ad ad

अपराध


निरु हत्या : बैंकबाट त्यही दिन निकालेकी थिइन् १९ लाख, पसलमा प्याक थियो सामान

निरु हत्या : बैंकबाट त्यही दिन निकालेकी थिइन् १९ लाख, पसलमा प्याक थियो सामान

उजिर कार्की
बैशाख १३, २०८० बुधबार २१:७, काठमाडौँ

कपनको सरस्वतीनगरमा भएको निरा पाण्डेको हत्याबारे अझै प्रहरी अनुसन्धान अलमलमा छ। एक सातादेखि प्रहरीका चार वटा युनिटका टोली खटिएका छन्। तर हत्या कसले गर्यो भन्ने पत्ता लगाउन सकेका छैनन्। 

काठमाडौं प्रहरी परिसर, बौद्ध वृत्त, उपत्यका अपराध अनुसन्धान कार्यालय र उपत्यका प्रहरी कार्यालयका प्रहरी टोलीले अनुसन्धान गरिरहेका छन्। तर अनुसन्धानको नतिजा निस्किन सकेको छैन। 

प्रहरीले एक सातासम्म पनि पत्ता लगाउन नसकेपछि मृतकका आफन्त र स्थानीयले खबरदारी गर्न थालेका छन्। संसदमा पनि यो विषयले प्रवेश पाएको छ। 

बुधबार कपनस्थित घटनास्थलमा स्थानीय र आफन्तले प्रदर्शन गरे। कांग्रेस महामन्त्री गगनकुमार थापाले संसदमा यो घटनाबारे आवाज उठाए र दोष्ीा छिटो पत्ता लगाउन माग गरे। अनुसन्धान जतिसक्दो चाँडो टुंग्याउनु पर्ने दबाबमा छ प्रहरी। 

घटनालगत्तै प्रहरीले अनुसन्धान थालेको हो। कुकुर लगेर ट्र्याक गर्ने प्रयास पनि भयो। तर भीडभाड धेरै हुने स्थानमा कुकुरले संकेत दिन सकेन। 

घटनास्थलमा सीसीटीभी थिएन। आसपासका सीसीटीभी फुटेज संकलन गरेर प्रहरी केलाउँदैछ। फुटेजबाट पनि प्रहरीले अनुसन्धान गर्दैछ, केही व्यक्तिमाथि आशंका पनि गरेको छ, तर निचोडमै पुग्ने गरी प्रमाण जुटाउन सकेको छैन। 

हत्या गरिएको निरुको मोबाइल घटनास्थलमा फेला परेको थियो। मोबाइल परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाइएको छ। तर अहिलेसम्म रिपोर्ट आइनसकेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले बताए। 

बुधबार साँझ उनले भने, ‘सबै पाटोबाट अनुसन्धान भइरहेको छ। अहिलेसम्म यही हो भन्ने अवस्थामा पुगिसकेका छैनौं, केही समय लाग्ला तर टुंग्याउँछौं।’

अहिलेसम्मको अनुसन्धानमा के देखियो?
एक साता लामो अनुसन्धानमा प्रहरी परिवारदेखि पसलका ग्राहकसम्म केन्द्रित भएको छ। अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘सबै कोणबाट शंका गर्ने ठाउँ देखिन्छ। यी सबै पाटोमा मसिनो गरी केलाउँदैछौं। शंकैको भरमा कसैलाई ल्याउने कुरा भएन, प्रमाण जुटाउन पर्यो। अहिले त्यसैमा केन्द्रित छौं।’

निरुको शरीरमा करिब २० ठाउँमा चक्कु रोपिएको छ। सबै अग्रभागमा छ। तर घटनास्थलमा चक्कु फेला परेको छैन। हत्यामा प्रयोग गरिएको चक्कु हत्याराले नै लगेको शंका प्रहरीको छ। 

सीसीटीभीमा देखिए अनुसार मोटरसाइकलमा आएका दुई जनामाथि पनि प्रहरीको शंका छ। उनीहरु पसल नजिकै ओर्लिएर पसलतिर गएको देखिन्छ। ती व्यक्तिको गतिविधि पनि प्रहरीको शंकाको घेरामा छ। पठाओमा त्यहाँ पुगेका व्यक्ति प्रहरीले पहिचान गरिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ। 

पसलमा एक झोला भाँडाकुँडा प्याक गरेको अवस्थामा फेला परेको छ। त्यो कसैले अर्डर गरेर सामान ल्याउने निहुँ पारेर हत्या गर्यो कि भन्ने अशंका पनि प्रहरीको छ। तर त्यो सामान कसले माग गरेको थियो भन्ने पनि खुलिसकेको छैन। झोलामा कप, डाडु लगायत घरायसी भाँडाकुँडा प्याक गरेको भेटिएको छ। 

प्रहरीको अर्को शंका आर्थिक गतिविधिमाथि छ। हत्या भएकै दिन निराले आफ्नो खाताबाट १९ लाख रुपैयाँ निकालेको पाइएको छ। 

मुद्दती खातामा राखेको उक्त रकम निकाले पनि अर्को खातामा रकम जम्मा गरेको भेटिएको प्रहरी बताउँछ। आर्थिक कारणबाट घटना भएको हुनसक्नेतर्फ पनि अनुसन्धान भइरहेको अनुसन्धान अधिकारी बताउँछन्। 

‘त्यो रकम उनले कसैलाई दिन लागेकी थिइन्, तर पछि असमझदारी भएर दिइनन् र घटना हुन पुग्यो कि भन्ने तर्फ पनि सोचिरहेका छौँ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृत भन्छन्। 

प्रहरी अनुसन्धान बाहिर मात्रै सिमित छैन। परिवारभित्रै पनि प्रहरीले केलाइरहेको छ।

‘निरु र उनका श्रीमानबीच त्यति राम्रो सम्बन्ध थिएन। दुवैले बाह्य सम्बन्धमा शंका गर्दा झगडा परिरहेको देखिन्छ। तर उनीहरु छुट्टिएर बसेको अवस्था भने थिएन,’ अनुसन्धान अधिकृत भन्छन्, ‘परिवारमा अलिअलि मनमुटाव भइहाल्छ, यही कारण घटना हुन पुग्यो भन्न सकिँदैन, शंका त गर्न पाइयो, प्रमाणले अहिलेसम्म पुष्टि भइसकेको छैन।’  

निरु र उनका श्रीमान् छुट्टाछुट्टै पसल चलाउँथे। दुई मिनेटको फरकमा छन् दुई पसल। तर घटनाबारे श्रीमानले पनि कुनै जानकारी नपाएको प्रहरीलाई बताएका छन्। 

उनीसँग पनि प्रहरीले सोधपुछ गरिरहेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख केसी भन्छन्, ‘अनुसन्धानका सबै पाटो हेरिरहेका छौं। तर कहिलेकाहीँ यस्तै हुन्छ, समय लाग्न सक्छ। तर अनुसन्धान ढिलोचाँडो निष्कर्षमा पुग्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .