समाज


आन्दोलनको २ दिनअघि मात्र ओब्जनले घरमा फोन गरेर सुनाएका थिए विदेश जाने खबर

आन्दोलनको २ दिनअघि मात्र ओब्जनले घरमा फोन गरेर सुनाएका थिए विदेश जाने खबर

जेनजी आन्दोलनका सहिद २३ वर्षीय ओब्जन बुढा


सिद्धराज भट्ट\प्रेम रौले
मंसिर १८, २०८२ बिहिबार १३:२१, बाजुरा

बाजुराको स्वामीकार्तिक गाउँपालिका-१ साप्पाटामा जेनजी आन्दोलनका सहिद २३ वर्षीय ओब्जन बुढाको खरले छाएको घर छ।

त्यही घरमा बस्छन्- पुत्र वियोगको पीडामा परेका मणिपाल बुढाको दम्पती।

सामान्य कृषि पेसा गरेर जीविकोपार्जन गरिरहेको यो परिवारको भविष्य अन्धकारमा परेको छ। 

सामान्य साक्षर ओब्जनका बुबा मणिपालले भने, ‘आन्दोलनअघि छोराले फोन गरेर अब दुई वर्षपछि घर फर्किने कुरा सुनाएको थियो, कानुन पढेर अधिवक्ता बन्ने छोराको सपना थियो, तर कहिल्यै नफर्किने गरी गयो। छोरालाई वकिल बनेको देख्ने सपना पनि सदाका लागि समाप्त भयो।’

ओब्जन उनका दोस्रा सन्तान थिए। 

स्थानीय रुपाली आधारभूत विद्यालयमा कक्षा ३ सम्म पढेपछि गाउँमा माध्यमिक तहको विद्यालय नभएका कारण बाजुराकै कोल्टी पुगेर कक्षा ८ सम्म पढेका थिए ओब्जनले। 

कोल्टीमा बस्दा कोठाभाडासमेत तिर्न सक्ने अवस्था नभएपछि उनी छिमेकी जिल्ला मुगुकी शिक्षिका शारदा शाहीको घरमा सहारा लिएर पढे। त्यसबापत उनले शिक्षिका शाहीलाई बिहान-बेलुका घरायसी काममा सघाउँथे।

ओब्जनलाई घरमा आश्रय दिएकी शिक्षिका शाही काठमाडौँ बस्न थालेपछि बुढा पनि उनीसँगै ६ वर्षअघि काठमाडौँ पुगे।

ओब्जनका दाजु कपुर बुढाले भने, ‘भाइले एसईई र कक्षा १२ सम्मको अध्ययन अर्काको सहारामा पढ्न पाएपछि आफैँ काठमाडौँमा अलग कोठा लिएर उच्च शिक्षा अध्ययन गरिरहेको ६ महिना भएको थियो, जेनजी आन्दोलनमा निधन भयो।’

शिक्षिका शाहीको सहाराबाट अलग भएपछि बुढालाई आर्थिक समस्या थपिन थालेको थियो। क्याम्पसको पढाइ शुल्क, कोठाभाडा र खाना खर्चको भार बढेपछि ओब्जनले घरमा फोन गरेर विदेश जाने योजना सुनाएका थिए। 

इच्छा त उनको उच्च शिक्षा हासिल गरेर देशमै रोजगारी गर्ने थियो। तर आर्थिक अवस्था कमजोर भएका कारण उनी विदेश जाने निर्णयमा पुगेका थिए। 

उनले आन्दोलनको दुई दिनअघि (भदौ २१ गते) मात्र घरमा फोन गरेर विदेश जाने खबर सुनाएका थिए। विदेश जाने उनको योजना सुनेर छिमेकी र आफन्तजन पनि चिन्तामा परेका थिए। 

गाउँमा मिजासिलो स्वभाव र सामाजिक काममा सक्रिय रहने बुढाको विदेश जाने योजनाले उनका बुबाआमा त्यति खुसी थिएनन्।

उनीहरूले छोरालाई विदेश नजान सल्लाह दिए पनि बुढाले देशमै रोजगारी नभएकाले विदेश जानैपर्ने बाध्यता रहेको जिकिर गरे। 

भदौ २३ गते जेनजी समूहले भ्रष्टाचार र बेथितिविरुद्ध गरेको प्रदर्शनमा बुढा चाबहिलतर्फबाट आन्दोलनमा सहभागी भएका थिए।

शान्तिपूर्ण प्रदर्शनको अग्रपंक्तिमा रहेका बुढा नारा लगाइरहेका थिए। प्रदर्शनका क्रममा चलेको गोली लागेर घाइते भएका बुढाको उपचारका क्रममा दोस्रो दिन मृत्यु भयो।

जेनजी आन्दोलनबारे सूचना पाएका घरपरिवारका सदस्यले ओब्जनलाई फोन गरे तर सम्पर्क नभएपछि अत्तालिए।

आन्दोलनको चार दिनपछि मात्र घरपरिवारका सदस्यलाई बुढाको निधनको खबर सुनाइएको थियो।

उनको मृत्यु भएको खबर सुन्नासाथ परिवार शोकमा डुब्यो, छरछिमेकमा सन्नाटा छायो।

बाजुराजस्तो विकट र दुर्गम क्षेत्रमा बसिरहेका उनका बुवाआमालाई काठमाडौँ जानसमेत आर्थिक अभाव थियो।

यसपछि उनीहरू अरूसँग सहयोग मागेर नेपालगन्ज पुगे। तर तत्काल हवाईजहाजको टिकट नपाउँदा रोकिन पर्‍यो। सहयोगी हातहरूले हवाइजहाजको टिकट काटेर आफूहरूलाई काठमाडौँ पठाइदिएको ओब्जनकी आमा सुनाउँछिन्। 

उनी भन्छिन्, ‘छोरा आन्दोलनमा गोली लागेर मरे पनि मलाई शोकाकुलको अवस्थामा सान्त्वना दिने अरू थुप्रै छोरा जन्मिएको पाएँ, आफू शोकमा परे पनि हजारौँ छोराले सान्त्वना दिँदा चित्त बुझाएर बसेकी छु।’

जेनजी आन्दोलनमा मृत्यु भएका ओब्जन बुढासहितलाई सरकारले सहिद घोषणा गरेर पीडित परिवारलाई १५ लाख राहत दिएको छ।

बुबा मणिपालले पीडा पोख्दै भने, ‘पढाइपछि अधिवक्ता बनेर पीडितलाई न्याय दिने छोराको सपना अधुरै रह्यो।’

पहिले मणिपाल घरमा किसानी काम सकाएर ६ महिनाका लागि कामको खोजीमा भारत जाने गरेका थिए।

ओब्जनको निधनपछि उनका बुबालाई सरकारले चितवनको आयल निगममा नोकरी पनि दिएको छ।

तीन भाइ र आमाबुवालाई आर्थिक समस्या आउन नदिने वाचा गरेका भाइको निधनले आफूहरू निराश भएको ओब्जनका दाजु कपुरराज बताउँछन्। 

भाइ प्रज्वललाई देशकै अब्बल खेलाडी बनाउने ओब्जनको योजना पनि उनीसँगै बिलाएका छन्। 

प्रज्वलले भने, ‘दाइले विदेशमा पुगेर हुने कमाइपछि काठमाडौँँमा आफूलाई खेलकुद सिकाउन लगानी गरेर देशकै खेलाडी बनाउने योजना पनि थियो, फुटबल र क्रिकेटमा रुचि भएकाले दाइले एसइई पास गरेपछि काठमाडौँमा खेलको प्रशिक्षण लिनुपर्छ भन्नुभएको थियो, तर निधनपछि अब आस र भरोसा टुट्यो।’

आफूलाई पढ्न प्रेरित गर्ने दाइको माया अब कहिल्यै नपाउने भन्दै उनले दुखेसो पोखे। 

जेनजी आन्दोलनमा सहभागी यहाँको बुढीनन्दा नगरपालिकाको पाण्डुसैनका साजन रोकाया पनि घाइते भएका थिए। 

उनी पनि पढाइको सिलसिलामा काठमाडौँमा बस्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad