ad ad

विचार


‍प्रदीप गिरिसँगै सकिएको कांग्रेसको त्यो पुस्ता

‍प्रदीप गिरिसँगै सकिएको कांग्रेसको त्यो पुस्ता

शिवजी श्रेष्ठ
भदौ ७, २०७९ मंगलबार १९:५३, काठमाडौँ

शनिबार जसै नेपाली कांग्रेसका सादगी नेता प्रदीप गिरिको निधन भयो। सामाजिक सञ्जाल जताततै प्रदीप गिरिबारेका कुराले भरिए, अनलाइन मिडियाहरूले उनको बारेमा व्यापक खोजीसहितका सामाग्री प्रस्तुत गरे। निधन हुनुअगाडि नै सबै पार्टीका सबैजसो नेता उहाँको अवस्था बुझ्न अस्पताल पुगेका समाचार बाहिरिएका थिए। अरु त अरु स्वयम् राष्ट्र प्रमुख राष्ट्रपति नै अस्पताल पुगेका थिइन्। जब निधन भयो सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गर्यो। यसलाई प्रतिपक्षसहित सबैले स्वाभाविक हकदारका रूपमा लिएको देखियो।

प्रधानमन्त्री मात्र हैन, प्रतिपक्षका नेतासमेत आर्यघाटमा पुगेको देखियो। जनप्रतिनिधि हुनुबाहेक सत्ताको कुनै पद नलिएका व्यक्तिप्रति समाज अनि देश विदेशका राजनीतिक क्षेत्रमा यस्तो उच्चस्तरको सम्मान र सद्भाव बिरलै देखिन्छ।

यसबेला मलाई २०५४ सालका २ राजनीतिक हस्तीको निधनको दृश्य मानसपटलमा आयो। समकालीन राजनीतिका यी हस्ती गणेशमान सिंह र मातृकाप्रसाद कोइरालाको निधन उस्तै समयमा भएको थियो।

एउटा थिए- जनताको छोरोबाट पहिलो प्रधानमन्त्री अर्थात् राणा शासनविरुद्ध २००७ को क्रान्तिका सर्वशक्ति सम्पन्न डिक्टेटर मातृकाप्रसाद कोइराला, जो २ वटा पार्टीको सभापति अनि २ पटक (२००९ मंसिर र १ र २०१० असार ४ गते) प्रधानमन्त्री बने। जसको शव यात्रा पूर्वप्रधानमन्त्रीको हैसियतमा मात्र नभएर नेपाली सेनाको मानार्थ जनरलको हैसियतले पनि सैनिक सम्मानका साथ गरिएको थियो। तर उहाँको शव यात्रामा सर्वसाधारण र राजनीतिक अनि सामाजिक क्षेत्रका व्यक्तिको उपस्थिति नगन्य।

सोही बखत मन्त्रीभन्दा माथि कहिल्यै नबनेका अनि पार्टीको सभापतिमा समेत पराजित गणेशमान सिंहको शवयात्रा राजकीय सम्मानका साथ भयो भने राजनीतिक क्षेत्रका त छँदैछ सर्वसाधारणको अपार सहभागिता देखियो। जबकि त्यस बखत लोकेन्द्रबहादुर चन्द नेतृत्वको कम्युनिस्टसहितको सरकार थियो।

त्यो भन्दा स्मरणीय कुरा उनै मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उनको मन्त्रिपरिषदमा गणेशमान सिंह मन्त्री थिए। फरक यत्ति- प्रधानमन्त्री पदका लागि मातृकाप्रसाद कोइरालाले पार्टी टुक्र्याएर नयाँ पार्टी बनाएका थिए भने गणेशमान सिंहले राष्ट्र प्रमुखले प्रधानमन्त्रीको पद प्रस्ताव गर्दा पनि आफ्नो शारीरिक अवस्थालाई देखाएर अस्वीकार गरेका थिए।

अहिले प्रदीप गिरिको शवयात्रा र सम्मान देख्दा लाग्छ- जनताले पदलाई भन्दा त्यागलाई सम्मान गर्दा रहेछन्। उनै प्रदीप गिरि चार पटक सांसद भए, मन्त्री पद उनका लागि सजिलै प्राप्य थियाे, ६० को दशकमा आएको मन्त्री बन्ने दबावलाई उनले थेगे।

अझ २०५६ को निर्वाचनमा मन्त्री पदको प्रसंगमा गिरिको गजबको प्रतिक्रिया आएको थियो। जब नेपाली कांग्रेसले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीका लागि अगाडि सार्दै निर्वाचन लडेको थियो, सिरहाबाट उम्मेदवार बनेका प्रदीप गिरिको निर्वाचन क्षेत्रमा आएर कृष्णप्रसाद भट्टराईले भाषण गर्नु भएछ- 'यहाँबाट प्रदीपजीलाई जिताएर पठाउनुस्, हामी उहाँलाई प्रभावशाली मन्त्रीसहित प्रधानमन्त्री बनाउनेछौँ।'

तर उहाँले चुनाव हार्नु भो, नेपाली कांग्रेसले बहुमत ल्याउँदै कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बन्नुभयो। तब आफ्नो हारको बारेमा प्रतिक्रिया दिँदै प्रदीप गिरिले भन्नुभएछ- 'मलाई मन्त्री बन्नुबाट भगवानले बचाउनु भो, चुनाव नहारेको भए म किशुनजीलाई नाइँ भन्न सक्दिनँथेँ र मन्त्री बन्नु पर्ने हुन्थ्यो।'

अहिले मन्त्री बन्न पार्टी तोड्ने र छाेड्ने अनि मन्त्री छाड्नुपर्दा रुने र धम्क्याउनेहरूको हुलमा यी प्रसंग अचम्म लाग्दा अपत्यारिला हुन सक्छन। हामीले देख्न पाएको नेपाली राजनीतिको त्यो पुस्ता र प्रतिष्ठित राजनीति गर्ने नेताहरू अब त लगभग निख्रिएजस्तो लाग्छ।

यस प्रसंगमा उसबखतका केही अप्राप्य नेताहरूका प्रसंग उल्लेख गर्न सान्दर्भिक हुनसक्छ। जनतालाई टाढा राखेर आफू र आफ्नो परिवारलाई केन्द्रबिन्दुमा राखेर राजनीति गर्नेहरूका बीचमा जनतासमक्ष खाएका कसमको कति मूल्य हुन्छ भन्ने कुराको त्यागको प्रतिष्ठित नाम बलबहादुर राई सम्बद्ध कृष्णप्रसाद भट्टराईको चुनावी भाषणको प्रसंग स्मरणमा आयो।

बहुदलीय व्यवस्था पुनर्स्थापनापश्चात् हुन लागेको प्रथम आम निर्वाचनको प्रसंगमा बलबहादुर राई ओखलढुंगाबाट नेपाली कांग्रेसको उम्मेदवार हुनुहुन्थ्यो, तत्कालीन अन्तरिम सरकारका प्रधानमन्त्री नेपाली कांग्रेसका पार्टी सभापति कृष्णप्रसाद भट्टराईको उपस्थितिमा बलबहादुर राईले निर्वाचन प्रचार कार्यक्रममा भाषण गर्दै भन्नुभयो- 'मलाइ तपाईंहरूले निर्वाचित गरेर पठाउनुभयो भने म ओखलढुंगामा सडक ल्याउँछु, ल्याउन सकिनँ भने यातायात मन्त्री मर्छ कि त बले किराती मर्छ।'

जनताको हुटिङले यस्तरी धुलो उड्यो कि पछि कृष्णप्रसाद भट्टराईले आफ्नो भाषणमा 'तपाईंहरूले जिताएर पठाउनुस् बलबहादुर राईजीलाई म मर्न दिन्नँ, अब नेपाली कांग्रेसकै सरकार हुने हो, म प्रधानमन्त्री भएपछि बलबहादुरजी मन्त्री बन्नुहुनेछ, ओखलढुंगामा सडक आउनेछ।'

तर परिणाम फरक भयो- भट्टराईले चुनाव हार्नु भयो, बलबहादुर राईले अत्यधिक मतले चुनाव जित्नुभयो, अनि आवासमन्त्री हुनुभयो। तब एकदिन मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भन्नुभएछ- 'गिरिजाबाबु ! आज एउटा फैसला गर्नु पर्नेभो।'

सबैको ध्यानाकर्षणका बीच उहाँले भन्नुभएछ- 'अब कि त खुमबहादुरजी मर्नुपर्ने भो, कि त म।' प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अचम्म मान्दै कारण सोध्नु हुँदा 'गिरिजाबाबु ! मैले ओखलढुंगाका जनतालाई वचन दिएको छु, मलाई जिताएर पठाउनुभयो भने ओखलढुंगामा सडक ल्याउँछु, ल्याउन सकिनँ भने कि त यातायातमन्त्री मर्छ कि बले किराती भनेको छु, अब यसपालिको बजेटमा त ओखलढुंगामा सडक छैन।'

गिरिजा बाबुले हाँस्दै यातायातमन्त्री खुमबहादुर खड्कालाई ओखलढुंगामा सडक योजना पार्न अह्राउनुभएछ। पछि ओखलढुंगामा सडक बनाउन आएको डोजरको आवाज सुनेर खुसी हुँदै स्थानीय जनताले भन्थे रे- 'ऊ बले किराती (मायाले) करायो।'

आफूले बोलेका कुराको मूल्य रहने उस जमानाका नेताहरूका भीडमा केही यस्ता नाम छन्, जुन नाम लिँदा एक किसिमको आदर जागेर आउँछ।

जसै २०४८ सालमा तत्कालीन कृषिमन्त्री शैलजा आचार्यले संसदको रोस्ट्रममा  उभिएर भन्नुभयाे- 'कृषि मल आपूर्तिमा समस्या आउनुको कारण कृषि मन्त्रालयमा भ्रष्टाचार छ, संसदले यसबारेमा छानबिन गरोस्।' यो कुराले तत्कालीन सरकारलाई अप्ठ्यारो पार्यो, तब प्रधानमन्त्रीले यो बोलेको कुरा फिर्ता लिन आदेश दियो, शैलजा आचार्यले मैले बोलेको कुरा ब्रह्मले देखेको बोलेको हुँ, बरु म मन्त्रीबाट राजीनामा दिन्छु तर बोलेको फिर्ता लिन्नँ भन्दै पदबाट राजीनामा नै दिनुभयो। सबैले सम्झाउँदा पनि नमानेपछि गणेशमान सिंहले उहाँलाई मन्त्रीबाट राजीनामा नगर्न सम्झाउनु हुँदा मान्नुभएनछ।​

उस बखत त्यसबारेमा पत्रकारसँग गणेशमानजी को गज्जबको प्रतिक्रिया आएको थियो- 'अविवाहिता, महिला, त्यसमा पनि राजनीतिमा आबद्ध, कसले पो अडान परिवर्तन गराउन सक्ला र?' मन्त्री पदलाई भन्दा आफ्नो बोलीको मूल्य सम्झिने उस बखतका यी हस्तीहरूका नाम र प्रसंग नयाँ पुस्ताका लागि अचम्म तर प्रेरक हुन सक्छ। 

अहिलेका सरकारमा रहेका मन्त्री र सांसदहरूका रवाफ र जीवनशैली हेर्दा बहुदलीय व्यवस्थाको पुनर्स्थापनापश्चातको पहिलो सरकार बनेको भर्खर भर्खर बेलाका एउटा प्रसंग स्मरणमा आउँछ। बलबहादुर राई आवासमन्त्री हुनुहुन्थ्यो, उहाँभन्दा सिनियर मन्त्री वासु रिसाल हुनुहुन्थ्यो, वासु रिसाल १ नम्बर क्वार्टरमा बस्नु हुने अनि बलबहादुर राई २ नम्बरमा, उहाँहरूले प्रत्येक शनिबारको बिहानको खाना पालैसँग मन्त्री साथीहरूले खुवाउने नियम बसाउनुभएको रहेछ। 

एकपटक मन्त्री वासु रिसालको क्वाटर देखाउँदै हाँस्दै भन्नुभएथ्यो- 'आज शनिबार वासुजीले हामी मन्त्रीहरूलाई खाना खान बोलाउनुभएको छ, वासुजी कम्ता चलाख हुनुहुन्न, रोजेर आजको शनिबार लिनु भो, किनकि आज एकादशी हो, मासु खान मिलेन। त्यसैले सस्तोमा खाना खुवाउन आज एकादशीको दिन रोज्नु भयो।'​

उसबेला मन्त्रीहरूको अवस्था त्यस्तो थियो, जीवनशैली त्यति सामान्य, मन्त्रीहरू मासु किन्न पनि सोच्ने हैसियतमा, सायद त्यसबखत निष्ठाको राजनीति जीवितै थियो।

२०४८ सालकै संसदमा रहेका २ पात्रको लवाइ अचम्मको थियो, एउटा रोल्पाबाट विजयी संयुक्त जनमोर्चाका बर्मन बुढा र स्याङजाबाट निर्वाचित नेपाली कांग्रेसका शंकर पाण्डे - बर्मन बुढा कछाडमा आउँथे भने शंकर पाण्डे खाली खुट्टा। सुनिन्थ्यो - जनताको अवस्था सुधार नभएसम्म अधिकतर जनताले जस्तो लगाउँछन्, म पनि त्यस्तै। पछि कृष्णप्रसाद भट्टराईले सम्झाएपछि मात्रै शंकर पाण्डेले चप्पलचाहिँ लगाउन थालेका थिए।

भनिन्छ- नेपालको प्रजातान्त्रिक इतिहासमा लामो समय पञ्चायतविरुद्ध लड्दा आफ्नो इमान कायम राखेर सरकारले देखाएको लोभमा नफसी यातना सहेर पनि आफ्नै इमान कायम राख्न सक्ने त्यागीहरू पनि सत्तामा पुगेपछि बिटुलिएको देखिएको छ। यसमा परिवारको प्रमुख भूमिका छ। जसको परिवारले आफ्ना श्रीमान् वा बाबुआमाको त्यागको महत्त्व बुझे, तिनले त्यसलाई कायम राख्न धैर्यता राखे र सत्तामा पुगेका आफन्तहरूलाई सत्ताको दुरूपयोग गर्न प्रोत्साहन गरेनन्।

तर कतिपयले यही हो मौका भनेर वर्षाैंको त्याग र तपस्यालाई वर्ष दिन पनि नपुगी बिटुल्याइदिए। कस्तोसम्म भने जब २०४३ सालमा पञ्चायतको स्थानीय चुनाव हुँदै थियो, हरिबोल भट्टराईलाइ प्रतिबन्धित नेपाली कांग्रेसले काठमाडौँ नगर पञ्चायतको प्रधानपञ्चको उम्मेदवार बनायाे, कम्युनिस्ट पार्टी मालेले सीताराम मास्केलाई। तर त्यतिखेर कम्युनिस्ट पार्टीले यदि नेपाली कांग्रेसले मार्शल जुलुम शाक्यलाई उम्मेदवार बनायो भने साझा उम्मेदवार हुनसक्छ भनेर प्रस्ताव गरेका थिए रे।

मार्शल जुलुम शाक्य यति लोकप्रिय थिए कि जो २०१७ पुस १ गते राजा महेन्द्रले संसदीय व्यवस्थामा प्रतिबन्ध लगाउँदै बीपी, गणेशमान सिंहलगायतका नेताहरूलाई जेल हाल्दै गर्दा एउटा रसियन जिपमा माइक लिएर काठमाडौँको सडकमा राजाको कदमविरुद्ध माइकिङ गर्दै हिँड्दा पक्राउ परेका थिए। पछि लगातार पञ्चायतविरुद्धको आन्दोलनमा सक्रिय हुँदै एउटा आदर्श नेताका रूपमा स्थापित हुँदै बहुदलीय व्यवस्थाको पुनर्स्थापनापश्चात् अन्तरिम सरकारमा आपूर्ति, यातायात मन्त्रालयसहित प्रभावशाली मन्त्री बनाइए।

त्यस बखत मन्त्री हुनु भनेको धेरै निकै ठूलो एवम् सबैको विश्वास प्राप्त नेता मानिन्थ्यो।  तर मन्त्री भएको केही महिनामै उहाँको बारेमा गाइँगुइँ सुनिएपछि गणेशमान सिंहले 'हाम्रा मन्त्रीहरू चाँडै गनाए' भनेर सार्वजनिक रूपमै भन्नुभयो। जसको परिणाम ३० वर्षभन्दा बढी संघर्ष गरेर बनाएको त्यागी नेताको छवि चाँडै धमिलियाे र २०४८ सालको निर्वाचनमा हार्दै राजनीतिक रूपमा विस्थापित हुँदै गए। अहिले पनि हिजो पञ्चायतकालमा संघर्ष गरेर एउटा छवि बनेका नेताहरू परिवारको प्रभावमा परेर निष्ठा छाडेर पद र पैसाका लागि जे पनि गर्न खोज्दा अहिले जनताको नजरमा पद पाएका तर प्रतिष्ठा गुमाएका नेताका रूपमा देखिन्छन्।

परिवारले राजनीतिक अभियानमा रहेका आफन्तहरूको निष्ठा बुझेर त्यसको मर्यादा कायम राखिदिए ती नेताहरूको छवि उजिल्याउन थप मद्दत पुग्छ। नेपाली राजनीतिक आकाशमा केही नेताहरूको छवि जुन रूपमा जाज्वल्यमान देखिन्छ त्यसमा परिवारको निकै महत्त्वपूर्ण भूमिका देखिन्छ।

मानिसहरू बीपी कोइरालालाई नेपाली राजनीतिको शिखर पुरुषका रूपमा सम्मान गर्छन्, यसमा बीपीलाई बीपी हुन उहाँको आफ्नो त्याग र संघर्षका साथै परिवारको विशेष भूमिका रहेको मानिन्छ। त्यसमा पनि बीपीका आमा दिव्या कोइराला र पत्नी सुशीला कोइरालाको अहम् भूमिका रहेको मानिन्छ। जब बीपी कोइराला २००५ सालमा राणा शासनको समयमा केन्द्रीय कारागारमा अनशनमा थिए।

राणा प्रधानमन्त्री मोहन शमशेरको कडा शासनमा उहाँको अनशन २७ दिन पुगिसकेको थियो।  बीपीको स्वास्थ्य नाजुक हुँदै गएपछि राणा प्रधानमन्त्री श्री ३ मोहन शमशेरले बीपीका आमा, पत्नी र बहिनीलाई सिंह दरबारमा बोलाएर भेटेछन्। भेटका क्रममा मोहन शमशेरले बीपीकी आमालाई 'अब तिम्रो छोरा तिम्रो जिम्मा भो' भनेछन्, तब बीपीकी आमाले 'जबसम्म मेरो छोरा जेलबाट छुट्दैन तबसम्म ऊ सरकारको जिम्मामा हुन्छ, उ मर्यो भने सरकार जिम्मेवार हुन्छ' भन्नुभएछ।

त्यसपछि श्री ३ मोहन शमशेरले बीपीकी आमासँग कड्किँदै 'के सरकारको इज्जत छैन?' भनेर सोध्दा बीपीकी आमाले 'यो तानाशाही सरकारको भन्दा त मेरै छोराको इज्जत धेरै ठूलो छ' भन्नुभएपछि मोहन शमशेरले 'त्यसो भए तिम्रो छोरा अब जेलमै मर्छ' भनेर धम्क्याउँदा बीपीको आमाले 'मैले यही ठाउँमा मेरा दुलाहा (कृष्णप्रसाद कोइराला) लाई सेलाए, म मेरो छोरालाई पनि यही सेलाउन आएकी छु, यो धम्की मलाई दिनु जरुरी छैन' भन्नुभएछ।

त्यसको २ दिनपछि बीपीको अनशन तोडियो र उहाँ जेलबाट छुट्नु भो। यस्तै प्रतापी आमाको प्रतापले बीपीले आफ्नो निष्ठा डगमगाउन दिनुभएन र आज आफ्नो निधनको ४० वर्षपछि पनि नेपाली राजनीतिक आकाशमा चम्किरहनुभएको छ।

भनिन्छ- २०१६ सालमा नेपाली कांग्रेसले दुईतिहाइ बहुमत ल्याएपछि उहाँका पत्नी सुशीला कोइरालाले बीपीलाई प्रधानमन्त्री नहुन र सुवर्ण शमशेरलाई प्रधानमन्त्री बनाउन सुझाएका थिए रे। वर्षाैंको आफ्नो पति वा पिताका त्याग र संघर्षलाई प्रयोग गरेर सत्ताको स्वाद लिने संस्कार बसेको अहिलेको समकालीन राजनीतिमा सुशीला कोइरालालाई आदर्श मान्न सक्ने नेता पत्नीहरू कोही हुन सक्लान त?

यसबेला आफू चुनावमा पराजित हुँदा पनि 'भगवानले आफूलाई मन्त्री हुनबाट बचाएको' भनेर कृतज्ञ हुने प्रदीप गिरिको निधनमा देखिएका शोक, सम्मान र सरोकारले अहिलेका समकालीन नेताहरूलाई थोरै भए पनि झक्झकाएको हुनुपर्ने हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .