ad ad

समाज


निरु हत्या प्रकरण- इनड्राइभमा अफलाइन चढेका हत्यारा पहिचानमा प्रहरीलाई सकस

निरु हत्या प्रकरण- इनड्राइभमा अफलाइन चढेका हत्यारा पहिचानमा प्रहरीलाई सकस

कपन सरस्वतीनगरमा चक्कु प्रहारबाट ज्यान गुमाएकी निरु। तस्बिर : नेपाल प्रहरी


नेपालखबर
बैशाख १४, २०८० बिहिबार १८:५०, काठमाडौँ

कपनको सरस्वतीनगरमा भएको निरा पाण्डे हत्यारा नजिक प्रहरी अनुसन्धान पुगेको छ। प्रहरीले सीसीटीभी फुटेजका आधारमा हत्यारा नजिक पुगेको अनुसन्धान अधृकारीले बताए। 

तर अहिलेसम्म ती व्यक्तिको पहिचान भने भइसकेको छैन। इनड्राइभ मार्फत मोटरसाइकलमा पुगेका व्यक्तिले नै निरुको हत्या गरेको निष्कर्षतर्फ प्रहरी अनुसन्धान सोझिएको छ। 

हत्यारालाई घटनास्थलसम्म पुर्‍याउने इनड्राइभ मोटरसाइकल चालकको भने पहिचान भइसकेको छ। मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन्। 

तर इनड्राइभ अफलाइन भएको बेला उनी सिधै मोटरसाइकलमा चढेको खुलेको छ। ती व्यक्तिको पहिचान गर्न प्रहरीलाई सकस परिरहेको छ।
प्रहरीले यो घटनालाई निष्कर्षमा पुर्‍याउन एकीकृत  अनुसन्धान समिति बनाएको छ। उपत्यका प्रहरी अनुसन्धान कार्यालय र काठमाडौं परिसरको संयुक्त टोलीले अनुसन्धान थालेको हो। 

इनड्राइभ एपमार्फत भाडा लिएर यात्रु बोक्दै आएका मोटरसाइकल चालक यसअघि काठमाडौं परिसरको नियन्त्रणमा थिए।

तर उनलाई बिहीबार उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय लगिएको छ।

उनीसँग थप सोधपुछ गरेर प्रहरी हत्यारा पहिचान गर्न प्रयास गरिरहेको छ। उनलाई प्रहरीले अनुसन्धानमा सहयोग पुयाउनका लागि नियन्त्रणमा लिएको जनाएको छ। 

ती व्यक्ति को हुन् भनेर पहिचान गर्न अहिले प्रहरी अनुसन्धान केन्द्रीत रहेको एक अनुसन्धान अधिकृतले बताए। 

इन्ड्राइभ अफलाइन हुँदा ती यात्रुको पहिचान गर्न प्रहरीलाई सकस भएको हो।

यस्तै उनी र इन्ड्राइभ सञ्चालकबीच टेलिफोन सम्पर्क पनि नभएको खुलेको छ। यी काराणले प्रहरीलाई सीसीटीभी फुटेजमा देखिएका व्यक्ति पहिचान गर्न समस्या भइरहेको छ।

प्रहरीले एक सातासम्म पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै मृतकका आफन्त र स्थानीयले खबरदारी गर्न थालेका छन्। स्थानीय र छिमेकीले सडकमै उत्रेर हत्यारा पत्ता लगाउन सरकारलाई दबाब दिइरहेका छन्। 

काठमाडौं ४ बाट निर्वाचित कांग्रेस महामन्त्री गगन थापले पनि यस विषयलाई संसदमा प्रवेश गराइसकेका छन्। 

घटनालगत्तै प्रहरीले कुकुर लगेर ट्र्याक गर्ने प्रयास गरेको थियो। तर भीडभाड धेरै हुने स्थानमा कुकुरले संकेत दिन सकेन। 

अहिले सीसीटीभी फुटेजकै सहरामा प्रहरी अनुसन्धान केन्द्रित भएको हो। घटनास्थलनजिकै सीसीटीभी नहुँदा आसपासका फुटेज संकलन गरिएको छ।

ती फुटेजलाई अन्य स्थानमा रहेका फुटेजबाट थप प्रमाण संकलन गर्न प्रहरी लागिरहेको छ। 

हत्या गरिएकी निरुको मोबाइल घटनास्थलमा फेला परेको छ। मोबाइल परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाइएको छ। तर अहिलेसम्म रिपोर्ट आइनसकेको प्रहरीले जनाएको छ।

बागलुङ घर भई कपनमा भाँडा पसल गर्ने निरुको गत बुधबार दिउँसो हत्या भएको थियो। पसलमै शरीरका करिब २० ठाउँमा छुरा रोपेको अवस्थामा उनी फेला परेकी थिइन्। 

उनलाई तत्कालै त्रिवि शिक्षण अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। दिनदहाडै भएको हत्याको प्रहरीले तत्काल अनुसन्धान सुरु गरे पनि हत्यारा पक्राउ गर्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .