गएको शुक्रबारदेखि अवरुद्ध गुल्मीको कालीगण्डकी करिडोर सडक अझै खुलेको छैन। लामो समयसम्म सडक अवरुद्ध बनेका कारण स्थानीयवासी थप समस्यामा परेका छन्।
कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत हर्मीचौर–अर्बेनी सडकअन्तर्गत गरगरेमा शुक्रबार अपराह्न खसेको सुक्खा पहिराले उक्त सडक अवरुद्ध बनेको हो।
तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको सडकमा अझै गाडी चल्न सकेका छैनन्।
सडक अवरुद्ध बनेपछि गाउँपालिका केन्द्र पुर्तिघाट जाने र पुर्तिघाटबाट बुटवलसम्म जाने सवारीसाधन बीच बाटोमा अलपत्र परेका छन्। सडकमा सवारी साधन सञ्चालन गर्न पहिरोग्रस्त क्षेत्रमा तीनवटा डोजर तयारी अवस्थामा राखिएको छ। तर, ढुंगा खसिरहेको कारण पहिरो हटाउन समस्या परको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले बताए।
सडकभन्दा धेरै माथिबाट लगातार सुक्खा पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले बताए।
‘हामीले यात्रीको सुरक्षालाई ध्यानमा राखेर प्रहरी टोलीलाई पहिरोग्रस्त क्षेत्रमा खटाएका छौँ,’सारुुले भने, ‘यात्रीलाई हर्मिचौर माथिबाट देउरालीहुँदै अर्बेनीकोटको वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छौँ।’
लामो समयसम्म मुख्य सडक बन्द हुँदा त्यस क्षेत्रका नागरिकलाई समस्या परेको गाउँपालिका अध्यक्ष थापाले बताए। ‘सडक कतिबेला खुल्छ भनेर नागरिकले बारम्बार सोधिरहनुहुन्छ, तीन दिन भयो सडक पूर्ण रूपमा बन्द छ, के भनेर नागरिकलाई जवाफ दिने अवस्था यस्तो छ,’ उनले भने।
Shares

प्रतिक्रिया