ad ad

समाज


मिटरब्याजी अनिरुद्ध साहको ससुरालीबाट ७१ लाखको तमसुक बरामद

मिटरब्याजी अनिरुद्ध साहको ससुरालीबाट ७१ लाखको तमसुक बरामद

शैलेन्द्र महतो
भदौ ६, २०७९ सोमबार २१:१५, जनकपुरधाम

पक्राउ परेका महोत्तरीका मिटरब्याजी अनिरुद्ध साहले बनाएको ७१ लाखभन्दा बढीको कपाली तमसुक बरामद भएको छ। जनकपुरधाम उपमहानगरपालिका ७ स्थित उनको ससुराली घरबाट खानतलासी गरी प्रहरीले विभिन्न ऋणीहरुबाट बनाएको ७१ लाख रुपैयाँ बराबरको तमसुक बरामद गरेको हो। 

नौ जना ऋणीबाट बनाएको ७१ लाख ४४ हजार ३५० रुपैयाँको कपाली तमसुक बरामद भएको महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए। 

लामो समयदेखि विपन्नलाई चर्को ब्याजदरमा ऋण दिएर मिटरब्याजको धन्दा चलाएर उनले उठिबास गराउँदै आएका छन्। 

उनलाई महोत्तरी प्रहरीले शनिबार साँझ भंगहा नगरपालिका ५ सिद्धपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो।   

पक्राउपछि मिटरब्याजी साहको सिद्धपुर स्थित घर र सीतापुर बजारमा रहेको घरमा खान तलासी गरिएको प्रहरी उपरीक्षक पंगेनीले बताए। तर त्यहाँ दुईवटा घरमा मिटरब्याज सम्बन्धी कागजात फेला नपरेको उनको भनाइ छ। 

साहले विभिन्न मितिमा १३ जना व्यक्तिसँग २० लाख ३३ हजार ठगी गरेको उजुरी जिल्ला प्रशासन कार्यालय महोत्तरीमा परेको छ। भंगहा नगरपालिका ५ बस्ने चन्द्रकला देवी महराको जाहेरी दरखास्तको आधारमा जिल्ला प्रहरी कार्यालयले ठगी, अपराधिक लाभ मुद्दा दर्ता गरेको छ। सो आधारमा मिटरब्याजी साहलाई प्रहरीले पक्राउ जिल्ला अदालत महोत्तरीमा ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

यसअघि मिटरब्याजी साहविरुद्ध पीडित ऋणी संजिला देवीसहित १४ जनाले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दिएको जाहेरीको आधारमा २९ माघ २०७७ मा ठगी शीर्षकमा जिल्ला अदालत महोत्तरी मुद्दा दर्ता भएको थियो । ४२ लाख ९२ हजार १९० रुपैयाँ बिगो दाबीसहित दर्ता भएको मुद्दामा मिटरब्याजी साह तत्कालीन प्रहरी उपरीक्षक दिनेश आचार्यको सेटिङमा केही महिनापश्चात सिधै अदालतमा हाजिर भएर एक लाख ५० हजार धरौटीमा छुटेका थिए। 

खुलेआम घुम्दा समेत उनलाई प्रहरीले पक्राउ गरेको थिएन। अदालतमा हाजिर भएर पुनः मिटरब्याजको धन्धामा सक्रिय साहमाथि पुनः उजुरी परेपछि उनलाई पक्राउ गरी प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .