ad ad

समाज


संखुवासभाको उच्च हिमाली क्षेत्रमा भारी हिमपात

संखुवासभाको उच्च हिमाली क्षेत्रमा भारी हिमपात

नेपालखबर
माघ २८, २०७७ बुधबार ५:४०,

जिल्लाको भोटखोला गाउँपालिका–१ को किमाथांकामा चिसो बढेसँगै भारी हिमपातका कारण जनजीवन प्रभावित बनेको छ।

भोटखोलाको सो क्षेत्रमा शनिबारदेखि आजसम्म हिमपात भइरहेको कारण किमाथांका र उत्तरी क्षेत्र चीनको देनडाङ क्षेत्रमा भएको बाक्लो हिमपातले त्यहाँको जनजीवन प्रभावित भएको किमाथांकास्थित सीमा प्रहरी चौकीले जानकारी दिएको छ।

शनिबार रातिदेखि शुरु भएको हिमपातले दुई फिट माथिसम्म थुप्रिएपछि स्थानीयवासीको जनजीवन कष्टकर बनेको र पशु चौपायालाई समेत सास्ती भएको भोटखोला गाउँपालिका–१ का वडाध्यक्ष तेनछेवी भोटेले जानकारी दिए। उनका अनुसार चार दिनदेखि पशु चौपायालाई चराउन र अन्य घर बाहिरको कामकाज गर्नसमेत कठिनाइ भएको छ।

पाँच महिना अघिबाट यस क्षेत्रमा हिमपात नभइरहेको बेला यस वर्षको पहिलो पटक चार दिन अघिबाट हिमपात शुरु भएपछि सो क्षेत्रको छेसुम्बा, गुम्बालगायतका डाँडामा सेताम्य हिउँ परेको देखिन्छ। यसरी नै संखुवासभाकै मकालु हिमालको आसपास क्षेत्र मांसिमा, सेदुवा, हटिया, चेपुवालगायतका क्षेत्रमा चिसो बढेसँगै आकस्मिक हिमपात भएको मकालु गाउँपालिकाका विमन पराजुलीले जानकारी दिए।

यता जिल्लाको दक्षिणी क्षेत्रको धर्मदेवीको टुटे देउराली, तीनजुरे, चैनपुर नूनढाकीको गुफापोखरी र मिल्के जलजले क्षेत्रमा समेत हिमपात भएको चैनपुर–१ गुफापोखरीका स्थानीयवासी हिमा खनालले जानकारी दिए।

पर्यटकीय गन्तव्य बन्दै आएको चैनपुरको गुफापोखरी क्षेत्रमा चिसोको प्रवाह नगरी हिमपात क्षेत्रमा हिउँ खेल्नका लागि आसपास क्षेत्रबाट आन्तरिक पर्यटकको चहलपहल शुरु भएको खनालले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .