समाज


चितवनमा प्राधिकरण प्रमुख कुटपिट घटना: डीएसपीको कमान्डमा ३ सदस्यीय छानबिन समिति

चितवनमा प्राधिकरण प्रमुख कुटपिट घटना: डीएसपीको कमान्डमा ३ सदस्यीय छानबिन समिति

नेपालखबर
चैत १४, २०८१ बिहिबार १९:५१, हेटौँडा

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लेखिएको अपशब्दका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डीएसपी) रवीन्द्र खनालको कमान्डमा बिहीबार (आज) छानबिन समिति गठन गरिएको हो। 

डीएसपी खनालको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयका चितवनमा प्रमुख प्रशासकीय अधिकृत विकास खनाल र राष्ट्रिय अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत अजय शर्मा छानबिन समितिमा छन्। 

उक्त छानबिन समितिले वितरण केन्द्रको डिजिटल बोर्डमा डिस्प्ले भएको अपशब्दको विषयमा र प्राधिकरणको वितरण केन्द्रको कार्यालय तोडफोड गर्ने टोलीको छानबिन गर्ने जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले बताए। 

उनका अनुसार विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कार्यालय प्रमुख वरिष्ठ इन्जिनियर रामु श्रेष्ठ चितवन फर्किएपछि छानबिन प्रक्रिया अघि बढाउन सजिलो हुनेछ। 

प्रमुख श्रेष्ठ घटना घटेको दिन नै उपचार गराउन काठमाडौँ गएको बताउँदै आएका छन्। 'एक समूहले कार्यालय प्रमुखज्यूको कार्यकक्षमा ताला लगाइदिएछन्। म आफैँ गएर ताला खोलिदिएँ, प्रमुख जिल्ला अधिकारी पौडेलले नेपालखबरसँग भने, ‘उहाँ (श्रेष्ठ) लाई चोटपटक लागेको छ कि? उपचार गराउन पर्छ कि? भनेर सोधेको थिएँ। सामान्य हो। पर्दैन भन्नुभएको थियो। त्यसपछि म फर्किएँ। प्रमुखज्यु काठमाडौँ हिड्नुभएछ। उहाँ चितवनमै हुनुहुन्थ्यो भने यो केसको किनारा लागिसक्थ्यो।’

सिडिओ पौडेलका अनुसार वितरण केन्द्रका प्रमुख श्रेष्ठलाई सोधिएको २४ घण्टे स्पष्टीकरणको जवाफ भने पठाइसेका छन्। उनले दिएको लिखित स्पष्टीकरणमा पनि डिस्प्ले ह्याक भएको र ह्याक गर्नेलाई कारबाही गरिपाउँ भन्ने उल्लेख गरिएको छ। बोर्ड ह्याक गरेर आफूलाई फसाइएको श्रेष्ठले बताएका छन्। 

यता, जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन्द्र खनालको संयोजकत्वमा बनेको छानबिन टोलीले यस विषयमा पनि छानबिन सुरु गरेको छ। कार्यालयमा भएका सीसीटीभी फुटेज हेर्ने देखि उक्त डिजिटल बोर्डमा सार्वजनिक भएको अपशब्दको विषयमा छानबिन गर्ने बताइएको छ। कार्यालयबाट उजुरी प्राप्त भएदेखि आवश्यक प्रारम्भिक छानबिन भैरहेको उनको भनाइ छ। 

यस्तै, विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको कार्यालय तोडफोड गरिएको भन्दै कार्यालयका प्रशासन प्रमुख ले जिल्ला प्रहरी कार्यालय, चितवनमा उजुरी दिएका थिए। किटानी जाहेरी नदिएका कारण छानबिन गरेर मात्रै कारवाहीको प्रक्रिया अघि बढाइने चितवन प्रहरी प्रवक्ता एवंम् डीएसपी घिमिरेले बताए। कार्यालय तोडफोड गर्ने र डिजिटल बोर्डमा अवशब्द पोस्ट गर्ने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याइने उनको भनाइ छ। 

गत सोमबार दिउँसो १२ बजेदेखि १ बजेसम्म यो नारा डिस्प्लेमा देखिएको थियो। बिजुलीको बिल तिर्न कार्यालय परिसर पुगेका सेवाग्राहीले हो–हल्ला गरेपछि १ बजेको समयमा उक्त नारा हटाइएको सत्तारुढ नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ, चितवनको दाबी छ। 

त्यसको भोलिपल्ट अर्थात् मंगलबार बिहान १० बजे युवा संघका नेताहरू विज्ञप्ती लिएर कार्यालय प्रमुख श्रेष्ठ समक्ष पुगेका थिए। तर उनले विज्ञप्ती लिन नमानेर कार्यकक्षबाट बाहिरिन खोजेपछि तनाव सिर्जना भएको बताइएको छ। 

उक्त दिनदेखि काठमाडौँ पुगेका भरतपुर विद्युत् वितरण केन्द्रका कार्यालय प्रमुख श्रेष्ठ चितवन फर्किएका छैनन्। घटनालाई अतिरञ्जित बनाउन आफ्नै कार्यालयका कर्मचारीले फेसबुकमा राखिदिएको उनले बताएका छन्। आफूसँग असन्तुष्ट कर्मचारीका कारण समस्या सिर्जना भएको उनको दाबी छ।

प्रधानमन्त्री ओलीविरुद्धको नारा डिस्प्ले भएको घटनाबारे छानबिन हुनुपर्ने माग गर्दै प्राधिकरणका कर्मचारीहरूको संयुक्त हस्ताक्षर सहितको विज्ञप्ति सार्वजनिक गरिएको थियो। यता, छानबिनमा आवश्यक परेको खण्डमा फरेन्सिक ल्याबसम्मको प्रयोग गर्ने योजना बनाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad