प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई पक्राउ गराउने प्रयास विफल भएपछि राजीनामाको निर्देशन दिएको खुलासा भएको छ।
पेट्रोलियम पदार्थको मूल्य आफूखुसी घटाएको र त्यससम्बन्धी सूचना चुहाएको आशंकामा मन्त्री यादवलाई थुनेर सोधपुछ गर्न प्रधानमन्त्री शाहले आईजीपी दानबहादुर कार्कीलाई गत असार १६ को राति निर्देशन दिएका थिए। तर, सो प्रयास असफल भएपछि प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार बेनले मन्त्री यादवलाई फोन गरेर राजीनामा दिन भनेका थिए।
‘प्रधानमन्त्री र उहाँको सचिवालयले मन्त्री यादवलाई प्रहरी लगाएर पक्राउ गर्न खोज्नुभयो। त्यो सम्भव नभएपछि कुमार बेनले राति नै फोन गरेर राजीनामा दिन भन्नुभएछ,’ एक मन्त्रीले नेपालखबरसँग भने।
बेनलाई जवाफ दिँदै मन्त्री यादवले आफू ‘राजीनामा दिन तयार रहेको तर राजीनामा पत्रमा कारण पनि खुलाउने’ जवाफ दिएकी थिइन्।
‘म राजीनामा त दिन्छु। तर, राजीनामा पत्रमा अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएर जनतालाई राहत दिँदा राजीनामा मागेको कारण पनि खुलाउँछु,’ उद्योगमन्त्री यादवले फर्काएको जवाफ उधृत गर्दै ती मन्त्रीले भने, ‘त्यसपछि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन पछि हट्नु भएजस्तो छ। त्यसपछि गौरीको विषयमा फेरि त्यस्तो कुरा उठेको सुनिएको छैन।’
आयल निगमले असार १६ गते राति १० बजेर ३१ मिनेटमा पेट्रोलिम पदार्थको मूल्य घटाएको सूचना सार्वजनिक गरेको थियो। निगमले असार १६ गते रातिबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ, डिजेलमा ३० रूपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १०० रूपैयाँ मूल्य घटाएको थियो।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको सचिवालयबाट यो सूचना राति ११ बजेर ५८ मिनेटमा मिडियालाई फेरि सेयर गरिएको थियो। तर पेट्रोलियम पदार्थको मूल्य आफूखुसी घटाउन लगाएको र त्यसअघि नै सो सूचना पेट्रोल पम्प व्यापारीलाई चुहाएको आशंका प्रधानमन्त्रीलाई साँझपख नै भइसकेको थियो।
प्रधानमन्त्री शाहको सचिवालयका एक सदस्यका अनुसार मन्त्रीले यो निर्णय आफूखुसी गरेकी थिइन्। त्यसमाथि उनले केही व्यापारीसँग भेटघाट गरेको सूचना पनि प्रधानमन्त्री कार्यालय पुगेको थियो। जसले गर्दा उद्योगमन्त्री यादवसँँग प्रधानमन्त्री शाह आक्रोशित थिए।
पेट्रोलियम पदार्थको मूल्य घटाउने सम्बन्धी सूचना चुहाएको आशंकामा त्यस साँझ नेपाल प्रहरीका साथै राष्ट्रिय अनुसन्धान विभागलाई पनि मन्त्री यादवको अवस्थाबारे बुझ्न भनिएको थियो। प्रधानमन्त्री शाहले राति सिधै फोन गरेर सांसदसमेत रहेकी बहालवाला मन्त्रीलाई तत्कालै पक्राउ गर्न आदेश दिएपछि आईजीपी कार्की आत्तिएका थिए।
‘असार १६ गते राति साढे १० बजेतिर प्रधानमन्त्रीको फोन आयो। आईजीसाप रनभुल्लमा पर्नुभयो। यस्तो आदेश आयो भनेर सुरुमा उहाँले संगठनको उच्च तहमा छलफल गर्नुभयो। त्यसपछि तत्काल पक्राउ नगरी मन्त्रीलाई निगरानीमा मात्र राखिराख्ने कुरा भयो। त्यही अनुसार उहाँको निवासमा रातिबाटै निगरानी बढाएका थियौँ,’ यो घटनाबारे नजिकबाट जानकार एक सुरक्षा अधिकारीले नेपालखबरसँग भने।
मध्यराति प्रहरीको टोलीले आफ्नो सिनामंगलस्थित घरमा निगरानी बढाएपछि मन्त्री यादवले तत्कालै पार्टी सभापति रवि लामिछानेलाई फोन गरेकी थिइन्। यस विषयमा सभापति लामिछानेसँग छलफल गरेपछि आईजीपी कार्कीले सांसदलाई पक्राउ गर्न संसद् सचिवालयको सहमति लिनुपर्ने भन्दै सम्झाएर प्रधानमन्त्री बालेनलाई ब्याक गराएका थिए।
मन्त्री यादवलाई राति नै पक्राउ गर्ने प्रयास असफल भएपछि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले उनीसँग राजीनामा मागेका थिए। तर ‘राजीनामा पत्रमा कारण खुलाउने’ जवाफपछि बेन पनि ब्याक भएको मन्त्री यादव निकटहरू बताउँछन्।
रविको ढाडसले बढ्यो यादवको मनोबल
प्रधानमन्त्रीका सल्लाहकार बेनलाई दिएको जवाफपछि मन्त्री यादवले राजीनामा बुझाइनन्। मन्त्री यादवमाथि भएको घटनाबारे रास्वपा सभापति रवि लामिछानेको गहिरो चासो छँदै थियो। प्रधानमन्त्री कार्यालयको शैली र व्यवहारबारे मन्त्री यादवले पछि सभापति लामिछानेसँग भेटेरै कुराकानी गरेकी थिइन्।
‘रवि दाइले प्रधानमन्त्री र उनको सचिवालयबाट केही भने भनेर नआत्तिनू भन्नुभएको छ,’ उद्योगमन्त्री यादवको सचिवालयका एक सदस्यले भने, ‘ढुक्क भएर काम गर्नू, केही चिन्ता नलिनू, तपाईं सुरक्षित हुनुहुन्छ भन्नुभएको छ।’
सभापति लामिछानेको ढाडसपछि प्रधानमन्त्रीको त्रासबाट मुक्त भएर मन्त्री यादवले मनोबल बढाएर काम गरिरहेको उनको भनाइ छ।
‘पछिल्ला दिनमा मन्त्रालयमा सुशान्त वैदिक माननीयको आवतजावत पनि रोकिएको छ,’ ती सदस्यले भने, ‘धेरै कुरामा उहाँको हस्तक्षेप रहन्थ्यो। केही कुरामा प्रधानमन्त्रीको सचिवालयमा सोध्नुपर्यो। अहिले उहाँहरूको हस्तक्षेप छैन भन्दा हुन्छ।’
१३ गते प्रधानमन्त्री बनेका बालेनले चैत २७ गतेसम्म प्युठानबाट निर्वाचित रास्वपा सांसद वैदिकलाई उद्योग मन्त्रालयमा अघोषित मन्त्रीका रूपमा खटाएका थिए।
उनका लागि मन्त्रालयमा छुट्टै कार्यकक्ष समेत खडा गरिएको थियो। चैत २७ मा गौरीकुमारी यादव मन्त्री भएपछि पनि वैदिक बेलाबखत मन्त्रालयमा जाने गरेका थिए। प्रधानमन्त्री शाह र मन्त्री यादवबीच विवाद बढेपछि सांसद वैदिक पनि मन्त्रालय जान छाडेको कर्मचारीहरू बताउँछन्।
प्रधानमन्त्री शाहको सचिवालयबाट अस्वाभाविक हस्तक्षेप भएको विषयमा सार्वजनिक रूपमा प्रश्न उठ्न थालेपछि मन्त्री र कर्मचारीहरूको मनोबल बढेको छ।
‘प्रधानमन्त्रीको सचिवालयका सदस्यको अनावश्यक हस्तक्षेप केही रोकिएको छ। आफूहरूमाथि प्रश्न उठ्दा केही रक्षात्मक देखिनु भएको छ,’ पूर्वाधार मन्त्रालयका एक सहसचिवले भने, ‘राजनीतिक कार्यकारी र प्रशासनिक नेतृत्वबीच कुनैकुनै विषयमा वाद–प्रतिवादसम्म हुन थालेको छ। मन्त्री र स्वकीयहरूले भनेको कुरा मिलेसम्म गरेर जाने नतिजामा चासो नराख्ने अवस्था थियो। त्यो फेरिँदै छ।’
Shares

प्रतिक्रिया