समाज


प्रधानन्यायाधीश शर्मालाई भारतको सर्वोच्च अदालतमा स्वागत

प्रधानन्यायाधीश शर्मालाई भारतको सर्वोच्च अदालतमा स्वागत

भारतको सर्वोच्च अदालतको इजलास नं. १ मा प्रधानन्यायाधीश मनोजकुमार शर्मासहितका न्यायाधीश। तस्बिर स्रोत: बार एन्ड बेन्च


नेपालखबर
साउन ८, २०८३ शुक्रबार १३:५, काठमाडौँ

भारत भ्रमण रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित पाँच देशका वरिष्ठ न्यायाधीशलाई भारतीय सर्वोच्च अदालतमा स्वागत गरिएको छ। 

भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्य कान्तले शुक्रबार सर्वोच्च अदालतको इजलास नम्बर १ मा लगेका थिए। त्यही पाहुनाहरूको परिचय गराएका थिए। 

नेपालका प्रधानन्यायाधीश शर्मासँगै बेलायतको सर्वोच्च अदालतका न्यायाधीश, भुटानको सर्वोच्च अदालतका न्यायाधीश, ब्राजिल र केन्याका न्यायाधीशहरू भारत भ्रमणमा रहेका छन्। 

भारतको सर्वोच्च अदालतमा भारतका महान्यायाधिवक्ता आर वेन्कटारमणिले प्रतिनिधिमण्डललाई स्वागत गर्दै भारतलाई विविध परम्परा र न्यायिक मूल्य-मान्यताको संगमस्थलको रूपमा वर्णन गरेका थिए। ‘भारत संस्कृति र मूल्य-मान्यताको संगम हो,’ उनले भने। 

शुक्रबार साँझ अन्तरक्रिया समेत हुने उनले जानकारी दिए। त्यसमा भारतीय न्यायशास्त्रबारे थप जानकारी गराइने उनले बताए। 

त्यस्तै, सोलिसिटर जनरल तुषार मेहताले छोटो भ्रमण भए पनि यसमा भारतको न्यायशास्त्रबारे जानकारी प्राप्त हुने बताए। ‘विविधतायुक्त भारत उत्कृष्ट देशहरूमध्ये एक हो। तर भारतजस्तो देशलाई बुझ्न र घुम्न दुई दिनको समय निकै कम हो,’ उनले भने। 

विदेशी न्यायाधीशहरूको स्वागतलाई गर्दै सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता विकास सिंहले यो भ्रमणको महत्वमाथि चर्चा गरे। ‘यो एउटा महत्त्वपूर्ण क्षण हो र हामी सबै न्यायाधीशहरूलाई युनसिट्रलको ६०औँ वार्षिकोत्सवमा स्वागत गर्दछौँ,’ उनले भने।

संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय व्यापार कानून आयोग (युनिसिट्रल) को ६०औँ वार्षिकोत्सव मनाउनुअघि यो भेला आयोजना गरिएको हो। संयुक्त राष्ट्रसंघीय महासभाद्वारा सन् १९६६ मा स्थापित युनिसिट्रलले अन्तर्राष्ट्रिय व्यापार कानुनको सामञ्जस्यता र आधुनिकीकरणका लागि भूमिका निर्वाह गर्छ। यो वर्ष युनिसिट्रलको ६०औँ वार्षिकोत्सव मनाइँदै छ। 

वार्षिकोत्सवका अवसरमा युनिसिट्रलले जुलाई २०२६ देखि जुलाई २०२७ सम्म सदस्य राष्ट्रमा विभिन्न कार्यक्रम आयोजना गर्न लागेको छ। अन्तर्राष्ट्रिय व्यावसायिक कानुनको विकासबारे छलफल गर्न न्यायाधीश, सरकार, शिक्षाविद् र मध्यस्थता विज्ञहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो। 

यसै सिलसिलामा नेपालका प्रधानन्यायाधीश शर्मासहित पाँच देशका वरिष्ठ न्यायाधीश दिल्ली पुगेका छन्। भारतीय प्रधानन्यायाधीश कान्तको निमन्त्रणामा शर्मा बिहीबार शर्मा भारत प्रस्थान गरेका थिए। 

प्रधानन्यायाधीश शर्मा नेतृत्वका टोली साउन ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad