नेपाल र भारतबिचको पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात गरिएका मालसामान बोकेर कोलकाताबाट हिँडेको पहिलो कार्गो रेल ३ दिनपछि विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) को नेपाल कस्टम यार्डमा आइपुगेको छ।
भारतीय रेल्वेमार्फत सिधै विराटनगर भन्सारसम्म कार्गो रेल आइपुगेसँगै पूर्वी नेपालका उद्योगी तथा व्यवसायीहरूमा नयाँ उत्साह छाएको छ।
गत शुक्रबार कोलकाता बन्दरगाहमा आयोजित विशेष समारोहका बिच कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, बन्दरगाह प्राधिकरण तथा भारतीय कन्टेनर निगम लिमिटेड (कोनकोर) का उच्च अधिकारीहरूले संयुक्तरूपमा उक्त रेललाई बिदाइ गरेका थिए।
पहिलो यात्रामा स्वस्तिक आयल इन्डस्ट्रिजका लागि आयात गरिएको कच्चा पदार्थ बोकेका ४० फिट क्षमताका ४० वटा कन्टेनरहरू विराटनगर आइपुगेका छन्।

ढुवानीको पूर्ण सुरक्षा र पारदर्शिताका लागि सबै कन्टेनरहरूमा आधुनिक इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ईसीटीएस) जडान गरिएको छ।
यो सेवा पूर्णरूपमा सञ्चालनमा आउँदा एक पटकमा ४५ वटासम्म ठूला कन्टेनरहरू रेलमार्फत सिधै विराटनगर ल्याउन सकिनेछ।
२०८० जेठमा दुवै देशका प्रधानमन्त्रीहरूले यस मार्गको उद्घाटन गरे पनि नीतिगत जटिलताका कारण सेवा रोकिँदै आएको थियो।
पछि भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्ड (सीबीआईसी) ले नियमावली संशोधन गरेपछि यो सेवाले स्थायी र औपचारिक रूप लिएको हो।
यसअघि वीरगन्जमा मात्र सीमित रहेको यो सुविधा पूर्वी नेपालको प्रमुख औद्योगिक कोरिडोरमा विस्तार भएपछि व्यवसायीहरू निकै उत्साहित बनेका छन्।
सडक मार्गको तुलनामा रेलमार्फत् ढुवानी गर्दा व्यवसायीहरूको खर्च ४० प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ।
यसअघि भारतीय सीमावर्ती बथनाहा स्टेसनसम्म मात्र रेल आउने र त्यहाँबाट पुनः ट्रकमार्फत ल्याउँदा दोहोरो लोड-अनलोडको झन्झट र अतिरिक्त खर्च बेहोर्नुपर्ने बाध्यता थियो, जुन अब पूर्ण रूपमा हटेको छ।

साथै बन्दरगाहमा कन्टेनर रोकिँदा लाग्ने महँगो डिटेन्सन र विलम्ब शुल्क घट्दा नेपाली उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि हुने विश्वास लिइएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र उद्योग संगठन मोरङका अध्यक्ष नन्द किशोर राठीले सोझै नेपाली कस्टम यार्डमै रेल कार्गो भित्रिनुलाई लामो समयको मेहनतको ठूलो उपलब्धिका रूपमा लिएका छन्।
यद्यपि विराटनगर कस्टम यार्डको पूर्वाधार व्यवस्थापनमा भने ध्यान दिनुपर्ने उद्योगीहरूको भनाइ छ। यार्डमा सामान अनलोड गर्दा पानी, घाम वा अन्य प्राकृतिक कारणले कच्चा पदार्थ तथा मालसामान नष्ट नहुने गरी सुरक्षित र व्यवस्थित भण्डारणको प्रबन्ध मिलाउन सके मात्र यो सेवाले निरन्तरता पाउने र यस क्षेत्रको औद्योगिक विकासमा कोसेढुंग साबित हुने व्यवसायीहरू बताउँछन्।







Shares

प्रतिक्रिया