समाज


आज यी स्थानमा ठुलो वर्षाको सम्भावना

आज यी स्थानमा ठुलो वर्षाको सम्भावना

नेपालखबर
असार २९, २०८३ सोमबार ८:३१, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई क्षेत्रनजिक छ।

यतिबेला (सोमबार बिहान) कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। कोसी, मधेस, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार,

दिउँसो : कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई  भूभागका धेरै स्थानमा, मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका पहाडी र तराई, कर्णाली र सुदूरपश्चिम  प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशलगायत कोसी, बागमती र गण्डकी प्रदेशका तराई र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

राति : कोसी,मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोसी र बागमती प्रदेशका हिमाली भूभागका धैरै स्थान, गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। मधेस प्रदेश तथा कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई  भूभागका धेरै स्थानमा, लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा तथा कर्णाली प्रदेशका पहाडी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई  भूभागका थोरै मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा साथै बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

काठमाडौँमा पनि वर्षा जारी रहने

काठमाडौँ उपत्यकामा आइतबार दिउँसोदेखि वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार उपत्यकामा अहिले (सोमबार बिहान ६:२५ बजे) पनि हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

‘काठमाडौँको चाँगुनारायण साइडतिर हिजो दिउँसोबाट वर्षा सुरु भएको थियो। रातिचाहिँ त्यहाँ त्यस्तो पानी परेन। तर काठमाडौँभित्र वर्षा भएको छ’, उनले नेपालखबरसँग भनिन्, ‘१२ घण्टाको डेटा हेर्दा काठमाडौँका प्राय ठाउँमा मध्यम वर्षा भएको छ।’ 

उनले थपिन्, ‘वर्षा रोकिन केही टाइम लाग्छ। पानी पार्ने प्रणाली केही कमजोर त हुँदै छ।’ 

तर बिस्तारै पानी पर्न कम हुँदै दिउँसो केही बेर घाम देखिए पनि फेरि बादल बढ्ने र मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद् महर्जनले बताइन्।  

‘दिउँसो र रातिलाई पनि मध्यमसम्म वर्षाको सम्भावना छ’ , उनले भनिन्, ‘दिउँसोभन्दा साँझ र राति वर्षाको सम्भावना बढी देखिन्छ।’

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad