समाज


भूमिहीन भएको ४ दशकपछि जग्गाधनी

भूमिहीन भएको ४ दशकपछि जग्गाधनी

नेपालखबर
जेठ १, २०८२ बिहिबार ६:५७, बाँके

पुस्तौँदेखि बसोबास गर्दै आएको जमिनको लालपुर्जा पाएपछि बाँकेको कोहलपुरका भूमिहीन सुकुम्वासी परिवारमा खुसीयाली छाएको छ।

चवालिस वर्षदेखि भूमिहीन अवस्थामा रहेका कोहलपुर नगरपालिका-१ निवासी ८० वर्षीय सनबहादुर रानाले लालपुर्जा प्राप्त गरेपछि जीवनमा पहिलो पटक धेरै खुसी लागेको बताए। उनले भने, ‘सरकारले लालपुर्जा दिएर हाम्रो आत्मलाई खुसी बनाएको छ, अब मर्दा पनि सुखले श्वास जाने भयो।’

कोहलपुर नगरपालिका(१ का १२० भूमिहीन सुकुम्वासी र भूमिहीन दलित परिवारलाई भूमि समस्या समाधान आयोगमार्फत प्रतिपरिवार ३४० वर्ग मिटर अर्थात् करिब एक कट्ठा जमिनको जग्गाधनी पुर्जा वितरण गरिएको छ।

स्थानीय लक्ष्मीबहादुर महतले पहिले भूमिहीन सुकुम्वासीका रूपमा रहेको आफ्नो पहिचान अब फेरिएको भन्दै खुसी व्यक्त गरे। ‘लामो समयसम्म भूमिहीन अवस्थामा थियौँ। अब भने जग्गा धनी भएका छौँ। हाम्रो लागि यो निकै खुसीको कुरा हो,’ उनले भने, ‘सरकारले गरिबको पक्षमा काम गरेको अनुभूति भएको छ, सरकारले हाम्रो वर्षौँदेखिको माग पूरा गरेको छ। निकै हर्षित छौँ।’

पुस्तौँदेखि ऐलानी जमिनमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्वासी परिवारले लालपुर्जा पाएको कोहलपुर नगरपालिका(१ का वडाध्यक्ष बद्रीप्रसाद जैसीले बताए। भूमिहीन वडावासीलाई लालपुर्जा वितरण गर्न पाउँदा आफूलाई समेत खुसी लागेको भन्दै उनले वडाका सबै भूमिहीन सुकुम्वासीलाई क्रमशः लालपुर्जा वितरण गर्ने गरी पहल भएको उल्लेख गरे।

भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले जिल्लामै पहिलो पटक कोहलपुर नगरपालिका-१ क्षेत्रका भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपुर्जा वितरण गरिएको बताए। 

उनका अनुसार वर्तमान सरकार गठनपछि बनेको भूमि समस्या समाधान आयोगमार्फत लुम्बिनी प्रदेशमै पहिलो पटक यहाँ लालपुर्जा वितरण गरिएको हो । समग्र देशभरकै हिसाबमा बाँके चौथो जिल्ला हो। प्रदेशअन्तर्गत लुम्बिनी प्रदेशको पहिलो जिल्ला बाँके र बाँकेमा भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपुर्जा वितरण गर्ने पहिलो स्थानीय तह कोहलपुर बनेको छ।

अध्यक्ष खनालले जेठको दोस्रो सातासम्म विभिन्न स्थानीय तहका थप ९३६ जनालाई लालपुर्जा वितरण गर्ने गरी काम भइरहेको जानकारी दिए। 

‘कोहलपुर नगरपालिका-२, १४, १५, नेपालगञ्ज उपमहानगरपालिका-१९ र २०, राप्तीसोनारी गाउँपालिका-७ र वैजनाथ-६ मा जग्गाधनी प्रमाणपत्र वितरण गर्ने तयारी भएको छ’, उनले भने, ‘हालसम्म जिल्लामा ५४ हजार हाराहारीमा लालपुर्जाका लागि आवेदन परेको छ। आगामी असारभित्र छ हजार लालपुर्जा वितरण गर्ने लक्ष्य छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad