ad ad

समाज


हिरासतबाट रविले किन भनेः मलाई प्रहरीबाटै खतरा छ?

हिरासतबाट रविले किन भनेः मलाई प्रहरीबाटै खतरा छ?

नेपालखबर
भदौ ४, २०७६ बुधबार १५:५०,

पत्रकार शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका चर्चित टेलिभिजन पत्रकार रवी लामिछानेले आफूलाई प्रहरीबाटै खतरा रहेको बताएका छन्।

पत्नी निकितामार्फत सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै रवीले लेखेका छन्, ‘पाँचौ दिनसम्म मैले प्रहरीसँग आफूलाई सुरक्षित महसुस गरेको थिएँ, तर, आजबाट भने म प्रहरीसँग असुरक्षित महसुस गरेको छु।’

निकिता पौडेलले रवीका तर्फबाट सामाजिक सञ्जालमा गरेको पोष्टमा उनीसँगै युवराज कँडेल र अस्मिता कार्की रुकुको बयानबाट घटनामा आफूहरुको कतै संलग्नता नदेखिएको स्पष्ट हुँदाहुँदै प्रहरीले फसाउनका लागि पुनः म्याद थपेको जिकीर गरेका छन्।

हिरासतबाटै रवीले अनुसन्धानमा संलग्न प्रहरी अधिकारीप्रति केही प्रश्न पनि उठाएका छन्। ‘एसपी दानबहादुर मल्लजीले शालिकजीको भिडियो प्रहरीसँग मात्रै सुरक्षित छ भनेर दाबी गरिहेका बेला उक्त भिडियो को बाट कसरी लिक गरियो, भन्ने विषयमा अनुसन्धान अगाडि बढाउनुपर्ने थियो कि थिएन, र अर्को कुरा यदी त्यो भिडियो परिवारका सदस्यबाट बाहिरिएको हो भने परिवारलाई पनि उक्त भिडियो बाहिरिएको विषयमा सोधपुछ गर्नु पर्छ कि पर्दैन?’ उनले सोधेका छन्।

आफूलाई पाँच वर्ष जेलमा सडाउने षडयन्त्र भएको दाबी गर्दै रवीले हिरासतबाट बाहिर निस्किन पाए पाँच मिनेटमै याे घटनामा आफ्नाे संलग्नता नभएकाे प्रमाणित गरिदिन सक्ने दाबी पनि गरेका छन्।

रवी पत्नी निकिताले साे भिडियाे बाहिरिएकाे सम्बन्धमा चितवनका एसपी मल्लसहित तीन जनाबिरुद्ध बुधबार काठमाडाैं प्रहरीमा जाहेरी दिन खाेज्दा प्रहरीले जाहेरी लिन मानेकाे थिएन।

गत साउन २१ गते चितवनमा मृत भेटिएका पत्रकार पुडासैनीले मृत्यु अघि पूर्व सहकर्मी रवी लामिछानेसहित तीन जनालाई पाेलेकाे भिडियाे सार्वजनिक भएपछि उनीहरु प्रहरी हिरासतमा छन्। मंगलबार दाेस्राेपटक थप पाँच दिनका लागि म्याद थप गरी अनुसन्धान अघि बढाइएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .