नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ कार्यसमितिको निर्वाचन मंगलबार हुँदै छ।
उक्त निर्वाचनमा अध्यक्षमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट विष्णुप्रसाद गैरेको उम्मेदवारी परेको छ भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रगतिशील समूहबाट भने अध्यक्षमा सरोजकुमार पोखरेलले उम्मेदवारी दिएका छन्।
प्रगतिशीलमा प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरी, सचिवमा सन्जु गुरूङ र कोषाध्यक्षमा तेजमाया लिम्बू (तेजु) ले उम्मेदवारी दिएका हुन्। सदस्यमा होमप्रसाद तिमिल्सिना, दलवीर भण्डारी, ओमबहादुर न्यौपाने, सरिता घले, सोमबहादुर तामाङ, बाबुराम खड्का, नुर महोम्मद मियाँ, दोर्जे शेर्पा, केदारनाथ अधिकारी र वीरेन्द्रकुमार यादवले उम्मेदवारी दिएका छन्।
लोकतान्त्रिक समूहको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङले उम्मेदवारी घोषणा गरेका छन्। यसैगरी सदस्यमा दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बू, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जङ्गबहादुर इजम र लक्ष्मण पौडेलको उम्मेदवारी घोषणा गरिएको छ।
संघको २७औँ साधारणसभा सोमबार हुन लागेको हो। उक्त साधारणसभामा निर्वाचन भई नयाँ कार्यसमिति चुनिनेछ। लोकतान्त्रिक प्यानलका विष्णु कुमार गैरे भन्छन्, ‘दुई वर्षदेखि प्रगतिशीलको नेतृत्व रहँदै आएको छ, तर यो नेतृत्वले कुनै पनि काम गर्न सकेन, दुई वर्षमा धेरै मुद्दाहरु निस्किए तर उनीहरुले केही पनि ठोस काम गर्न सकेनन्। त्यसकारण अब लोकतान्त्रिक प्यानलको नेतृत्व आवश्यक छ।’
व्यवसायीहरुलाई सहजी र सबलीकरण गर्ने सरकारले लिएको नीति व्यवसायीमैत्री समेत बनाउने आफ्नो योजना रहेको बताए। प्रगतिशीलको अहिले खासै मुद्दा नै देखिएको छैन। उनीहरुले सबै व्यवसायीहरुलाई समेट्ने खालको कुरा मात्रै गरेका छन्। यो भनेको कुनै पनि विषय ठोस रुपमा समाधान गर्नु नसक्नु र आगामी दिनमा पनि गर्न नसक्नु रहेको उनको भनाइ छ।
त्यस्तै, प्रगतिशील प्यानलका अध्यक्षका उम्मेदवार सरोज कुमार पोखरेल प्रगतिशील प्यानलले सबै रोजगार व्यवसायीसँग सहकार्य गरेर हिँडिरहेको बताउँछन्। त्यस्तै व्यवसायीहरुको समस्याको बारेमा पनि आवाज उठाउँदै त्यसलाई समाधान गर्ने प्रयास गरिरहेकोले पनि जित निश्चित रहेको उनको भनाइ छ।
पछिल्लो समय मलेसियाको रोजगारी खुलाउन पनि आफूहरुले ठूलो पहल गरेको उनको तर्क रहेको छ।

प्रतिक्रिया