पुनरागमनले भने नेपाली टोलीलाई केही राहत मिलेको छ। 

उमेर समुह र सिनियर टोलीको अनुभव बटुलिसकेकी अमिसा कार्कीले आजको खेलमा कस्तो प्रर्दशन गर्छिन् भन्ने कुराले पनि विशेष अर्थ राख्नेछ। 

यता फिफा वरीयताको ३३ औँ स्थानमा रहेको भियतनाम पनि घरेलु टोलीलाई रोक्दै दोस्रो चरणमा पुग्ने दाउमा  छ। 

बलियो टोली भियतनामले पनि नेपाललाई कमजोर ठानेको छैन। भियतानामका मुख्य प्रशिक्षक माइ डक चुङले भने, 'हाम्रो लागि नेपालसँगको खेल निकै महत्वपुर्ण छ। नेपाल राम्रो टोली हो, हामी यहाँ खेल्न मात्र आएका होइनौँ, प्रतिस्पर्धा गर्न आएका हौँ।'

सावित्रा भण्डारी (साम्बा) तर्फ इंगित गर्दै प्रशिक्षकले थपे, 'नेपालको जर्सी नम्बर ९ को खेलाडी एकदम राम्रो छ।'

टोलीकी कप्तान हुयुन्हु न्हुले वरीयतामा आफूहरूमाथि रहेपनि नेपाललाई सम्मान गरेर खेल्ने बताइन्। उनले थपिन्,'नेपालले भारतसँग राम्रो खेलेको थियो। नेपालका खेलाडीहरू राम्रा छन्। आफुहरूको समुहमा दुई टोली मात्र रहेकाले दुई खेलमा रणनिति फरक हुन सक्नेछ।'

नेपालले भियतनामसँगको दोस्रो खेल आगामी शनिबार दशरथ रंगशालामा नै खेल्नेछ। 

नेपाल यसअघि ओलम्पिक छनोटको दोस्रो चरणसम्म पुगेको थियो। सन् २०१८ को नोभेम्बरमा भएको पहिलो चरणको छनोटमा भारत, बंगलादेश र म्यानमारसँग एक एक गोलको बराबरी खेल्दै नेपाल दोस्रो चरणमा पुगेको थियो। 

एशियाली छनोटअन्तर्गत दोस्रो चरणमा नेपालले इन्डोनेसियालाई २–१ गोलले पराजित गरेपनि भारत र म्यानमारसँग समान ३–१ गोल अन्तरले पराजित भएपछि नेपालको ओलम्पिक खेल्ने सपना अधुरै रहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .