ad ad

राजनीति


हिन्दु धर्म कायम गरिए राजतन्त्र पुनर्वहाली हुन्छः केसी

हिन्दु धर्म कायम गरिए राजतन्त्र पुनर्वहाली हुन्छः केसी

नेपालखबर
भदौ ४, २०७६ बुधबार १५:१८,

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा हिन्दु राज्य कायम गर्ने र त्यसैका आधारमा पुनः राजतन्त्र फर्काउने खेल भइरहेकाे बताएका छन्।

बुधबार राजमोले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार सम्मेलनमा अध्यक्ष केसीले २०६२/०६३ सालको संयुक्त जनआन्दोलनका मुख्य उपलब्धि गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षता विरुद्ध गम्भीर खतरा उत्पन्न भएको बताए। पूर्वराजा, राजावादी र नेपाली कांग्रेसका नेताहरुले समेत धर्म निरपेक्षताको विरोध गरेका उल्लेख गर्दै केसीले भने, ‘यदि धर्म निरपेक्षता समाप्त भयो भने नेपाल हिन्दूराष्ट्र घोषणा हुनेछ र त्यस आधारमा राजतन्त्र पुनःस्थापना हुन सक्ने खतरा छ।’

अध्यक्ष केसीले नेकपाको सरकारले सही प्रकारले काम गर्न नसकेको आरोप पनि लगाए। ‘कतिपय कार्यमा त्यो असफल पनि भएको छ। सरकारप्रतिको असन्तोषको कारणले स्वयं गणतन्त्रप्रति पनि विरोध बढेर जाने सम्भावना छ’ केसीले भने।

यस्तै, उनले संघीयताले नेपालको राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता र सार्वभौम सत्तामाथि खतरा उत्पन्न भएको दोहोर्याए।

पत्रकार सम्मेलनमार्फत राजमोले लोकतान्त्रिक गणतन्त्र राष्ट्रियता र धर्म निरपेक्षताको रक्षाका लागि संघर्षको घोषणा पनि गरेको छ।

राष्ट्रिय जनमोर्चा र विभिन्न जनवर्गीय संगठनहरुले भिन्दाभिन्दै एजेण्डाहरुमा संघर्ष संगठित गर्ने योजना बनाएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। घोषित कार्यक्रम अनुसार राष्ट्रिय जनमोर्चाले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षता, युवक मोर्चाले नागरिकता समस्या र भ्रष्टाचार, विद्यार्थी मोर्चाले संघीयता, महंगी र करबृद्धि, किसान मोर्चाले कृषि, भूमिसुधार र तराईका जनतामाथि भइरहेका शोषण, उत्पीडन तथा भारतले निर्माण गरेका बाँधहरुका कारणले उत्पन्न डुबानका समस्याहरु समेत, मजदुर मोर्चाले मजदूरका समस्या, महिला मोर्चाले निर्मला पन्तको बलात्कार र हत्या सहित महिला हिंसा तथा अन्य महिला समस्या, जनजाति मोर्चाले जातीय तथा जनजातिका समस्या, समता मोर्चाले सामाजिक भेदभाव र छुवाछूत समेतका समस्या र अन्य मोर्चाहरु– बुद्धिजीवी, शिक्षक, वकिल, पत्रकार, लेखक, प्रवासका एकता समाजहरु सबैले आ–आफ्ना समुदायका समस्या र हक अधिकारका विषयहरुमा देशव्यापी संघर्ष गर्ने निर्णय गरेका छन्।

राजमोले असोज १० गते एकै दिन ७ वटै प्रदेशहरुमा प्रदेशस्तरका सभा आयोजना गर्ने भएको छ। जसमा प्रदेश न. १ को इटहरीमा पूर्व सभासद मिना पुनले सम्बोधन गर्नेछन् भने २ नं प्रदेशको वीरगञ्जमा आयोजना हुने सभालाई अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्ने कार्यक्रम छ। यस्तै,३ नं प्रदेशको काठमाडौंमा पूर्व सभासद रश्मीराज नेपाली, गण्डकी प्रदेशको पोखरामा प्रतिनिधिसभा सदस्य दुर्गा पौडेल, ५ नं प्रदेशको बुटवलमा पार्टीका महासचिव जनकराज शर्मा, कर्णाली प्रदेशको सुर्खेतमा केन्द्रीय सदस्य मनोज भट्ट र सुदूरपश्चिमको धनगढीमा राजमो पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले सम्बोधन गर्नेछन्।

यस्तै, राजमोले आगामी चैत महिनासम्मका लागि संघर्षसँगै आन्तरिक संगठन सुदृढिकरण गर्ने योजना पनि सार्वजनिक गरेको छ।

राजमोले नेपालको सार्वभौमिकतामाथि भारतबाट खतरा अझ बढेर गएको औँल्याएको छ।

‘भारतीय साम्राज्यवादले कस्मिरमा गरेको जवरजस्ती अतिक्रमणका घटनाले भारतीय साम्राज्यवादबाट नेपालका लागि कति खतरा छ, स्वतः स्पष्ट हुन्छ। कस्मिरको विषयमा भारत, पाकिस्तान र संयुक्त राष्ट्रसंघको बीचमा भएको त्रिपक्षीय सम्झौता अनुसार जम्मु–कस्मिरका जनतालाई जनमत संग्रहद्वारा भारत वा पाकिस्तानमा मिल्ने वा स्वतन्त्र हुने आत्मनिर्णयको अधिकार हुनु पर्दथ्यो। कस्मिरका जनताको त्यो अधिकार खोसिएको छ’ अध्यक्ष केसीद्वारा प्रेसित वक्तव्यमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .