ad ad

समाज


नारायणी नदी तटबन्धन गर्न बजेट अभाव

नारायणी नदी तटबन्धन गर्न बजेट अभाव

फाइल तस्बिर


नेपालखबर
साउन २२, २०८१ मंगलबार १०:२, चितवन

नारायणी नदीमा तटबन्धनका लागि लगाइएको ठेक्काको काम बजेटका कारण प्रभावित हुने भएको छ। ठेकेदार कम्पनीहरूले गत वर्षको रु ४० करोडभन्दा बढी भुक्तानी नपाउँदा काममा समस्या हुन लागेको हो।

गत वर्षको कामको भुक्तानी यस वर्ष विनियोजन भएको बजेटबाट आंशिक गरिएको छ। नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मनोहरकुमार साहका अनुसार गत वर्षको भुक्तानी गर्नुपर्ने रु एक अर्ब १३ करोड ६४ लाखमध्ये रु ५७ करोड भुक्तानी गरिएको छ। 

पेश्कीसहित हिसाब मिलान गर्दा गत वर्षको रु ४० करोडभन्दा बढी काम गरेको भुक्तानी दिन बाँकी रहेको उनले बताए।

आयोजना सबै सम्पन्न गर्न रु तीन अर्ब ९५ करोड खर्च हुन्छ। हालसम्म रु दुई अर्ब भुक्तानी भइसकेको छ। निर्देशक साहले भने, ‘यस आर्थिक वर्षको असार मसान्तसम्ममा सबै काम सम्पन्न गर्नुपर्ने छ, तर बजेट छैन।’ 

चालु आवका लागि विनियोजन गरिएको रकम गत वर्षको भुक्तानीमा गइसकेकाले यस वर्ष काम गर्नका लागि बजेट नभएको उनले बताए।

‘चालु आवमा ठेक्काअनुसार काम सम्पन्न गर्न कम्तीमा रु एक अर्ब ९५ करोड आवश्यक छ,’ उनले भने। 

आयोजनाले चितवनमा नारायणी नदी तटबन्धका लागि लगाएका पाँच ठेक्कामध्ये दुईवटा सम्पन्न भएका छन्। तीमध्ये एउटा पूरै भुक्तानी गरिएको छभने अर्को एउटाको भुक्तानी दिन बाँकी छ । नवलपरासीतर्फ छवटा ठेक्कामध्ये एउटा सम्पन्न भएको छ । यसै आयोजनाले काम गरेको कयरखोलाको दुईवटा ठेक्का सम्पन्न भए पनि भुक्तानी बाँकी छ।

आयोजनाले नदीको चितवन र नवलपरासीतर्फ रु चार अर्ब ७२ करोड अर्थ मन्त्रालयबाट विसं २०७८ मङ्सिरमा स्रोत सुनिश्चितता गरेर त्यसलगत्तै विभिन्न खण्डमा ठेक्का लगाएको थियो। दुई जिल्लामा गरी ११ वटा प्याकेजमा ठेक्का लगाइएको थियो। चितवनतर्फ पाँच र नवलपरासीतर्फ छ प्याकेजमा ठेक्का लगाइएको थियो।

निर्देशक साहले पटकपटक अर्थ मन्त्रालयमा बजेटका लागि आग्रह गरिएको बताए। निर्माण कम्पनीहरूले पेस गरेका बिलअनुसारको भुक्तानी नपाउँदा समस्या भएको भन्दै दबाब दिइरहेको उनको भनाई छ। 

नारायणी नदीको चितवनतर्फ २० किलोमिटर र नवलपरासीतर्फ १० दशमलव पाँच किलोमिटर तटबन्ध गर्न लागिएको हो। तटबन्धको काम गरिएसँगै काम भएका क्षेत्रमा बाढीबाट जोगिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .