मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ दलसंहमा भिरबाट लडेर मृत्यु भएको अवस्थामा एक महिलाको शव फेला परेको छ।
उक्त शव सोही ६० वर्षीया रविमाया भोम्जमको रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भोम्जन मंगलबार साँझ ८ बजे सामान किन्न भन्दै घरबाट निस्किएकी थिइन्। बुधबार बिहान उनको शव फेला परेको हो।
पसल गएकी उनी राति घर नफर्किएपछि स्थानीयले खोजी गर्ने क्रममा आज बिहान १० बजे दलसंहस्थित भिरखर्कको बाटोबाट करिब ३ सय मिटर तल मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घटनाको खबर प्राप्त हुने बित्तिकै अस्थायी प्रहरी पोस्ट मार्खुबाट प्रहरी टोली खटिएको थियो। घटनाको थप अनुसन्धान तथा मुचुल्का उठाउन इलाका प्रहरी कार्यालय भिमफेदीका प्रमुख सन्तकुमार श्रेष्ठको टोली र पालुङ प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको छ।
हाल मृतकको शव भिरबाट निकाल्ने कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।
Shares

प्रतिक्रिया