कोशी


निर्वाचन बिथोल्न सांसदहरूले गुटबन्दी गरेको रास्वपा उम्मेदवारको आरोप

निर्वाचन बिथोल्न सांसदहरूले गुटबन्दी गरेको रास्वपा उम्मेदवारको आरोप

कार्यवाहक सभापति सरिन तामाङ


नेपालखबर
जेठ २७, २०८३ बुधबार २१:३७, विराटनगर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोसी प्रदेश अधिवेशनको बन्द सत्रमा नेतृत्व चयनको रस्साकस्सी चलिरहँदा आन्तरिक विवाद र असन्तुष्टि छताछुल्ल भएको छ। नयाँ नेतृत्व चयनका लागि मतदानको प्रक्रिया अघि बढ्दै गर्दा वर्तमान कार्यवाहक सभापति सरिन तामाङले पार्टीका सांसद (माननीय) हरूमाथि निर्वाचन बिथोल्न र गुटबन्दी बढाउन लागिपरेको गम्भीर आरोप लगाउँदै आक्रोश पोखेकी छन्।

​अधिवेशनको हललाई सम्बोधन गर्दै कार्यवाहक सभापति तामाङले चुनावी मैदानमा देखिएको विकृत राजनीतिको कडा प्रतिवाद गरिन्।

लोकतान्त्रिक पद्धतिअनुसार हुने चुनावी परिणामलाई आफूले सहर्ष स्वीकार गर्ने स्पष्ट पार्दै उनले प्यानल नै बनाएर निर्वाचनमा हस्तक्षेप नगर्न चेतावनी दिएकी छन्। कसैको ओत लागेर वा काँधमा चढेर आफूले राजनीति नगरेको भन्दै उनले सबै आकांक्षीहरूलाई स्वतन्त्र रूपमा चुनाव लड्न दिन आह्वान गरिन्।

उनले आफूले कुनै पनि माननीयहरूलाई साथमा लिएर वा उनीहरूलाई बोकेर हिँड्ने र भोट माग्ने काम नगरेको दाबी गरिन्।

‘म आफू पनि साधारण रूपमा ‘म पनि छु है’ भन्दै चुनावी मैदानमा होमिएको छु’ उनले भनिन्, ‘कोही सांसदहरूले सिंगो प्यानल नै बोकेर हिँडेको र संगठनभित्र भाँडभैलो मच्चाउन खोजेको देखेकि छु।’  

एउटा निश्चित व्यक्ति वा प्यानललाई मात्र काखि च्यापेर संगठन भत्काउन खोज्ने त्यस्ता माननीयहरूलाई भोलिका दिनमा कोसी प्रदेशमा निषेध गर्ने उनको चेतावनी थियो।

​जनप्रतिनिधिहरूको भूमिकामाथि प्रश्न उठाउँदै तामाङले जनताले अधिकार र न्यायको आवाज उठाउनका लागि संसद् भवनमा पठाएको स्मरण गराइन्। सांसदहरूलाई आफ्नो मर्यादा र दायराभित्र बस्न सचेत गराउँदै उनले संगठन बिथोल्ने काम बन्द गर्न आग्रह गरिन्। 

उनले भनिन्, ‘माननीयहरूलाई आफ्नो ठाउँमा बसेर सकेसम्म सबै उम्मेदवारहरूलाई मिलाएर अघि बढाउन तर कुनै एउटा प्यानलको पक्षमा नलाग्नुहोला।’

आफ्नो कुनै गुट वा प्यानल नभएको र आफू एक्लै सभापति पदका लागि चुनावी प्रतिस्पर्धामा होमिएको उल्लेख गर्दै उनले लोकतान्त्रिक पद्धतिबाट जो जितेर आए पनि स्वीकार गर्ने बताइन्। कोसी प्रदेशमा कुनै पनि हालतमा गुटबन्दी हुन नदिने आफ्नो दृढ उद्देश्य रहेको भन्दै उनले निर्वाचनका नाममा हुने विकृतिको डटेर सामना गर्ने दावी गरिन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोसी प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बन्द सत्र पछि मतदानको प्रक्रिया अघि बढ्न सकेको छैन। ६१ सदस्यीय नयाँ प्रदेश समिति चयनका लागि मतदान हुँदैछ। सभापतिको लागि चार जना उम्मेदवारहरू मैदानमा उत्रिएका छन्। मोरङका चन्द्र बहादुर राई, तेह्रथुमका डा खगेन्द्र कटुवाल, झापाका चन्द्र बहादुर गौली र सुनसरीकी वर्तमान कार्यवाहक सभापति गोमा तामाङबीच प्रतिस्पर्धामा छन्।

मोरङको विराटचोकस्थित जेसिस भवनमा भइरहेको अधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहको पक्षबाट चन्द्र बहादुर राईलाई सभापति बनाउन दबाब सहितको निर्देशन आएको भन्दै हल्ला चलाइएपछि आन्तरिक विवाद शुरू भएको छ। बालेन निकट मानिने रास्वपाका महामन्त्री भुदेव शाह मंगलबारदेखि नै अधिवेशन स्थलमा सक्रिय रूपमा खटिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad