ad ad

खेल


लिगमा सर्वाधिक गोलकर्ताको रोमाञ्चक प्रतिस्पर्धा, कसले कति गोल गरे?

लिगमा सर्वाधिक गोलकर्ताको रोमाञ्चक प्रतिस्पर्धा, कसले कति गोल गरे?

लक्ष्मी जि.सी
पुस २८, २०७८ बुधबार ७:४७, काठमाडौँ

अन्तिम ५ चरणका खेल बाँकी रहँदा सहिद स्मारक ए डिभिजन लिग रोमाञ्चक बन्दै गएको छ।

उपाधि दौडमा शीर्ष टोलीहरू मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबलाई त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबसँग अन्य टोलीले पछ्याइरहेका छन्।

रेलिगेसन टार्न पुछारका टोलीहरुले पनि त्यस्तै प्रतिस्पर्धा गरिरहेका छन्। अंक तालिकाको पुछारबाट फ्रेन्ड्स क्लब पहिलो र च्यासल युथ क्लब दोस्रोमा छन्।

रेलिगेसनबाट माथि उठ्न यी दुई टोलीले संघर्ष गरिरहँदा अन्य क्लब अंक जोड्दै सुरक्षित हुन प्रयासमा छन्। 

अंक तालिकाको अवस्था अनुसार हरेक टोलीका फरक प्राथमिकता हुन्छन् नै। साथै लिगमा व्यक्तिगत प्रदर्शनको रोमाञ्चकता पनि आफ्नो ठाँउमा जारी छ। लिगका आधाभन्दा बढी खेल सकिएका छन्। ९१ मध्ये ५६ खेल सम्पन्न भइसकेका छन्। ३ खेल पोखरा रंगशाला र बाँकी सबै खेल दशरथ रंगशालामा भए। अबका बाँकी ३५ खेल नै दशरथ रंगशालामा हुने सम्भावना छ। 

लिग अघि बढ्दै जाँदा नयाँ तथ्याङ्क पनि बन्दै जान्छ। अहिलेसम्मका ५६ मध्ये २६ खेलमा जित हारको नतिजा निस्किँदा २० खेल बराबरी टुंगिएका छन्। बराबरीमध्ये पनि ११ खेलमा गोलरहित र ९ खेलमा गोलसहितको नतिजा निस्केको थियो। 

आठौँ चरण सकिँदासम्म ६३ खेलाडीले १०७ गोल गरेका छन्। त्यसमध्ये पहिलो हाफमा ४७ र दोस्रो हाफमा ६० गोल भए। तीमध्ये दुई विदेशी खेलाडीले मात्र ह्याट्रिक पूरा गरेका छन्। नेपाली खेलाडीले भने ह्याट्रिक पूरा गर्न सकेका छैनन्। 

मनाङका अफिज ओलावाले पोखरामा च्यासलविरुद्ध र त्यसअघि सातदोबाटो युथ क्लबका अजायी मार्टिन्सले एपिएफ फुटबल क्लबविरुद्ध ह्याट्रिक पूरा गरेका थिए। 

गोल गर्ने खेलाडीको संख्याका बारेमा चर्चा गरिरहँदा सर्वाधिक गोलकर्ता को बन्ला भन्ने कौतुहल  स्वभाविकरुपमा हुने नै भयो। अहिलेसम्मको अवस्थामा मनाङका ओलावाले र मछिन्द्रका सुनिल बल सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन्। उनीहरुलाई अजायी मार्टिन र आशिष लामाले समान ४ गोल गरेर पछ्याइरहेका छन्। 

जारी लिगमा निरज बस्नेत, सुमन लामा, रुमेश बर्तौला, मुताम्बा सिस्टोन, उत्तम राई, विकी तामाङ, मेसुके ओलुमोउ, निकोलस फर्नान्डेज, अन्जन विष्ट र दिनेश राजवंशीले समान ३ गोल गरेका छन्। 

अफिज ओलावाले, मनाङ (५ गोल) 
मनाङ फरवार्ड अफिज ओलावाले जारी लिगमा ५ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन्। टोलीका ८ मध्ये ७ खेलमा ओलावालेले पूरै ९० मिनेट मैदानमा बिताए। उनले ७ मध्ये ३ खेलमा गोल गरेका थिए। संकटा क्लब र नेपाल पुलिस क्लबसँगको खेलमा पँहेलो कार्ड पाएका ओलावालेलेले मछिन्द्र क्लबसँगको खेल भने गुमाएका थिए। 

उनले हिमालयन शेर्पा र फ्रेण्ड्स क्लबसँगको खेलमा निर्णायक गोल गरे। पोखरामा आठौँ चरणको खेलमा टोलीले च्यासल ५–० ले पराजित गर्दा उनले ह्याट्रिक पूरा गरेका थिए। ओलावाले जारी लिगमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी हुन्। उनले लिगमा ५ गोलसहित च्यासलसँगको खेलमा १ गोलमा असिष्ट गरेका छन्।  

सुनिल बल, मछिन्द्र क्लब (५ गोल)
साबिक विजेता मछिन्द्र क्लबका फरवार्ड सुनिल बल सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा छन्। लिगको पहिलो खेलमा न्युरोड टिमलाई २–१ गोल अन्तरले पराजित गर्दा दुवै गोल सुनिलले गरेका थिए। चौथो चरणमा हिमालयन शेर्पालाई ३–० ले पराजित गर्दा उनको नाममा एक गोल रह्यो । छैटौँ चरणमा सुनिल कै निर्णायक गोलमा मछिन्द्रले मनाङलाई १–० ले हराएको थियो।

सातौँ चरणमा पनि पुलिसविरुद्ध एक मात्र गोेल सुनिलले नै गरेका थिए। टोलीले खेलका ८ खेलमै उनले खेलका छन्। जसमध्ये ६ खेलमा उनले पुरै ९० मिनेट मैदानमा बिताए। जावलाखेल युथ क्लबमा भने २० मिनेट र हिमालयन शेर्पाविरुद्ध ७४ मिनेट मैदानमा बिताएका थिए। 

अजायी मार्टिन्स, सातदोबाटो युथ क्लब (४ गोल) 
सातदोबाटो युथ क्लबका फरवर्ड अजायी मार्टिनले लिगमा ८ मध्ये ७ खेल खेले। सात खेलमा ४ गोल गरेका मार्टिन्स सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा छन्। नेपाल एपीएफ फुटबल क्लबलाई सातदोबाटोले ४–१ ले पराजित गर्दा उनले ह्याट्रिक गरेका थिए।

जारी लिगमा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी हुन्। अर्को गोल उनले त्रिभुवन आर्मीविरुद्ध गरेका थिए। थ्रीस्टार क्लब र हिमालयन शेर्पा क्लबसँगको खेलमा पहेँलो कार्ड पाएका मार्टिनले संकटा क्लबविरुद्धको खेल गुमाएका थिए। मार्टिन्सको नाममा एक असिष्ट पनि रहेको छ। 

आशिष लामा, नेपाल एपीएफ फुटबल क्लब (४ गोल)

नेपाल एपीएफ क्लबका फरवार्ड आशिष लामाले लिग चरणको आठौँ खेल सकिँदा ४ गोल  गरेका छन्। उनी संयुक्त रुपमा सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा छन्।  सबै खेलमा सुरुवाती रोजाइमा मैदान उत्रिएका आशिषले लिगको पहिलो खेलमा नै ब्रिगेड ब्वाइज क्लबविरुद्ध गोल गरेका थिए। 

लिगको पाँचौ चरणमा फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराउँदा उनले दुई गोल आफ्नो नाममा गरे। एनआरटीसँग ३–३ को बराबरी भएको खेलमा उनले एक गोल र एक गोलमा असिष्ट दिएका थिए। 

आशिषले फ्रेन्ड्ससँगको खेलमा ८६ र त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध ८८ मिनेट मैदानमा बिताएका थिए। बाँकी खेलमा उनी पूरै समय मैदानमा छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .