राजनीति


संविधानसभाबाट बनेको संविधान हट्नेवाला छैन : देउवा

संविधानसभाबाट बनेको संविधान हट्नेवाला छैन : देउवा

नेपालखबर
चैत १४, २०८१ बिहिबार १९:५२, ललितपुर

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान संविधान जनताको चाहना बमोजिम बनेकाले यसको सफल कार्यान्वयनमा जोड दिएका छन्। 

नेपाली कांग्रेसको मानव अधिकार विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘मानवअधिकारप्रति नेपाली कांग्रेसको प्रतिबद्धता, व्यवहार र  वास्तविकता’ विषयक कार्यक्रममा सभापति देउवाले संविधानले सम्पूर्ण नागरिकलाई समेटेको उल्लेख गर्दै यसको कार्यान्वयन महत्वपूर्ण भएको बताए।

‘देशमा प्राप्त संविधानअनुसार राज्यको सबै तहमा समावेशी, समानुपातिक प्रतिनिधित्व भएको छ, यो सम्पूर्ण नेपाली जनताले संविधानसभामार्फत जनताको इच्छाअनुसार गणतन्त्र आएको हो, यो हट्नेवाला छैन, हट्ने कुरा पनि छैन’, उनले भने।

सभापति देउवाले राजतन्त्र पुनःस्थापित हुने विषय असम्भव भएको बताए। 

‘प्रजातन्त्र कुनै हालतमा पनि हट्न सक्दैन, लोकतन्त्र र गणतन्त्रलाई स्थायी गराउने काममा लाग्नु जरुरी छ। बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत हामी सबैले यो व्यवस्था ल्याएका हौँ’, उनले भने।

नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले संविधानअनुसार प्राप्त अभिव्यक्तिको स्वतन्त्रताको उपयोग गर्दै अरूको अधिकारको हनन नहुने गरी सबै किसिमका अधिकतम सदुपयोग गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।

संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले मानवअधिकारप्रति नेपाली कांग्रेसको प्रतिबद्धता, व्यवहार र वास्तविकता विषयमा कार्यपत्र प्रस्तुत गरे। उनले नेपाली कांग्रेसले स्थापनादेखि नै मानवअधिकारका पक्षमा काम गर्दै आएको उल्लेख गरे। 

कांग्रेसले नै जनतालाई रैतीबाट जनतामा परिणत गरेको बताउँदै कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको २०४७  संविधानमा स्वतन्त्रतासम्बन्धी हक कायम भएको र अघिल्लो संविधानमा भएको मृत्युदण्ड दिने व्यवस्था हटाएर मानवअधिकार संरक्षणका पक्षमा उत्कृष्ट काम गरेको उनको धारणा छ।

विभागका प्रमुख एवं केन्द्रीय सदस्य धना खतिवडाले मानवअधिकार र लोकतन्त्रविना समाज समृद्ध बन्न सक्दैन भन्दै समाजमा आज पनि कायम रहेको हिंसा, असमानता हटाउनका लागि क्रियाशील भएर लाग्नुपर्ने अवस्था रहेकामा जोड दिइन्। 

उनले समाजमा भएका मानवअधिकार उल्लङ्घनका घटनाहरूको चर्चा गर्दै मानवअधिकार हननका घटनामा परेर पीडितलाई क्षतिपूर्तिको व्यवस्थामा ध्यान दिनुपर्नेमा ध्यानाकर्षण गराइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad