खेल


खेलकुद मन्त्रीको खटाइ : मन्त्रालयमा भन्दा बढी रंगशालामा

खेलकुद मन्त्रीको खटाइ : मन्त्रालयमा भन्दा बढी रंगशालामा

यज्ञराज जोशी
कात्तिक २४, २०७६ आइतबार ११:१४,

आइतबार दिउँसो त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुग्दा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) भर्खरै जडान गरिएको रातो कुर्सीमा बसेर त्यहाँ जारी निर्माण कार्य नजिकबाट नियालिरहेका थिए।

रातोलाई खतराको संकेत मानिन्छ। रातो कुर्सीमा बस्नु संयोग हुन सक्छ। तर, त्यसको सांकेतिक अर्थझैं यतिबेला नेपाली खेलकुदको बागडोर सम्हालिरहेका विश्वकर्मामाथि पनि साग समयमै गर्न नसक्ने हो कि? भन्ने खतराको बादल मडारिइरहेको छ।

मंसिर १५ देखि २४ गतेसम्म नेपालमा २७ खेलसहित दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण आयोजना हुँदैछ। दक्षिण एसियाली खेलकुदको यो महाकुम्भ नेपालले आयोजना गर्ने सबैभन्दा ठूलो खेलकुद ‘इभेन्ट’ हो।

सन् २०१६ मा भारतको गुवाहटीमा भएको १२औं सागको समापन समारोहमा नेपालले आयोजनाको झण्डा प्राप्त गर्ने क्रममा दुई वर्षभित्र नेपालमा १३औं साग आयोजना गरिसक्ने प्रतिबद्धता जनाएको थियो। त्यसअनुसार अघिल्लो वर्ष नै साग आयोजना भइसक्नुपर्ने हो। तर, तेस्रोपटक मिति सारेको नेपाललाई मंसिर १५ मा जसरी पनि साग उद्घाटन गर्नैपर्ने बाध्यता छ। 

jagat 10
तेस्रो पटक सरिसकेको साग यसपटक जसरी पनि आयोजना गर्ने सरकारले प्रतिवद्धता जनाएको छ। तस्बिर: स्नेहा केसी।

पटकपटक सरेको साग अब एकदिन पनि सार्ने छुट नेपाललाई छैन। यो समयमा पनि आयोजना गर्न नसक्दा देशकै असक्षमता उदांगो हुनेछ र प्रतिष्ठामै आँच आउनेछ। अर्कातिर सन् २०२० मा जापानमा विश्व खेलकुदको महाकुम्भ ओलम्पिक आयोजना हुँदैछ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले ओलम्पिक हुने वर्षमा कुनै पनि क्षेत्रीय प्रतियोगिता आयोजनाको स्वीकृति दिँदैन। त्यसकारण पनि सन् २०१९ भित्रै यही मितिमा साग आयोजना गर्नै पर्नेछ।

त्यसैले सरकारले शनिबार काठमाडौंमा बसेको दक्षिण एसियाली ओलम्पिक कमिटीका अध्यक्षहरू सहभागी बोर्ड बैठकमा जसरी पनि निर्धारित समयमै साग आयोजना गर्ने प्रतिबद्धता दोहोर्‍यायो। उक्त बैठकमा उपस्थित मन्त्री विश्वकर्माले सबैलाई मंसिर पहिलो साताभित्र भौतिक पूर्वाधारका सम्पूर्ण काम सम्पन्न हुनेमा विश्वस्त हुन आग्रह गरे।

निर्धारित मितिमा साग आयोजना हुँदैन कि भन्ने आशंका बाँकी रहनाको प्रमुख कारण उद्घाटन र समापनस्थल दशरथ रंगशालाको निर्माण कार्य अझै पनि नसकिनु हो। यही आशंका नरहोस् र मंसिर १५ मा सागको उद्घाटन सुनिश्चित होस् भनी मन्त्री विश्वकर्मा केहि दिनयता बिहान सबेरैदेखि राति अबेरसम्म रंगशालामै खटिइरहेका छन्।

‘पछिल्लो अवधिमा निर्माण काममा लाग्दालाग्दै पनि बाँकी दिनहरू क्रमशः घट्दै जाँदा अलि समयमै काम भ्याइँदैन कि भन्ने आशंका देखियो। त्यसैले अहिले हामी आफैं निर्माणस्थलमैं खटिइरहेका छौं,’ आइतबार दिउँसो रंगशालामै भेटिएका मन्त्री विश्वकर्माले नेपालखबरसँग भने।

मन्त्री खट्दाको प्रभाव

jagat 13 2
मन्त्री आफै कार्यस्थलमा खटिदा कामले गति पाएको छ। तस्बिर: स्नेहा केसी।

रंगशालामा दिउँसोको घाम चर्किएको छ। पूर्वतर्फको साधारण प्यारापिटमाथि टिनको छानो राखिएको छ। त्यही छानाको ओतमुनि भर्खरै जडान गरिएको रातो रङका कुर्सीमा मन्त्री विश्वकर्मा बसेका छन्। ठीकअघि रहेको भीआईपी प्यारापिट (पश्चिम) मा उनका आँखा सोझै ठोक्किन्छन। जुन प्यारापिट नै केहि दिनयता मन्त्री विश्वकर्माको टाउको दुखाइको विषय बनेको छ।

दशरथ रंगशालामा यही भीआईपी प्यारापिटको काम अहिलेसम्म नसकिएको हो। यसको छानो अझै चीनमै छ। मन्त्रीका अनुसार सो छानो बुधबार एयर कार्गोमार्फत नेपाल आइपुग्नेछ। त्यसैले १९ वटा खम्बा भीआईपी प्यारापिटमा ठड्याइएको छ। सुन्धारा–त्रिपुरेश्वर खण्ड दिउँसो निकै व्यस्त हुने भएकाले रातिको समयमा काम गरियो। 

निर्माण कम्पनीलाई काम गर्दा कुनै बाधा–अप्ठेरो आए त्यसलाई तत्कालै फिल्डबाट प्रत्यक्ष सहयोग, समन्वय गर्न मन्त्री आफैं राति अबेरसम्म रंगशालामै खटिएका हुन्। त्यसले परिणाम पनि देखाउन थालेको छ। बिहीबारसम्म पाँचवटा मात्रै खम्बा ठड्याइएको थियो। तर, शुक्रबार मन्त्री रातभर बसेपछि थप आठ खम्बा ठडिए। बाँकी छ खम्बा तयार नभएसम्म आइतबार रातिसम्म उनी रंगशाला मैं खटिइरहेका थिए।

jagat 29
दशरथ रंगशालामा भीआइपी प्याराफिटको छानो राख्ने मुख्य काम अझै बाँकी छ। तस्बिर: स्नेहा केसी।

‘अग्लो प्यारापिटमा खम्बा ठड्याउन कतिपय बेला क्रेनले भ्याउँदैनथ्यो। त्यसबेला अपरेटरहरू हुँदैन, सकिँदैन भन्ने निष्कर्षमा पुगिहाल्थे,’ राति अबेरसम्म रंगशालामा बस्नाको कारणबारे मन्त्रीले सुनाए, ‘यो छेउबाट भएन भने अर्को छेउबाट प्रयास गरौं न भनेर सुझाब दिँदा काम नरोकिने वातावरण बनेको छ। हामी जसरी यो काम समयमै सम्पन्न गर्न सकिन्छ भनि विभिन्न विकल्प सोँचिरहेका हुन्छौं। त्यति ध्यान उनीहरूको नपुगेको हुनसक्छ। त्यसैले हामी बस्दा उनीहरूलाई साथ र हौसला थपिइरहेको हुन्छ।’

भीआईपी प्यारापिटको अघिल्लोतर्फको दोस्रो खम्बा ठड्याउने बेला त्यस्तै समस्या देखियो। क्रेन अपरेटरले उत्तर पश्चिमतर्फबाट उक्त खम्बा ठड्याउन नभ्याएपछि यो मिल्दैन, सकिँदैन भन्ने निष्कर्षमा पुगे। तर, मन्त्री विश्वकर्माले नै यताबाट भ्याइँदैन भने बाटोबाट गर्दा हुन्छ होला, त्यताबाट गरौं भन्ने सुझाव दिए। अन्ततः बाटोबाट त्यो खम्बा ठडियो।

matri at raatiराति अबेर रंगशालामा खटिएर निर्माण कार्य नियाल्दै मन्त्री विश्वकर्मा, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायत

बुधबार नेपालमा छानो आइपुग्ने तयारी भएकोले आइतबार रातिसम्म सबै १९ वटै खम्बा ठड्यााइसकिएको छ। त्यसको ४ दिनपछि चिनियाँ प्राविधिकहरू नै आएर छानो फिट गर्ने र मंसिर ५ गतेभित्र रंगशालाका सम्पूर्ण काम सकिनेमा मन्त्री विश्वस्त देखिए।

त्यसबाहेक राति बाटो बन्द गरी काम गर्ने वातावरण मिलाइदिन ट्राफिकसँगै सोझै आफैंले कुरा गर्ने, विद्युत आपूर्ति रोकिएमा तत्काल व्यवस्था गर्ने, प्रशासनिक जटिलतालाई फोनकै माध्यमबाट सहजीकरण गरिदिने, केहि त्रुटिहरू देखिएमा तुरुन्त सँच्याउन लगाउने र बजेटलगायतका लागि पहल गर्ने लगायतका काम समेत मन्त्री विश्वकर्माले फिल्डबाटै गर्दै आएका छन्।

jagat 7
मन्त्री निर्माणस्थलमै हुँदा निर्माण कम्पनीले पनि प्रशासनिक र अन्य काम तत्काल सम्बोधन भएको महशुस गरेको छ। तस्बिर: स्नेहा केसी।

‘यो धेरै ठूलो कुरा त हैन तर नजिकबाट हेर्दा यस्ता कुराले पनि बाधा–अड्चन ल्याउनेरहेछ,’ फिल्डको अनुभव मन्त्री विश्वकर्माले सुनाउँदै भने, ‘हामीले काम गर्ने वातावरण बनाइदियौं। समस्याका गाँठा फुकाइदिँदा काममा तीव्रता र गति देखिएको छ।’

त्यसका केही उदाहरणहरु आइतबार पनि देख्न सकिन्थ्यो। शुक्रबार अबेर रातिसम्म काम गरेका क्रेन अपरेटर (ईन्द्र श्रेष्ठ) को शनिबार दिउँसो घर गएका बेला एक्कासि हृदयाघातका कारण निधन भयो। त्यसपछि ठेकेदारले आइतबार नयाँ क्रेन अपरेटर खोजेर ल्याएका थिए। तर, उनीहरूबीच सम्झौता भइनसकेकाले आइतबार दिउँसोसम्म काम अघि बढ्न सकेको थिएन। त्यो कुरा मन्त्री विश्वकर्माले थाहा पाएपछि उनले तत्काल राखेपकै वकिललाई आवश्यक कानुनी प्रक्रिया मिलाइदिन निर्देशन दिए। दुवै पक्ष खुसी हुँदै काममा फर्किए।

matri at raati2
कबड्डी संघकी अध्यक्ष तुलसा थापा खेलस्थलबारे मन्त्रीलाई रंगशाला परिसरमै गुनासो राख्दै। तस्बिर: यज्ञराज जोशी।

त्यस्तै खेलस्थलको समस्या परेको भन्दै नेपाल कबड्डी संघकी अध्यक्ष तुलसा थापा चिन्तित मुद्रामा मन्त्री गुहार्न रंगशालामै पुगेकी थिइन्। मन्त्री विश्वकर्माले सशस्त्र प्रहरी बलको खेलस्थल उपलब्ध गराइदिनेमा आश्वस्त पारेपछि सांसद थापा ढुक्क भएर फर्किइन्।

बीचबीचमा विभिन्न फाइल बोकेर आएका राष्ट्रिय खेलकुद परिषद् तथा मन्त्रालयका कर्मचारीलाई पनि मन्त्रीले आवश्यक प्रक्रिया पूरा गरेर पठाइरहेका थिए।

ढिलो ब्युँझिएका मन्त्री

Untitled 233457 copy
कतिले मन्त्रीले ढिलो गरि सक्रियता देखाएको बताएका छन्। तस्बिर: स्नेहा केसी।

समय छँदै काम सम्पन्न गर्न नतातेको र पछिल्लो हप्ता आफैं रंगशालामा खटिएर सक्रियता देखाएका  मन्त्री विश्वकर्मालाई धेरैले ढिला गरी ब्युँझिएका मन्त्रीको संज्ञा दिएका छन्। ‘कमसेकम डेढ–दुई महिनाअघि मात्रै मन्त्रीज्यूको आँखा यसैगरी खुलेको भए आज साग हुने-नहुने आशंका नै रहने थिएन,’ राखेपका एक कर्मचारीले भने।

तर, विश्वकर्माले भने विगतका सरकारले कामलाई तीव्रता नदिएको र आफू आएपछि मात्र पूर्वाधारहरू निर्माण गर्दै यहाँसम्म आइपुगेको दाबी गरे।

‘तीनवर्ष अघि नै साग आयोजनाको जिम्मेवारी पाइसकेपछि पूर्वाधार निर्माणलाई त्यतिबेलै देखि योजनाबद्ध र तीव्ररुपमा अघि बढाउनुपथ्र्यो। तर त्यसो गरिएन,’ उनी भन्छन्, ‘वर्तमान सरकार गठनपछिको डेढ वर्षको अवधिमा यी पूर्वाधारले गति पाएका हुन्।’

तर, उनी मन्त्रालयमा आएपछि पनि कामले पर्याप्त गति लिन सकेको थिएन। उनी २०७४ चैतमा खेलकुद मन्त्री बनेका हुन्। त्यसको एक वर्षपछि २०७५ फागुनमा पूर्वाधारै नबनेका कारण साग तेस्रोपटक सारिएको हो। उनले उक्त एक वर्षसहित झन्डै डेढ वर्ष सागको कामलाई तीव्रता दिन सकेनन्।

यो पनि: रुविना क्षेत्री: आमाले हुर्काएकी स्टार 

यो पनि- अप्सरी अठोट: अब निर्धक्क क्रिकेट खेल्छ

मन्त्री विश्वकर्माले भने काम गर्दागर्दै पनि समय नपुगेपछि अहिले रातदिन काम गर्नुपरेको उनले बताए।

‘हाम्रो ध्यान नपुगेको हुँदैहैन। हामी लागि नै रहेका थियौं। काम गर्दै जाँदा सागको उद्घाटनको मिति नजिकियो। समय केहि छोटो भयो। त्यसैले नै अहिले हामी आफै फिल्डमा खटिएर अहिलेको कामलाई दोब्बर गतिमा अघि बढाउनुपरेको हो,’ मन्त्री विश्वकर्माले भने।

जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम नगर्दा पटक पटक म्याद थपिएको थियो। त्यतिगर्दा पनि मन्त्री विश्वकर्मा भने निर्माण कम्पनीलाई मात्रै दोष दिने पक्षमा देखिएनन्।

‘निर्माण काम यति समयमा नसकिने थिएन। निर्माण कम्पनीले तोकिएको समयमा गर्न सक्नुपर्ने हो,’ उनले भने, ‘तर म निर्माण कम्पनीलाई पनि धेरै दोष दिन्न। निर्माण सामाग्री बाहिरबाट ल्याउन पर्ने, नियम, कानुन प्रशासनिक झमेला, निर्माण सामाग्रीहरु समयमै पाउने नपाउने, पहिलेकै देखिकै काम गर्ने संस्कृति लगायतले काममा ढिलोसुस्ती भएको छ।’

राज्यलाई आर्थिक भार

jagat 4
समयमै काम नभई फास्ट ट्याकबाट काम गर्दा राज्यलाई लाखौं आर्थिक भार पर्ने देखिएको छ। तस्बिर: स्नेहा केसी।

सागका कामहरु नियमित प्रक्रियाबाट नसकिएपछि अहिले सरकारले हरेक काम फास्ट ट्रयाकबाट गर्दा राज्यलाई प्रत्यक्षरुपमा व्ययभार थपिएको छ।

यदि समयमै प्यारापिटको छानो चीनबाट समुन्द्रीमार्ग हुँदै आइपुगेको भए निर्माण कम्पनीले नै त्यसको सम्पूर्ण व्ययभार बेहोर्ने थियो। तर, अन्तिम समयमा सरकारकै आग्रहमा निर्माण कम्पनीले एयर कार्गो गरेर छानो काठमाडौं ल्याउदैँछ। त्यसको खर्चमा सरकारले सहयोग गर्ने बताएपछि एयरकार्गो गरेर छानो ल्याउन लागिएको नेपाली ठेकेदार उपेन्द्र बमले दाबी गरे।

यो पनि: च्याम्पियनलाई एक मौका नै काफी

यो पनि: कलिलै उमेरमा दीपेन्द्रले हासिल गरेको लोभलाग्दो उचाइ

तर, मन्त्रीले भने कार्गोबाट आउने छानोको पैसाबारे निर्माण कम्पनीले आफूहरुसँग कुरा नगरेको र आफूहरुले पनि उनीहरुसँग कुरा नगरेको बताए। ‘निर्माण कम्पनीको समयमै काम सक्ने दायित्व हो। त्यही दायित्व नै हामीले उनीहरुलाई सम्झाइदिएका मात्रै हौं,’ मन्त्री विश्वकर्माले भने।

यस्तै समय कम भएपछि सरकारले टेण्डर प्रक्रियाबाट समान खरिद गर्न नसक्ने अवस्था बन्यो। अन्तिम समय भएपछि कराडौंको खेलसामग्री, पोशाक लगायतका सामान खरिद समेत प्रत्यक्ष वार्ताको प्रक्रियाबाट ल्याउन मन्त्री परिषद्ले समेत स्वीकृति दिइसकेको छ।

‘हामी अहिलेको बजार मूल्यभन्दा कम मूल्य पर्ने सुनिश्चित भएपछि खेल सामग्री किन्छौंं,’ उनले भने, ‘ढिलाईका कारण एक रुपैयाँ पनि थप व्ययभार नपर्ने र सुशासनको कोणबाट प्रश्न नउठ्ने गरि काम सम्पन्न गर्न मैले निर्देशन दिएको छु र अनुगमन पनि गरिरहेको छु।’

मन्त्री फेरिने हल्ला र सक्रियता 

jagat 12मन्त्री रंगशालामै भेटिने भएपछि मन्त्रालयका फाइलहरु समेत रंगशालामै आउने गरेका छन। तस्बिर: स्नेहा केसी।

सरकारले मन्त्री हेरफेरको चर्चा भइरहँदा खेलकुद मन्त्री विश्वकर्माको पनि समग्र कार्यसम्पादन सन्तोषजनक छैन। धेरैले उनी पनि फेरिने अनुमान गरिरहँदा मन्त्री विश्वकर्मा भने साग खेलको तयारीकै मौका पारेर एकाएक सक्रिय भएका छन्। सोहीकारण रंगशालामै बसेर काम गरेजस्तो देखाई मन्त्री पद जोगाइराख्ने दाउमा उनी रहेको समेत धेरैको अनुमान छ।

तर, विश्वकर्मा भने पदभन्दा पनि व्यक्तिको भूमिका ठूलो भएको बताउछन्। ‘सायद म रंगशालामा व्यस्त भएकाले होला क्याबिनेट फेरबदल बारे मैले मेसो पाएको छैन,’ उनको दाबी थियो, ‘मेरो भूमिका आवश्यकता हुँदा म रहिरहने कुरा हो। यो ठाउँमा अरु कसैको भूमिकाको आवश्यकता हुँदा म नरहन सक्छु। व्यक्तिभन्दा भूमिका ठूलो कुरो हो। जो व्यक्ति रहँदा राम्रो हुन्छ, काममा तीव्रता प्राप्त हुन्छ। मेरा लागि व्यक्ति पदमा रहने नरहने कुरा गौण हो।’

डेढ वर्ष मन्त्री हुँदा उनका पालामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेश ५ मा सम्पन्न भयो। त्यसबेला नेपालगञ्ज रंगशाला, त्यही परिसरमा पौडी पोखरी, बाँकेको खजुरामा भलिबल कोर्ट, जुडो हल, फेन्सिङ हल, भारोत्तोलन हल लगायतका पूर्वाधारहरु बने। यस्तै सागका लागि ललितपुरमा कराँते र तेक्वान्दो हल, आर्चरी हल, स्वीमिङ पुल लगायतको पूर्वाधार निर्माण भए।

jagat main
समग्रमा मन्त्री विश्वकर्माको कार्यसम्पादन सन्तोषजनक छैन। तस्बिर: स्नेहा केसी। 

उनकै पालामा नेपालमा एउटै खेलका दुई संघहरु रहने अवस्थाको पनि लगभग अन्त्य भयो। तेक्वान्दो बाहेक एक दर्जन संघहरुको एकतामा पनि उनको सक्रियता देखियो। नयाँ राष्ट्रिय खेलकुद विकास ऐन बन्नु उनको पालामा भएको अर्को महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ। उक्त ऐन संसदीय समितिबाट पारित भएर संसद सदनमा पुगेको छ। आउने संसद अधिवेसनले त्यो पारित गरेपछि खेलकुद क्षेत्रका धेरै समस्या समाधान हुने उनको विश्वास छ।

‘अहिलेको खेलकुदमा देखिएका समस्याहरु, हामीले निभाउनुपर्ने दायित्व र अभिभाराहरु अझै बाँकी छन्। अहिलेसम्मको काम गराईबाट म आफैँपनि पूर्ण सन्तुष्ट छैन,’ उनले भने, ‘कानुनी राज्यमा सबै कुराहरु ऐन नियमअनुसार व्यवस्थित होस् भनेर राष्ट्रिय खेलकुद विकास ऐन संसदमा पुर्‍याइएको छ। संसदबाट त्यो ऐन पारित भएपछि धेरै समस्याहरु विधिपूर्वक व्यवस्थित हुनेमा म विश्वस्त छु।’

यो पनि: ‘क्रियटिभ’ क्रिकेटर ज्ञानेन्द्र

यो पनि: सीताको समर्पणः दुलही शृंगार नउत्रिँदै मैदानमा

यो पनि- अप्सरी अठोट: अब निर्धक्क क्रिकेट खेल्छ

यो पनि: सिर्जना जोशी: क्रिकेटकी कुशल व्यवस्थापक

यो पनि- क्यान विवाद सुल्झाउन पर्दा पछाडि खटेका राजेश्वर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad