कारोबार


आधा दर्जन विदेशी एयरलाइन्सले नेपालमा उडान भर्दै

आधा दर्जन विदेशी एयरलाइन्सले नेपालमा उडान भर्दै

सीबी अधिकारी
कात्तिक २४, २०७६ आइतबार ११:१०,

नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा नेपालमा आधा दर्जन विदेशी वायु सेवा प्रदायक कम्पनीले उडान भर्ने तयारी गरेका छन्।

 नेपाल गन्तव्यमा उडान विस्तारका लागि भारतका दुई, कुवेत, फिनल्यान्ड र अष्ट्रेलियाको एक÷एक वायु सेवा प्रदायकले उडान भर्न लागेका हुन्।

भारतको स्पाइस जेट एयरलाइन्स र भिस्तारा एयरले नेपालमा उडान भर्नका लागि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाइसकेको छ भने कुवेतको जजिरा एयरवेजले पनि नेपाल उडानका लागि स्वीकृति लिएको छ। स्पाइस जेटले काठमाडौँ–नयाँ दिल्ली–मुम्बई र भिस्ताराले काठमाडौँ–नयाँ दिल्ली रुटका लागि दैनिक एक–एक उडान गर्ने अनुमति पाएका छन्।

जजिराले मंसिर १ गतेदेखि उडान भर्ने

कुवेतको जजिरा एयरले अगामी मंसिर १ गते (नोभेम्बर १७, सन् २०१९) देखि नेपालमा उडान भर्ने भएको छ। जजिराको उडान तालिका निश्चित भएको नियामक निकाय प्राधिकरणले जनाएको छ।

भारतका दुई कम्पनीले डिसेम्बर महिनाको दोस्रो सातादेखि नेपालमा उडान भर्नेछन्। ‘कुवेतको जजिरा एयरको उडान तालिका बनिसक्यो, भारतका दुई स्पाइस जेट र भिस्ताराको सम्बन्धमा कागजात अध्ययनको क्रममा छ, कागजी प्रक्रिया सकेर भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्लटको तालिका बनाएपछि डिसेम्बरको मध्यतिर उडान शुरु हुन्छ’, प्राधिकरणका एक उच्च अधिकारीले भने।

विदेशी वायु सेवा प्रदायक कम्पनीले नेपालबाट उडान गर्नुपर्दा दुई देशीय हवाई सम्झौताबमोजिम शुरुमा पर्यटन मन्त्रालयलाई निवेदन दिनुपर्ने हुन्छ, मन्त्रालयको स्वीकृतिपछि मात्र मन्त्रालय मातहतको नियामक निकाय प्राधिकरणले उडान अनुमति दिने प्रावधान छ। विदेशी एयरलाइन्सले नेपालमा उडान विस्तार गरेसँगै भ्रमण वर्षको अवधिमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास लिइएको छ। सरकारले भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०१९ मा १२ लाख हाराहारी बाह्य पर्यटक नेपाल भ्रमणमा आएका थिए। अध्यागमन विभागको पछिल्लो तथ्यांकअनुसार सन् २०१९ को १० महिनाको अवधिमा १० लाख पर्यटक नेपाल भित्रिएका छन्।

दिल्ली–काठमाडौँ उडान गर्दै आएको जेट एयरवेजले कम्पनीमा वित्तीय समस्या आएको भन्दै गत वैशाखमा उडान बन्द गरेको थियो। उक्त एयरवेजको उडान बन्द भएपछि काठमाडौँ–दिल्ली रुटको हवाई भाडा महँगिएको थियो। थपिएका नयाँ जहाजको उडानले हवाई भाडासमेत घट्ने अपेक्षा गरिएको छ।

काठमाडौँ–नयाँदिल्ली गन्तव्यमा अहिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम र भारतका दुई एयर इन्डिया र इन्डिगो एयरले उडान भर्दै आएका छन्। नेपालबाट अहिले तीन नेपालीसहित २८ वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्। तीन एयरलाइन्स थपिएसँगै अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवा कम्पनीको सङ्ख्या ३१ पुग्नेछ।

फिनल्यान्डसँग हवाई सम्झौताको तयारी

सरकारले युरोपेली मुलुक फिनल्यान्डसँग दुई पक्षीय हवाई सम्झौताको तयारी गरेको छ। फिनल्यान्डको सबैभन्दा ठूलो वायु सेवा प्रदायक कम्पनी फिनिस एयरले नेपालमा सिधा हवाई सेवा विस्तार गर्ने तयारी गरेको पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए।

‘फिनल्यान्ड आफैँले नेपालसँग हवाई सम्पर्क विस्तार गर्ने चासो देखाएअनुरुप ऊसँग हवाई सम्झौताको तयारी भइरहेको छ। दुवै मुलुकको आन्तरिक परामर्श र सम्झौताका लागि आवश्यक प्रक्रिया लगभग सकिएको छ, अब मात्रै सम्झौताको मिति र स्थानको टुंगो लाग्न बाँकी छ,’ उनले भने।

फिनल्यान्डको राष्ट्रिय ध्वजावाहक फिनिस एयरले नेपालमा सिधा हवाई उडान गर्ने इच्छा व्यक्त गरेको मन्त्रालयले जनाएको छ। काठमाडौँ– फिनल्यान्ड करीब साढे १० घण्टाको हवाई यात्रा तय गर्नुपर्ने हुन्छ। दुई देशबीच हवाई सेवा विस्तार भएमा भ्रमण वर्षको दौरानमा युरोपबाट बढी पर्यटक भित्र्याउन सहयोग पुग्ने सरकारी अधिकारीको विश्वास छ। अहिले नेपाल र युरोपलाई जोड्ने एक मात्र टर्किस एयरलाइन्स रहेको छ।

युरोपबाट नेपाल आउने पर्यटक तथा नेपालीले टर्की या खाडी मुलुकका विमानस्थलसम्म ‘ट्रान्जिट फ्लाइट’ गरेर मात्र नेपाल आउनुपर्ने बाध्यता छ। फिनिस एयरले अहिले भारतको नयाँ दिल्लीसम्म सिधा उडान गर्छ। यस्तै रुससँग पनि पुरानो हवाई सम्झौताको पुनरावलोकनको तयारी गरिएको पर्यटन मन्त्रालयले जनाएको छ। रुससँग सन् १९८९ मा नेपालले हवाई सम्झौता गरेको थियो। त्यसयता सम्झौताको पुनरावलोकन भएको छैन। सम्झौतापछि रुसले नेपाल उडान शुरु गरे पनि बीचमा रोकिएको थियो।

नेपालका लागि आकर्षक मानिएको अष्ट्रेलियासँग पनि हवाई सम्पर्क विस्तारका लागि पहल थालिएको मन्त्रालयले जनाएको छ। अष्ट्रेलियन एयरलाइन्सले नेपाल उडान गर्ने अपेक्षा गरिएको छ। नेपालले गत असोज १४ (अक्टोबर १ सन् २०१९) मा अस्ट्रेलियासँग प्रारम्भिक हवाई सम्झौता गरेको थियो।

पछिल्लो पटक चीन, थाइल्यान्ड र जापानसँग हवाई सम्झौता पुनरावलोकन भइसकेको छ। सरकारले २०७५ साल मंसिर १४ गते कम्बोडियासँग हवाई सम्झौता गरेको थियो। नेपालसँग हवाई सम्झौता गरेको देशमध्ये कम्बोडिया ३९औँ देश हो। सम्झौतामा कम्बोडिया र नेपालका वायु सेवा कम्पनीले हप्तामा १४–१४ पटक सिधा उडान भर्नसक्ने उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad